घुम्तीबीमा कार्यक्रमलाई निरन्तरता दिन्छौं: समिति, कार्यक्रम राम्रै छ तर परिमार्जन हुनुपर्छः पाण्डे

Advertisement

काठमाडौं । बीमा समितिले अबको वार्षिक कार्यक्रममा घुम्ती बीमा कार्यक्रम समेटने जानकारी दिएको छ । तर निर्जीवन बीमा कम्पनीहरूले भने घुम्ती बीमामा अवसर भए पनि कार्यान्वयन सहज नभएको बताएका छन् ।

सुरुवाती चरणमा घुम्ती बीमा निकै खर्चिलो हुने कम्पनीहरूको भनाई छ । यता समितिले भने यो कार्यक्रम सुरुमा खर्चिलो लागे पनि दीर्घकालका लागि निकै लाभदायी हुने भन्दै कम्पनीहरूले कार्यक्रममा सहभागी हुने विश्वास लिएको छ । 

Advertisement

समितिका कार्यकारी निर्देशक एवं प्रवक्ता राजुरमण पौडेलले घुम्ती बीमा कार्यक्रम समितिको चालु आर्थिक वर्षको वार्षिक कार्यक्रममा समेटिएको बताए । त्यसका लागि कम्पनीहरूलाई जिल्ला तोकिएको छ । तोकिएअनुसार कम्पनीहरूले घुम्ती बीमा कार्यक्रम सञ्चालन गर्नसक्ने पौडेलले बताए । 

उनले कर्पोरेट नेपाललाई भने, ‘घुम्ती बीमा कार्यक्रम राम्रो छ । अहिले यो प्रभावकारीरुपमा नै अघि बढेको छ । सोही कारण हामी हाम्रो आगामी वार्षिक कार्यक्रममा समेत घुम्ती बीमालाई निरन्तरता दिनेछौं ।’ केही समयअघि शिखर इन्स्योरेन्स कम्पनीले चितवनमा घुम्ती बीमा कार्यक्रम निकै राम्रोसँग अघि बढाएको उदाहरण दिँदै पौडेलले अन्य कम्पनीको सहभागिता पनि बढ्ने क्रम जारी रहेको बताए । 

आईएमई जनरल इन्स्योरेन्सले सोलुखुम्बु, ओखलढुंगामा यो कार्यक्रम सञ्चालन गरिरहेको छ भने अजोड इन्स्योरेन्सले पश्चिम रुकुममा । तत्कालका लागि कोरोना महामारीका कारण घुम्ती बीमा कार्यक्रम प्रभावकारी हुननसके पनि निषेधाज्ञा जारी हुनुअघि राम्रैसँग यो कार्यक्रम अघि बढेको थियो भन्दै प्रवक्ता पौडेलले निर्जीवन बीमा कम्पनीहरूकै व्यवसाय विस्तारका लागि यो कार्यक्रम ल्याइएको बताए ।

नेपाल बीमक संघका अध्यक्ष तथा शिखर इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपप्रकाश पाण्डेले घुम्ती बीमा कार्यक्रमबाट भएको बीमाको अवस्था राम्रो रहेको बताए । घुम्ती बीमा गर्न सजिलो छैन तर यसमा अवसर छ भन्दै उनले बजारमा प्रत्यक्ष गएर बीमितलाई भेटन् पाउँदा कम्पनीलाई जानकारी दिन पनि सहज हुने बताए । यसले बीमितलाई पनि बीमा चेतना बढाउन सहयोग गरेको पाण्डेले बताए ।

घुम्ती बीमाकै कारण कम्पनीहरूलाई अन्य सेवासँग  बीमितलाई जोड्न पनि सहज भएको भन्दै उनले अहिलेको सन्दर्भमा घुम्ती बीमाको भविष्य राम्रै रहेको बताए । पाण्डेले भने, ‘घुम्ती बीमामा आकर्षण राम्रै रहेको छ ।’

