विकास खर्च भर्खर सवा खर्ब, अबको दुई महिनामा सवा दुई खर्ब कसरी सक्ने ?

काठमाडौं । चालू आर्थिक वर्ष २०७७/७८ को दश महिना अर्थात वैशाख मसान्तसम्मको विकास खर्च भर्खर सवा एक खर्ब रुपियाँ पुगेको छ । यो खर्च विकास बजेटको जम्मा ३५.५ प्रतिशत मात्रै हो । महालेखा नियन्त्रक कार्यालयले जारी गरेको ३१ वैशाखसम्मको तथ्यांक अनुसार आर्थिक वर्ष सुरु भएको १० महिनासम्म जम्मा एक खर्ब २५ अर्ब २९ करोड ८१ लाख रुपियाँ मात्रै खर्च भएको छ । सरकाले विकास बजेटका लागि पुँजीगत खर्च शीर्षकमा तीन खर्ब ५२ अर्ब ९१ करोड ७५ लाख रुपियाँ विनियोजन गरेको भएपनि हालसम्म भएको खर्च एक खर्ब २५ अर्ब २९ करोड ८१ लाख रुपियाँ रहेको छ ।

कोरोना भाइरस संक्रमण (कोभिड–१९)का कारण १६ वैशाखदेखि उपत्यकामा निषेधाज्ञा जारी छ । यस्तो निषेधाज्ञा आंशिक तथा पूर्ण रूपमा गरी शुक्रबारसम्ममा ७३ जिल्ला पुगेको छ । यस्तो निषेधाज्ञा काभ्रे, ताप्लेजुङ, धनकुटा, सप्तरी र मुस्ताङका जिल्लामा मात्रै आंशिक क्षेत्रमा लागू गरिएको छ भने बाँकी ६८ जिल्लामा पूर्ण निषेधाज्ञा जारी भएको गृह मन्त्रालयको भनाइ छ ।

सरकारले बजेट खर्चने मुख्य सिजनमा कोभिड फैलिएको र निषेधाज्ञा जारी भएको कारण निर्माण सहितका काम ठप्प भएको छ । सरकारले ठूला र राष्ट्रिय गौरवका आयोजनाको निर्माण कार्य जारी रहेको भनेपनि निर्माण सामग्रीको असहज आपूर्तिदेखि कामदारसम्म अभावका कारण काम गर्न नपाएको निर्माण व्यवसायी बताउँछन् । अहिलेको आपूर्ति प्रणालीको चेन विग्रिएकोले निर्माणको काम करिब ठप्प नै भएको नेपाल निर्माण व्यवसायी संघका अध्यक्ष रवी सिंह बताउँछन् ।

मुख्य काम र खर्च हुने समयमा काम गर्न नपाएका कारण खर्च प्रणालीमा नै असर परेको देखिए पनि अझै दुई महिना यो वर्षको समय भएकोले अपेक्षा अनुसारको खर्च हुने दाबी अर्थ मन्त्रालय अन्तर्गतको महालेखा नियन्त्रक कार्यालयका प्रवक्ता ज्ञानेन्द्र पौडेल बताउँछन् । उनी भन्छन्, ‘महामारीको समय भएकोले र अनुकुल परिस्थित हुँदाको वेला जस्तो खर्च गत पाइएको भने छैन् । तर पनि गत वर्षको भन्दा सन्तोषजकन नै मान्नुपर्ने पौडेल बताउँछन् ।

पौडलेका अनुसार खर्च गर्ने र भुक्तानीको समय अझै दुई महिना बाँकी रहेकोले कामको गति बढाउँदै खर्च पनि बढ्न सक्छ । सकारको लक्ष्य शत् प्रतिशत नै हुने भएपनि अपेक्षा अनुसार हुन नसकेपनि सन्तोषजनक भने हुने बुझाइ पनि पौडेलको छ ।

पौडेलले भने खर्च प्रणालीमा अब धेरे घटबट हुँदैन् । आम्दानीमा भने आज शुक्रबारको साँझसम्म अद्यावधि हुने भएकोले एक देखि डेढ अर्बसम्म आम्दानी बढ्न सक्ने बुझाई उनको छ ।
सरकारले हालसम्म लक्ष्यको ७५.८ प्रतिशत आम्दानी गरेको छ । यस्तो आम्दानीमा राजश्वको लक्ष्य ७७.५७ प्रतिशत पूरा भएको छ भने गैरकर १६ प्रतिशत मात्रै पूरा भएको छ । खर्च भने चालू खर्च ६६.२८ प्रतिशत खर्च भएकोमा विकास खर्च भएको छ ।

खर्चको पाटो अद्यावधिक विवरणमा देखिएभन्दा अब थपघट हुँदैन तर आम्दानीमा भने आन्तरिक ऋणको हिसाव र वैदेशिक ऋण जोड्न बाँकी छ । आन्तरिक ऋण एक खर्ब १२ अर्ब र वैदेशिक ऋण ६२ अर्ब रुपियाँ जोडिने छ । समग्रमा आम्दानी अझै एक खर्ब ५० अर्ब थप हुने र उक्त तथ्यांक आइतबार मात्रै सार्वजनिक हुने पनि महालेखा नियन्त्रक कार्यालयका प्रवक्ता पौडेल बताउँछन् ।