पाँच वर्षभित्रमा सिटिजन लाइफ ‘टप थ्री’मा आउँछः सीईओ पोषकराज पौडेल

Advertisement

बीमा क्षेत्रमा लामो समयदेखि आवद्ध रहँदै आएका सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् पोषकराज पौडेल । उनीसँग नेपाली तथा विदेशी लगानीको बीमा कम्पनीमा काम गरेको अनुभव छ । एलिकोमा उनले १५ वर्ष काम गरे । चार्टर्ड एकाउन्टेन्ट (सीए) फर्मदेखि बीमा क्षेत्रको सीईओको जिम्मेवारीसम्म पुगेका पौडेल कुनै पनि क्षेत्रमा नियामक बलियो हुँदा समस्या समाधान गर्न सहज हुने अनुभव सुनाउँछन् । आगामी पाँच वर्षभित्र सिटिजन लाइफलाई १९  जीवन बीमा कम्पनीमध्ये ‘टप थ्री’मा पुर्याउने उनको आत्मविश्वास छ । पौडेलले योजनाअनुसार नै कम्पनी अघि बढिरहेकोले पाँच वर्षमा  सिटिजन लाइफ सबै सूचकाङ्कमा अब्बल हुने बताउँछन् । अहिले सिटिजन लाइफ साधारण सेयर (आईपीओ) निष्काशनको अन्तिम तयारीमा छ । प्रस्तुत छ यिनै सन्दर्भमा सीईओ पौडेलसँग कर्पोरेट नेपालका नबिन पोखरेलले गरेको कुराकानीको सारः 

वर्तमान समयमा नेपाली बीमा बजारको बिस्तारलाई कसरी मूल्यांकन गर्नुहुन्छ ? जीवन बीमा व्यसाय कसरी अघि बढिरहेको छ ?
अहिले जीवन बीमाको बजार बिस्तार र महत्व राम्रैसँग बढिरहेको छ । जीवन बीमा गर्नुपर्छ भन्ने धेरैलाई लाग्न थालेको छ । बीमा गराउने बाताबरण एउटा कुरा होला तर बीमा गराउनुपर्ने रहेछ भन्ने भाव चाहीं निकै बढेको छ । जब आपतविपत पर्छ, त्यस्तो अवस्थामा जीवन बीमाको साथ चाहिन थालेको अवस्था छ । हामीलाई कुनै पनि बेलामा जोखिम पर्नसक्छ भन्ने भइसकेको छ । यस्ता खालको त्रास कोरोना महामारीले सिर्जना गरेको छ । कोरोना महामारी आउनु अगाडि यस्तो चिन्ता कम हुन्थ्यो । त्यतिबेला हामीलाई भोलि के हुन्छ ? भन्ने लाग्दैनथ्यो । तर अहिले हामीलाई भोलिको भर कम लाग्न थालेको छ । अहिले आफू नरहेको अवस्थामा पनि परिवारलाई आर्थिक जोखिम नहोस भन्ने चिन्ता बढ्न थालेको छ । यस्तो चिन्ताको एउटा मात्रै उपाय भनेको जीवन बीमा हो ।

Advertisement

तपाईंलाई चिन्ता हुँदा समाधान दिने भनेको बीमा मात्र हो । यहाँ दुई किसिमका क्षति हुने गर्छन् । एउटा भनेको मानवीय क्षति र अर्को भनेको आर्थिक क्षति हो । अब मानवीय क्षति हुँदा मान्छे नै फिर्ता ल्याउन सकिँदैन । तर पनि त्यस्तो आपतको अवस्थामा पनि आर्थिकरुपमा क्षतिपूर्ति दिने काम बीमाले गर्छ । सोहीकारण हालसम्म जीवन बीमाभन्दा नजिकको साथी कोही पनि छैन । नागरिकलाई अहिले बीमाको महत्व छ भन्दा सबैले सजिलै बुझ्ने अवस्था छ । सो अवस्था ल्याउन कोरोना महामारीले पनि महत्वपूर्ण भूमिका खेलेको छ । यस्तो अवस्थामा हामीले आ–आफ्नो समूहबाट थप मेहनत गरेमा बजार अझै बढ्ने देखिन्छ । अहिले हाम्रा अभिकर्ताहरू बजारमा निस्किने अवस्था छैन । ठप्पै छ भन्दा हुन्छ ।

