काठमाडौं । नेपाल बंगलादेश (एनबी)बैंकसमेतको सहयोगमा ३२ हजार भायल रेम्डेसिभिर इन्जेक्सन बिहीबार नेपाल आउने भएको छ । नेपालमा बढ्दो कोविड १९ संक्रमण र मृत्युबाट जोगाउने प्रयासमा नेपाली राजदूतावास ढाकाको पहलमा यी इन्जेक्सन नेपाल ल्याउन लागिएको एनबीले जनाएको छ ।
बंगलादेशको आईएफआईसी बैंक र एनबी बैंकको तर्फबाट बेक्सिम्को फर्मास्युटिकल्सद्वारा निशुल्क सहयोग स्वरुप प्राप्त पाँच हजार भायल र बंगलादेश सरकारद्वारा सहयोग स्वरुप प्राप्त पाँच हजार भायल गरी १० हजार तथा तथा एक जना नेपाली व्यवसायीले खरीद गरेको २२ हजार भायलसमेत गरी ३२ हजार रेम्डेसिभिर इन्जेक्सन आज बेलुकी हिमालय एयरलाइन्सबाट नेपाल आइपुग्ने जनाइएको छ ।
गत बर्ष पनि एनबी बैंक र आईएफआईसी बैंक मिलेर बेक्सिमको फर्मास्युटिकलबाट उत्पादित दुई करोड २५ लाख रुपियाँ बराबरको जीवनरक्षक औषधि सहयोगस्वरुप नेपाललाई प्राप्त भएको थियो ।