सर्वोत्तम सिमेन्टको आईपीओ निष्काशन प्रक्रिया रोकियो, कारण यस्तो छ

Advertisement

काठमाडौं । सर्वोतम सिमेन्टको बुक बिल्डिङमार्फत आईपीओ निष्काशन प्रक्रिया रोकिएको छ । यसै आर्थिक वर्षभित्रमा जारी हुने भनिएको उक्त कम्पनीको आईपीओ यो आर्थिक बर्षका लागि टरेको हो । सर्वोत्तम सिमेन्टले बुक बिल्डिङमार्फत आईपीओ निष्कासन गर्न पुर्याउनुपर्ने प्रक्रियाहरूमध्ये एउटा प्रक्रिया पूरा गर्न नसक्दा प्रक्रिया पछि धकेलिएको छ । 

नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले सर्वोत्तमको आईपीओ निष्कासन प्रक्रिया रोकिएको स्वीकार गरे । बुक बिल्डिङमार्फत आईपीओ निष्कासनको लागि बोर्डले तोकेको सबै मापदण्ड पूरा गरिसकको यस कम्पनीले एक वर्षको वित्तीय प्रतिवेदन सार्वजनिक गर्न बाँकी रहेको कारण प्रक्रियामा ढिलाई भएको हो । 

Advertisement

आर्थिक वर्ष २०७७–७८ भित्र कम्पनीको प्रतिवेदन सार्वजनिक भएको एक वर्ष पूरा हुन १८ दिनले नपुग्ने ढुंगानाले बताए । उनी भन्छन्, ‘बोर्डले निर्धारण गरेको सबै प्रक्रिया कम्पनीले पुरा गरिसकेको छ । बार्षिक प्रतिवेदन सार्वजनिक गर्ने बित्तिकै कम्पनीको आईपीओ निष्काशनको काम अघि बढिहाल्छ । बुक बिल्डिङमार्फत आईपीओ निष्काशन गर्न लागेको सर्वोत्तम पहिलो कम्पनी हो । 

बुक बिल्डिङमार्फत आईपीओ निष्काशन गर्न के–के प्रक्रिया पूरा गर्नुपर्छ ?   
कुनै पनि कम्पनीले बुक बिल्डिङमार्फत संस्थागत लगानीकर्तालाई सेयर बिक्री गरिसकेपछि मात्र सर्वसाधारणलाई आईपीओ जारी गर्नुपर्छ । यस प्रक्रियामा योग्य संस्थागत लगानीकर्ताबाट प्राप्त आशय मूल्यको अध्ययन गरी धितोपत्रको आधार मूल्य तय गर्नुपर्ने व्यवस्था बोर्डको बुक बिल्डिङसम्बन्धी निर्देशिकामा उल्लेख छ ।

संस्थागत लगानीकर्ताले आधार मूल्य तय गरेपछि धितोपत्रको बिक्री मूल्य सीमा निर्धारण गर्नुपर्ने हुन्छ । कुनै एउटा कम्पनीले बुक विल्डिङमार्फत आईपीओ जारी गर्नुपर्ने भएमा सबैभन्दा पहिले कम्पनीले आफ्नो वित्तीय अवस्थालगायतको सूचकहरुको मूल्यांकनका आधारमा एउटा मूल्य निर्धारण गर्नुपर्ने हुन्छ । निर्धारण भएको मूल्यमाथि धितोपत्र बोर्डबाट योग्य ठहरिएका संस्थागत लगानीकर्ता समावेश गरी आधारसहित उक्त भाउमाथि छलफल गर्नुपर्ने हुन्छ ।

संस्थागत लगानीकर्ताले त्यस भाउमा सहमति जनाउन र असहमति राख्न पनि सक्नेछन् । असहमत भएमा संस्थागत लगानीकर्ताले आशय मूल्य पेश गर्न पाउने व्यवस्था छ । उक्त मूल्यको अध्ययन गरेर कम्पनीले फेरि आधार मूल्य निर्धारण गर्नेछ । यो सबै प्रक्रिया पूरा भएपछि एउटा आधार मूल्य निर्धारण हुन्छ ।

उक्त आधार मूल्यमा २० प्रतिशत थप गर्दा कायम हुने मूल्य माथिल्लो सीमा र तल्लो सीमा आधार मूल्यमा २० प्रतिशत घटाउँदा हुने गरी कायम गर्नुपर्नेछ । यदी कुनै पनि कम्पनीको आधार मूल्य चार सय रुपियाँ निर्धारण भएको छ भने त्यस आधार मूल्यको माथिल्लो सीमा पाँच सय र तल्लो सीमा तीन सय रुपियाँ हुन्छ । त्यस मूल्यमा विडिङ गर्नका लागि धितोपत्र बोर्डमा आवेदन दिनुपर्ने व्यवस्था निर्देशिकामा रहेको छ ।