चैत्र मसान्तसम्मको सिटिजन लाईफको वित्तीय सूचक कस्तो छ ? व्यवसाय वृद्धि तपाईंहरूको अपेक्षाअनुसार भएको छ छैन् ? 
चैत समान्तसम्मको सूचकलाई हेर्दा हामीले सन्तोषजनकरुपमा नै व्यवसाय गरेका छौं । किनभने त्यो बेलामा महामारीले त्यति धेरै प्रभाव पनि पारेको थिएन । सिटिजन लाइफ अहिले पनि आफ्नो उद्देश्यअनुसार नै अघि बडिरहेको छ ।

आगामी पाँच वर्षमा सिटिजन लाइफ कहाँ पुग्ने सम्भावना छ ?
हामी आगामी पाँच वर्षमा एउटा मात्रै नभई सबै सूचकाङ्कमा ‘टप थ्री’मा आउनेगरि काम गरिरहेका छौं । ‘टप थ्री’मा आउन सकिन्छ । हामी सोही योजनाअनुसार काम गरिरहेका छौं ।

नियामक बीमा समितिले पछिल्लो समय बीमा कम्पनीहरूलाई धमाधम कारबाही गर्न थालेको छ । यसले बीमा क्षेत्रमा के कस्तो परिवर्तन ल्याउला ?
समितिले कारबाही गरेको कुरा एकदमै राम्रो हो । किनभने जहाँ गलत क्रियाकलाप हुन्छ, त्यहाँ कारबाही गर्नुपर्छ । अन्य नियामकले पनि गलत काम गर्दा कम्पनीहरूलाई कारबाही गर्ने गर्छन् । गलत काम गर्नेलाई कारबाही गर्दा एक किसिमले चेतावनी पनि मिल्छ । बीमा समितिले आफ्नो अधिकारको प्रयोग गरेको हो । यसले बजारलाई सकारात्मक बाटोतर्फ लान्छ । सुध्रिने मौका मिल्छ । समितिले कम्पनीलाई मर्का पर्नेगरी कारबाही गरेको देखिँदैन । तर बीमा कम्पनी आफै सुध्रिनुपर्छ । त्यसरी सुध्रिएको अवस्थामा समितिले कारबाही गर्नुपर्ने अवस्था पनि आउँदैन ।

कोरोना महामारीले तपाईंहरूको व्यवसाय के कतिको प्रभावित हुन पुगेको छ ?
महामारीले सबैतिर प्रभाव पारिरहेको छ । यस्तो अवस्थामा हामीलाई पनि प्रभाव पारेकै छ । अहिले हामीले चाहेअनुसार जनशक्ति ठाउँमा पठाउनसक्ने अवस्था छैन् । त्यसले गर्दा ग्राहक सेवामा असर पारेको छ । तर हामीले यस्तो अवस्थामा पनि सेवा सकेसम्म प्रवाह गरिरहेका छौं । हामीले धेरै सेवा डिजिटल प्रविधिबाट दिइरहेका छौं । अन्य कम्पनीको तुलनामा हामीले दिने सेवा केही फरक किसिमको रहेको छ । हाम्रो कम्पनीमा डिजिटल सेवा अन्य कम्पनीभन्दा धेरै अगाडि छ । बीमितले बीमा पोलिसि अनलाईनबाटै किन्न मिल्ने व्यवस्था गरेका छौं । सिटिजन लाइफले अबको दिनमा डिजिटल मध्यमलाई नै प्राथमिकता दिनुपर्छ भन्ने कुरामा जोड दिएको छ ।  यो समय डिजिटल माध्यमको प्रयोग गर्ने अवसरको रुपमा लिएका छौं ।

अहिले विपत र विषम परिस्थति हो । हामीले आन्तरिक रुपमा कर्मचारी तथा शाखा प्रमुखहरूलाई सिकाउने र दक्षता वृद्धि गर्ने समय पनि पाएका छौं । कामको चाप कम भएको अवस्थामा तालिममा जोडदिनु आवश्यक छ । हामीले सेवा दिन आधार तयार गरिरहेका छौं । अहिले डिजिटल सेवा बढाउन सबैतिरबाट बाताबरण मिलेको अवस्था छ ।

बीमा समितिको कामकारवाहीलाई कसरी मूल्यांकन गर्नुभएको छ ? बीमा क्षेत्रको विकास र सहजीकरणमा समितिको भूमिकालाई कसरी हेर्नुहुन्छ ? 

