चिनियाँ जहाजको मासिक भाडादर टुंगिएन, मर्मतमै चीनबाट आउने मूल्यांकन पर्खदै निगम

Advertisement

काठमााडौं । नेपाल वायुसेवा निगमलाई चिनियाँ जहाज भाडामा लगाउन र भाडामा नगए बिक्री गर्न स्वीकृति दिएको भएपनि वायुसेवा निगमले भने हालसम्म जहाज भाडामा लगाउने टुंगो लगाउन सकेको छैन् । वायुसेवा निगमका अनुसार जहाज भाडामा लगाउने काम अगाडि बढिरहेको छ तर आवश्यक प्रक्रिया पूरा नभएको हुँदा ढिलो भने भएको छ ।

वायुसेवा निगमका महाप्रवन्धक डिमप्रसाद पौडेलका अनुसार जहाज भाडा दिन पहिले बिग्रिएको जहाज मर्मत गर्नुपर्ने भयो । पौडेले भने ‘एउटा एमए ६० को मुख्य पाटपूर्जा मध्येको एउटा विंङ्स बिग्रिएको छ । यसलाई नबनाइकन भाडामा लगाउन नमिल्ने भएकोले पहिले यो बिग्रिएको पार्ट मर्मत गर्ने र त्यसपछि मात्रै भाडामा दिने प्रस्ताव सार्वजनिक हुन्छ।’

Advertisement

निगमका अनुसार जहाज बिग्रिएको अवस्थामा भाडामा दिन नमिल्ने र उड्ने बनाएर दिनुपर्ने हुन्छ । भाडामा लिने कम्पनीले पनि जहाज फिर्ता गर्दा जहाज उड्ने अवस्थामा नै फिर्ता दिनुपर्ने भएकाले अहिले दिँदा पनि कम्तिमा जहाज उड्ने बनाउनु पर्ने जानकारी निगमले दिएको छ ।

निगमले ६ वर्षमा चिनियाँ जहाज उडाएर मात्रै करिब साढे दुई अर्ब घाटा पुर्याएको र जहाज उडाएर लाभ लिन नसक्ने निष्कर्ष निकाल्दै जहाज नउडाउने निर्णय १५ साउनदेखि नै गरेको थियो । चिनियाँ जहाज एमए ६० र वाई १२ नामका पाँच जहाज एक साताभित्रै भाडामा लगाउने प्रस्ताव आव्हान गर्न तयार भएपनि जहाज मर्मत गर्न लाग्ने शुल्क नै निर्धारण भएको छैन् । कम्तिमा यो मर्मत शुल्क घटाएर भएपनि भाडामा लगाउने शुल्क तय गर्नुपर्ने निगमको भनाइ छ ।

एउटा जहाज भने गत वर्ष दुर्घटनामा परेर पूर्ण क्षति भएर थन्किएको छ । बाँकी पाँच जहाज भने भाडामा लगाउन निगमले उपयुक्त कम्पनी खोज्न र उचित मूल्यमा भाडामा लगाउने तयारी गरिरहेको पनि निगमका महाप्रवन्धक पौडेलले बताए ।

जहाज भाडामा लगाउन गत चैत १७ गते मंगलबार निगमका उप प्रवन्ध निर्देशक केबी थापाको अध्यक्षतमा एक समिति बनाएको थियो । समितिले एक साताभित्र जहाज भाडामा लगाउने प्रस्ताव आव्हान गर्नुपर्ने भएपनि भाडामा लगाउने शुल्क तय नै नभएकोले प्रस्ताव आव्हान गर्न ढिलो भएको पनि निगमका महाप्रवन्धक पौडेल बताउँछन् । चैत तेस्रो साताभित्रै मासिक कति शुल्क लिएर भाडामा दिने भन्ने विषय तय यही समितिबाट हुन्छ भन्ने थियो । सो समितिले आवश्यक प्रक्रिया पुर्याएर निर्णय गर्न नसकेले पनि भाडामा दिने विषयको टुंगो लाग्न ढिलो भएको पनि निगमका महाप्रवन्धक पौडेल बताउँछन् । 

उनका अनुसार सरकारकै निर्देशन अनुसार जहाज भाडामा दिन न्युनतम शुल्क तय हुने र एक साताभित्रै भाडामा दिन प्रस्ताव भन्ने भएपनि आवश्यक प्रक्रिया नै नपुर्याई भाडा दिने प्रस्ताव माग्न नमिलेको हो । निगमले सबैभन्दा पहिलो प्रयास भाडामा नै दिने प्रयास गर्ने छ । कुनै कारणबस भाडा गएन भने मात्रै सरकारले दिए अनुसारको दोस्रो विकल्पको रूपमा मात्रै जहाज बिक्रीको लागि प्रक्रिया अपनाउने जानकारी पनि दिएका छन् ।

निगमले सात वर्ष अगाडि भित्र्याएको चिनियाँ जहाज अन्ततः ऋण चुक्ता नगर्दै विस्थापित गर्न लागेको हो । तीन अर्ब ऋण रहेको यो जहाजले किस्ता तिर्न सुरु नगर्दै जहाज विस्थापन गर्ने निर्णयमा पुगेको हो । निगमले ५६ सिट क्षमताको दुईवटा एमए ६० र १७ सिट क्षमताको चारवटा वाई १२ जहाज भित्र्याउँदा तीन अर्ब १४ करोड ऋण तिर्ने बाँकी छ । यो ऋणको पहिलो किस्ता पनि नतिरी जहाज ग्राउन्डेड गरिएको थियो ।

निगमले सरकारमार्फत चीनको एक्जिम बैंकलाई दुईवटा एमए–६० को एक अर्ब ६५ करोड आठ लाख ८३ हजार र चार वटा वाई–१२ को एक अर्ब ३६ करोड ९६ लाख ६ हजार ७८२ ऋण तिर्नुपर्ने छ। गत साता मात्रै अर्थ मन्त्रालयले निगमसँग भएको एमए ६० र वाई १२ ई नामकका जहाजलाई भाडामा लगाउन र भाडामा नलागेको अवस्थामा बिक्री गर्ने राय दिएको थियो ।

यो पनि पढ्नुस्,  

चिनियाँ जहाज भाडामा लगाउन मासिक शुल्क तय गर्दै निगम, एक साताभित्र प्रस्ताव मागिने

तीन अर्ब ऋणमा डुबेको जहाज कसरी हुँदैछ विस्थापित ? केमा कति गुमायो चिनियाँ जहाजले ?

Advertisement

Advertisement