नेपाललाई एउटा पुनर्बीमा कम्पनी भए पुग्छ, थप्नु जरुरी छैन, सीईओ, नेपाल पुनर्बीमा कम्पनी

Advertisement

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) शंकर रायमाझीले नेपाललाई एउटा पुनर्बीमा कम्पनी भए पुग्ने भन्दै अर्को कम्पनी थप्नु जरुरी नरहेको बताएका छन् । कर्पोरेट नेपालसँगको कुराकानीमा उनले नेपाललाई नयाँ पुनर्बीमा ल्याउन आवश्यक नरहेको दाबी गरेका हुन् । 

बीमा समितिमा थप चार वटा पुनर्बीमा कम्पनीहरूले लाइसेन्स हात पार्न प्रयास गरिरहेको बेला नेपालको एक मात्रै पुनर्बीमा कम्पनीका सीईओको यस्तो भनाई आएको हो । उनले छिमेकी मुलुक भारतमा एउटा मात्रै पुनर्बीमा कम्पनीले बजार धानिरहेको उदाहरण दिँदै नेपालमा यस्ता कम्पनी थप्नु जरुरी नरहेको बताएका हुन् । 

Advertisement

रायमाझीका अनुसार पुनर्बीमा कम्पनीको संख्या थप्नु मात्रै बीमाको विकास होइन । उनले भने, ‘अहिले बजारमा पाँच– छ वटा नयाँ पुनर्बीमा कम्पनी लाइसेन्स पाएमा आउन तयारी अवस्थामा रहेको सुनिन्छ । तर हामीले छिमेकी भारतमा नै हेर्दा त्यहाँ एउटा मात्र पुनर्बीमा कम्पनी छ । हाम्रोभन्दा भारत ११ गुना ठूलो अर्थतन्त्र हो । भारतमा बीमा बजार राम्रोसँग चलिरहेको छ । यति कुराबाटै सबै बुझे भइहाल्छ नि ।’

रायमाझीले थपे, ‘भारत जस्तो ठूलो अर्थतन्त्रमा एउटा पुनर्बीमा कम्पनीलाई लाइसेन्स दिँदा चलिरहेको छ ।नेपालमा चाहीं छ–सात वटा किन दिन खोजिएको होला ? यसको उत्तर कस्ले दिन्छ ?’ अहिले नयाँ पुनर्बीमा कम्पनी स्थापना गर्नका लागि नै नेपाल पुनर्बीमा कम्पनीका कमजोरीमाथि प्रहार भएको उनको गुनासो थियो । 

पुनर्बीमा कम्पनीका जानकारहरूले नेपाल पुनर्बीमा कम्पनीमा प्राविधिकहरूको संख्या वृद्धि गर्नुपर्ने सुझाव दिएको बताउँदै रायमाझीले अहिले आफूहरूले भोगिरहेका समस्या भोलि नयाँ कम्पनीले समेत व्यहोर्नुपर्ने अवस्था आउने बताए । अहिले पुनर्बीमा कम्पनीलाई प्राविधिकको समस्या छ भने भोलि अरु कम्पनीले चाहीं के चन्द्रमाबाट मान्छे ल्याउँछन् त ? उनले प्रश्न गरे । 

कुनै निश्चित समूहले नयाँ पुनर्बीमा कम्पनी खोल्नकै लागि मात्रै नेपाल पुनर्बीमा कम्पनीलाई आरोप लगाउँछ भने त्यो गलत हुने रायमाझीले बताए । बीमा कम्पनी तथा बैंक वित्तीय संस्थाहरूले हालसम्म भारतीय मोडलअनुसार काम गर्दै आएको र पुनर्बीमा कम्पनीको सन्दर्भमा चाहीं यसलाई किन फरक व्यवहार गरेको हो ? भन्दै उनले प्रश्न पनि गरे ।

जसले नेपालमा नयाँ पुनर्बीमा कम्पनी खोल्ने भनेर लगानी गर्न कस्सिएका छन्, त्यो लगानी नेपाल पुनर्बीमा कम्पनीमा पूँजीको रुपमा हालेमा एकदमै राम्रो हुने सीईओ रायमाझीको तर्क छ ।

Advertisement

Advertisement