विशेषता
घुम्ती बीमा कार्यक्रमका लागि कम्पनीका सवारी साधनलाई समितिले स्वीकृति दिन्छ । सोहीअनुसार ल्यापटप बोकेर कम्पनीका प्रतिनिधिहरू बीमितको घरआँगनमा पुगेर लघुबीमालेख जारी गर्छन् । एउटा कम्पनीले दुईदेखि तीन जिल्लामा घुम्ती बीमा कार्यक्रम सञ्चालन गर्न पाउँछन् । कास्की, म्याग्दी, बर्दियालगायतका जिल्लामा बीमा समिति आफै उपस्थित भएर यससम्वन्धी जागरण फैलाउने काम पनि गरिएको छ । 

समितिले शाखारहित घुम्ती बीमा कार्यक्रम सञ्चालन गर्न २०७६ साल मंसिर २५ गते निर्देशिका जारी गरेको थियो । सोही निर्देशनका आधारमा बीमालेखहरू बिक्री गर्न मिल्ने सुविधा छ । घुम्ती बीमा सुरु भएपछि यसले बीमा बजारमा राम्रै चर्चा पनि कमाएको थियो । 

एकतर्फ बीमितले घरमै बीमा गर्न पाउने अर्कातर्फ बीमाको चेतनामा समेत वृद्धि हुने यस कार्यक्रमले बीमाको पहुँच बढाउन सहयोग पुग्ने समितिले बताउँदै आएको छ । तर सुरुको अपेक्षाअनुसार यसले पछिल्लो समयमा गति लिन सकेको छैन् । जबकी यस कार्यक्रमले बीमा क्षेत्रमा ठूलो जागरण ल्याउने अपेक्षा गरिएको थियो । 

उदयपूरको बेलका नगरपालिकाबाट घुम्त्ती बीमा कार्यक्रम सुरू गरिएको थियो । लघुबीमालाई प्राथमिकता दिर्नुेपर्ने निर्देशानुसार घुम्ती बीमा गर्दा छ किसिमका बीमालेखलाई प्राथमिकता दिनुपर्छ । घुम्ती बीमाअन्तर्गत बीमा कम्पनीहरूले सावधिक जीवन बीमा, म्यादी जीवन बीमा, कृषि बीमा, लघु बीमा, दुर्घटना बीमा गर्नसक्ने व्यवस्था छ । त्यस्तै, बीमा कम्पनीहरूले ५० लाख रुपियाँसम्मको घर बीमा गर्नसक्छन् । 

परिमार्जन आवश्यक
परीक्षणको रुपमा सञ्चालन भइरहेको घुम्ती बीमातर्फ बीमा कम्पनीहरू आकर्षित नै रहेको देखिन्छ । आगामी दिनमा यसलाई थप प्रभावकारी बनाउने हो भने परिमार्जन गर्नुपर्ने कम्पनीहरू बताउँछन् । 

सीईओ पाण्डेले यस कार्यक्रमलाई थप प्रभावकारी बनाउने हो भने समितिले यसमा केही कुराहरू परिमार्जन गर्नु जरुरी रहेको भन्दै सबै कम्पनीहरूलाई यस कार्यक्रममा जान अनिवार्य गर्दा राम्रो हुने बताए । सुरुवाती चरणमा घुम्ती बीमा केही खर्चिलो तर दीर्घकालका लागि राम्रै हुने उनले स्वीकार गरे । 

पाण्डेका अनुसार यसले बीमितहरूमा बीमाप्रति आत्मविश्वास बढाउन मद्दत गर्छ । तत्काललाई कोरोना महामारीले कार्यक्रम प्रभावकारी नभए पनि भविष्यका लागि आवश्यक छ । पाण्डेले आफूहरूले कृषि क्षेत्रलाई लक्षित गर्दै काम गर्दै आएकाले पनि चितवनमा सञ्चालित घुम्ती बीमा सफल भएको बताए । उनले चितवनको कार्यक्रम सफल रहेको बताए पनि तथ्यांक सार्वजनिक गर्न भने रुची देखाएनन् । 

Advertisement

Advertisement