अग्रिम बोनस ग्यारेन्टीको प्रोडक्ट ल्याउने प्रयासमा प्राइम लाइफ, बीमा समितिले स्वीकृती देला त ?

Advertisement

काठमाडौं । प्राईम लाइफ इन्स्योरेन्स कम्पनीले बीमितले पाउने बोनसको अग्रिम ग्यारेन्टी गर्ने प्रोडक्ट बीमा समितिमा पठाएको छ । हालसम्म बीमा कम्पनीले प्रदान गर्ने बोनस यति नै हुन्छ भनेर तोकिएको छैन् । तर प्राईम लाइफले बीमितलाई केही नयाँ स्वाद दिन बोनसको ग्यारेन्टी गरेको बताएको छ । बीमा समितिले उक्त प्रोडक्टलाई स्वीकृत गर्ने कि नगर्ने ? भन्ने निर्णय गरिसकेको छैन ।

एकातिर बीमा समिति आफैले बोनसलाई आधार बनाएर बीमा गराउनु हुन्न भन्दै आएको छ भने अर्कोतिर बीमा बजारले केही नौलो प्रोडक्टको अपेक्षा गरिरहेको अवस्था छ । हालसम्म जीवन बीमा कम्पनीहरूले दिने बोनसको ग्यारेन्टी हुँदैन । बीमा कम्पनीहरूले प्रत्येक आर्थिक वर्षमा आफ्नो एक्चुरी भ्यालुयसन गराउँछन् । कम्पनीहरूले एक्चुरी भ्यालुयसन गराउँदा उनीहरूको बोनस दर समेत परिवर्तन हुनेगर्छ ।

Advertisement

तर एक्चुरी भ्यालुयसन नगराएका बीमा कम्पनीहरूको भने विगतमा कायम रहिआएको बोनस दर नै बीमितले पाउने बीमा समितिले जानकारी दिएको छ । कम्पनीले बीमितलाई दिने बिगतको बोनस दरलाई अन्तरिम बोनस दर भनिन्छ ।

समितिले बीमा कम्पीनहरूले बोनस दरलाई नै आधार बनाएर बीमा बजारीकरण गर्न नहुने बताउँदै आएको छ । बीमाको बोनस दरलाई आधार बनाउँदा कम्पनीहरूको ध्यान बीमाको गुणस्तरमा भन्दा पनि बजारीकरणमा मात्र जाने बीमा समितिको भनाई छ ।

यता बीमा कम्पनीहरूले आफूले कायम गर्दै आएको बोनस दर देखाउँदा खासै फरक नपर्ने बताउँछन् । कम्पनीहरूले झुटो बोनस दर देखाउन नहुने तर आफ्नो वास्तविक बोनस दर सार्वजनिक गर्दा बीमितलाई जानकारी हुने बताएका छन् ।

बीमा समितिका कार्यकारी निर्देशक एवं प्रवक्ता राजुरमण पौडेलका अनुसार पछिल्लो प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले केही नौलो किसिमको प्रोडक्ट बीमा समितिमा पेश गरेको छ । ‘अहिले हामी कहाँ प्राईम लाइफको प्रोडक्ट स्वीकृतीकालागि आई पुगेको छ । त्यो प्रोडक्ट केही नयाँ खालकै छ’, पौडेलले कर्पोरेट नेपालसँग भने ।

प्राइम लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार भट्टराईका अनुसार अहिलेसम्म बीमा कम्पनीहरूले बीमा क्षेत्रले नयाँ आभाष गर्ने किसिमका प्रोडक्ट ल्याउन प्रयासरत रहेको बताएका छन् । ‘मैले अहिले मात्रै होइन पहिलेदेखि नै बीमा क्षेत्रले प्रोडक्टमा नयाँ स्वाद पाउँनु पर्छ भन्दै आएको छु । मैले सोही अनुसारको प्रोडक्ट बजारलाई दिने प्रयास पनि गरेको छु । अहिले पनि बोनस नै पहिले ग्यारेन्टी गरेका प्रोडक्ट हामीले ल्याउन प्रयास गरेका छौं’, सीईओ भट्टराईले भने ।

उनले बजारको आवश्यकता अनुसारका प्रोडक्ट ल्याउन धेरै मेहनत गर्नुपर्ने भए पनि आफूहरूले प्रयास जारी राखेको दाबी गरेका छन् । बीमा समितिले दिएको जानकारीअनुसार बीमा कम्पनीहरूले बोनस दर सार्वजनिक गर्दा वित्तीय अवस्थाको समेत बीमितलाई जानकारी गराउनुपर्छ । यसको मतलब बीमा कम्पनीहरूको ध्यान बोनस दरमा मात्र केन्द्रित हुनुहुँदैन भन्ने पक्षमा बीमा समिति रहेको छ । समितिले बीमाको आफ्नै महत्व रहेकाले बीमितले नाफा र बोनसको लागि मात्रै नभई जोखिम बहनका लागि बीमा गर्नुपर्ने जनाएको छ । 

अभिकर्ताहरू भने बोनस दर राम्रो भएको अवस्थामा मात्रै बीमित पनि बढ्ने अनुभव सुनाउँछन् । बीमा समिति भने बोनसको आधारमा गरिने बीमा बजारीकरणको पक्षमा छैन् । 

Advertisement

Advertisement