अक्सिजन अभाव कम गर्न महावीर पुनको आविष्कार केन्द्र तीन वटा विकल्पमा काम गर्दै

Advertisement

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनले अहिलेको कोरोना महामारीको समयमा सबैभन्दा अत्यावश्यक अक्सिजन भएको भन्दै यसको व्यवस्थापन गर्न सरकार र अरु सम्वद्ध पक्ष लाग्नुपर्ने जरुरी रहेको बताएका छन् । 

कर्पोरेट नेपालद्धारा आविष्कार केन्द्रलाई गरिएको आर्थिह सहयोग ग्रहण गर्ने क्रममा शनिबार उनले अक्सिजनको अभावका कारण मानिसहरूको भकाभक मृत्यु भइरहेकोले यसको आपूर्ति गराउन आविष्कार केन्द्रले सक्दो प्रयास गरिरहेको बताए । 

Advertisement

कोरोना संक्रमित भई बिरामी भएकालाई एक–दुई घण्टा अक्सिजन दिन नसकेको अवस्थामा त्यस्ता बिरामीको मृत्यु हुने गरेको चिकित्सकहरूको भनाई सुनाउँदै पुनले कोरोनको सबैभन्दा ठूलो औषधि नै अक्सिजन नै भएको बताए । 

सामान्य अवस्थामा बजारमा जति अक्सिजन सिलिण्डर थिए, त्यसको अहिले दोब्बरभन्दा बढि माग भए पनि आपूर्ति हुन नसक्दा समस्या सिर्जना भएको हो भन्दै उनले भएका सिलिण्डर पनि रोटेशनमा आउन नसकेको बताए । पुनले भने, ‘भएका सिलिण्डर अक्सिजन भर्ने, प्रयोग गर्ने, खाली भएपछि फेरि ल्याएर रोटेशन गरेको भए खासै ठूलो समस्या हुन्थेन् । त्यो हुन सकिरहेको छैन् ।’

अक्सिजनको प्लान्ट राख्ने व्यवसायीले त्यस्तै १०–१५ हजार सिलिण्डर राखेको हुनसक्छ, ती सिलिण्डर रोटेशन हुन सकेन् र रोटेशन गर्न सहज परिस्थिति पनि भएन भन्दै उनले भारतमा पनि अक्सिजनको अभाव रहेको बेला त्यहाँबाट आउन सक्ने परिस्थिति नहँदा समस्या थपिएको बताए । 

वैज्ञानिक पुनले अर्कोतर्फ धेरै अक्सिजन उत्पादन गर्ने उद्योगहरू व्यापार नभएकाले रुग्ण अवस्थामा पुगेकाले पनि अभाव माग बढेको बेला आवश्यकताअनुसार उत्पादन गर्न नसकिएको भन्दै अहिले एक्कासी धेरै उत्पादन गर्नुपर्ने बेलामा त्यस्ता उद्योगको प्लान्टमा प्राविधिक समस्या, जनशक्तिको अभाव देखिएको बताए । 

उनले धेरै अक्सिजन प्लान्टहरू बिग्रिएर बसेको, मर्मत हुन नसकेको अवस्थामा रहेको भन्दै वीर, त्रिवि शिक्ष जस्ता अस्पतालमा रहेका अक्सिजन प्लान्ट पनि बिग्रिएको अवस्थामा रहेकोमा आविष्कार केन्द्रले सक्दो धेरै प्लान्टहरू मर्मतमा लागेको बताए । अचानक बनाउनुपर्दा प्लान्टमा चाहिने स्पियर पार्ट्स पाउन समस्या परेको पुनले बताए । 

यद्यपि धेरै ठाउँको प्लान्टहरू मर्मत गर्न आविष्कार केन्द्रको प्राविधिक टोली सफल भएको बताए । धेरै ठाउँबाट अझै पनि फोन आइरहेको उनले बताए । पुनले भने, ‘हामीले नयाँ प्लान्ट राख्नसक्ने अवस्थामा छैनौं अहिले नै । नयाँ प्लान्ट राख्न त कम्तिमा तीन–चार महिना लाग्छ । हामीले गरिरहेको भनेको भएकाहरूलाई नै मर्मत गरेर सञ्चारमा ल्याउने हो ।’

सिलिण्डरको अभाव भइरहेको अवस्थामा विकल्प के हुनसक्छ ? भन्ने सन्दर्भमा हिमाल चढ्न जानेहरूले प्रयोग गर्ने अक्सिजन सिलिण्डरलाई पनि संकलन गरेर प्रयोगमा ल्याउने र मिनि प्लान्ट निर्माणमा आफूहरू लागेको महावीर पुनले बताए । हिमाल चढ्नेहरूले प्रयोग गर्ने सिलिण्डर केही पाए पनि रेगुलेटर नपाउँदा समस्या भएको उनले बताए । यस्ता सिलिण्डर बढिमा एक हजारसम्म संकलन हुनसक्ने अनुमान छ । 

त्यस्तै, उद्योगहरूमा प्रयोग हुने नाइट्रोजन, आर्जन र हिलियम ग्यासको सिलिण्डर, जुन अक्सिजन सिलिण्डरसँग पनि मिल्दोजुल्दो हुन्छ, त्यस्ता सिलिण्डरहरू प्रयोगमा ल्याउन सकिन्छ कि भनेर आविष्कार केन्द्रले परीक्षण गरेको पुनले सुनाए । उनले मापदण्डअनुसार सरसफाई गरेर अक्सिजन भर्ने र परीक्षण गर्ने काम भइरहेको बताए । 

पुनले तेस्रो र राम्रो विकल्पमा मिनि अक्सिजन प्लान्टको अवधारणा सुनाए । अहिले कतिपय नगरपालिका र व्यक्तिहरूले तत्कालै अक्सिजन उत्पादन गर्ने नयाँ प्लान्ट राख्ने भने पनि तत्काल त्यो संभव नभएकाले छिटो हुने विकल्प खोज्नुपर्ने भन्दै उनले मिनि अक्सिजन प्लान्ट प्रविधि निर्माण गरि आफूहरूले परीक्षण गरिरहेको सुनाए । 

यस्तो मिनि प्लान्टमा १५–२० वटासम्म अक्सिजन कन्सन्ट्रेटर जडान गरी पाइपबाट बिरामीको बेड बेडमा पुर्याउने आफूहरूको योजना भएको पुनले बताए । यसको प्राटोटाइप सफल भइसकेको र अक्सिजन कन्सन्ट्रेटरहरू पर्खिरहेको उनले बताए । पुनले चनिबाट दाताहरूले कन्सन्ट्रेटर पठाउन प्रयास गरिरहेको बताए । त्यो आइसकेपछि हरेक अस्पतालहरूमा मिनि अक्सिजन प्लान्टहरू राख्दै जाने उनले जानकारी दिए । 

कन्सन्ट्रेटर आयो भने हरेक अस्पतालमा एक दिनमा एउटा मिनि प्लान्ट बनाउन सकिने पुनले बताए । उनले गत बर्षबाट नै आफूहरूले दिनको सयदेखि तीन सयसम्म पीपीई उत्पादन गर्दै आएको बताए । आविष्कार केन्द्रले यसरी उत्पादन गर्ने वस्तुहरू निःशुल्क उपलब्ध गराउँदै आएको छ । पुनले भने, ‘हामी कहिले पनि कसैसँग पैसा माग्दैनौं । कसैले स्वइच्छाले दिए लिने हो । मागेर लिँदैनौं ।’

Advertisement

Advertisement