बोर्डबाट स्वीकृति पाएपछि उक्त सीमामा रहेर योग्य संस्थागत लगानीकर्ता बोलकबोलमा सहभागी हुन्छन् । बोलकबोलका आधारमा कट अफ मूल्य निर्धारण हुन्छ । अन्त्यमा, उक्त कट अफ मूल्यमा १० प्रतिशत छुट दिई सर्वसाधारणका लागि आईपीओ जारी गर्ने व्यवस्था रहेको छ ।

सर्वोतमले कसरी गर्यो मूल्य निर्धारण ?
सर्वोत्तम सिमेन्ट कम्पनी लिमिटेडले आईपीओको मूल्य प्रतिकित्ता ७५० रुपियाँ निर्धारण गरेको छ । कम्पनीले बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन गर्ने क्रममा आधार मूल्य तय गर्न योग्य संस्थागत लगानीकर्तासँगको छलफलमा आशय मूल्य माग गर्नुपूर्व आफ्नो मूल्य सार्वजनिक गरेको हो । 

कम्पनीले मूल्यांकन गराएर ७५० रुपियाँको मूल्य प्रस्तावसहित योग्य संस्थागत लगानीकर्तासँग छलफलमा जाने तयारी गरेको छ । कम्पनीले योग्य संस्थागत लगानीकर्तासँग छलफल, आधार मूल्य तय, बिक्री सीमा निर्धारण र बोलकबोलमार्फत कट अफ मूल्य निर्धारण लगायतका प्रक्रिया पार गर्नै बाँकी छ ।

सर्वोत्तम सिमेन्टले हाल निर्धारण गरेको प्रतिकित्ता ७५० रुपियाँ मूल्य सबै प्रक्रिया पार गरेपछि मात्र स्वीकृत हुनेछ । कम्पनीले आफ्नो व्यावसायिक उत्पादन सुरु गरेपछि नै नाफा कमाउँदै आएको बताएको छ । विगत तीन वर्षको औसत मुनाफा वार्षिक एक अर्ब चार करोड रुपियाँभन्दा बढी भएको कम्पनीले जानकारी दिएको छ । तीन वर्षको औसत प्रतिसेयर आम्दानी ५२ रुपियाँ रहेको र आगामी तीन वर्षको औसत प्रतिसेयर आम्दानी ४५ रुपैयाँभन्दा बढी हुने अनुमान गरिएको छ ।

कम्पनीले आईपीओ निष्कासनबाट प्राप्त रकममध्ये ४० प्रतिशत ऋण भुक्तानी गर्न प्रयोग गर्नेछ । उक्त ऋण तिरेपछि कम्पनी ऋणमुक्त हुनेछ । बाँकी रकम उत्पादन क्षमता दोब्बर गर्ने योजना बनाईरहेको कम्पनीले जानकारी दिएको छ । यसबाट चार वर्षपछि वार्षिक प्रतिफल ७५ प्रतिशतभन्दा बढी हुन जाने सर्वोत्तमको अनुमान छ । 

बुक बिल्डिङमार्फत आईपीओ निष्काशन गर्न अरु को को छन् इच्छुक ? 
नेपाल धितोपत्र बोर्डले रियल सेक्टरका कम्पनीलाई पुँजी बजारमा भित्र्याउने उद्देश्यले बुक बिल्डिङमार्फत आईपीओ निष्काशन गर्न सकिने पद्दती ल्याएको हो । यस प्रक्रियामार्फत सर्वसाधारणलाई सेयर दिन लागि सर्वोत्तम सिमेन्टबाहेक अन्य कुनै पनि कम्पनीले सार्वजनिक रुपमा घोषणा गरेका छैनन् । सर्वोतम सिमेन्टले सुरु गरेको प्रक्रिया सफल भएमा रियर सेक्टरका धेरै कम्पनीले आफ्नो इच्छा सार्वजनिक गर्ने अनुमान अध्यक्ष ढंगानाको छ । 

यस बिधिबाट आईपीओ निष्काशन गर्नको लागि रिलायन्स स्पिनिङ मिल्स लिमिटेड, जगदम्बा स्टिल्स प्राईभेट लिमिटेड, नर्भिक अस्पताल, ग्राण्डी अस्पताल लगायतका कम्पनी इच्छुक रहेको सेयर बजारमा चर्चा छ । 

Advertisement

Advertisement