अहिलेको संसार भनेको डिजिटल संसार हो । बीमा समितिले कोरोना महामारीमा मात्र नभई अन्य बेलामा पनि आधुनिक प्रविधिबाट काम गर्न प्राथमिकता दिनुपर्छ । त्यसका लागि आवश्यक नियम कानुन पनि परिमार्जन गर्दै जानुपर्छ । डिजिटल सेवामा जानका लागि बीमा समितिले आवश्यक सबै कुरामा सहजकर्ताको रुपमा काम गर्नुपर्छ । यसले बीमा क्षेत्रको विकास गर्न मद्दत पुर्याउछ ।

कोरोना महामारीका कारण जीवन बीमा गराउनेको संख्यामा कमी भएको छ कि छैन ?
ग्राहक आफै आउन नपाउँदा जीवन बीमा गराउने ग्राहकको संख्या घटेको छ । बीमा बिक्री गर्न नपाएको कारण बीमितको संख्या घटेको हो । यो व्यवसाय नागरिकले आफै किन्नेभन्दा पनि यसको महत्व बुझाएपछि किनिने व्यवसाय हो । तर यस्तो अवस्थामा डिजिटल सेवा दिन सकेको खण्डमा बीमा व्यवसाय धेरै बढ्ने बेला पनि हो । नेपालमा त्यस्तो बाताबरण कम छ । अहिले ग्राहकले किन्न खोजे पनि कम्पनीले लगेर बेच्न केही समस्या भएको छ ।

जीवन बीमक संघको उपाध्यक्षको हैसियतले जीवन बीमा कम्पनीमा कस्ता समस्या र चुनौती देख्नु भएको छ ?
हामीले अभिकर्ता साथीलाई व्यवसायीक बनाउन जरुरी छ । अभिकर्तालाई बीमा क्षेत्रमा टिकाई राख्ने बाताबरण निर्माण गर्नु जरुरी छ । अहिले केही महिनामा आउने र पलायन हुने क्रम चल्ने गरेको छ । बीमा क्षेत्रका अभिकर्तालाई यो पेशामा आम्दानी, सम्मान र दक्षता हुन्छ भन्ने हामीले सिकाउन जरुरी छ । अर्को भनेको हामीले बीमामा काम गर्ने कर्मचारीको दक्षता बढाउन आवश्यक छ । यस्तै, हालसम्म रहेको बीमा चेतनालाई बढाउनुपर्ने देखिन्छ । 

अर्को कुरा बीमितले आफै बुझ्ने बाताबरण बनाउन आवश्यक छ । हालसम्म अभिकर्ताले तपाईं बीमा गर्न चाहानुहुन्छ ? भनेर बीमा गराउँदै आएका छन् । अब बिस्तारै नागरिक आफैले बीमाको महत्व बुझाउन आवश्यक छ ।

एउटा बीमितले जीवन बीमा गर्न सिटिजन लाइफ नै किन छान्ने ?
हामीले बीमितको आवश्यकताअनुसार काम गछौं । हाम्रोमा जीवन सारथी जस्ता बीमा योजना छ । सो बीमा योजनाले बीमितको बाचुन्जेलको लागि जोखिम बहन गर्छ । बीमितले सो बीमा योजना खरीद गरेपछि अन्य बीमा योजना खरीद गर्नुपर्दैन । हामी कहाँ धेरै जसो तपाईं नरहँदा मृत्युपश्चात पैसा पाइन्छ भन्ने गरेको सुनिन्छ । तर तपाईं हामी बाँचुन्जेको साथी एउटै बीमा काफी भन्ने किसिमले काम गरिरहेका छौं । तपाईं आफैले पैसा पाउनुहुन्छ । जीवन बीमामा तपाईं बाचेको अवस्थामा नै बीमांक पाइने प्रोडक्ट छ भने त्यो सिटिजन लाइफमा नै छ । सोही कारण बीमितले अन्य बीमा कम्पनीहरूभन्दा सिटिजन लाइफमा नै छान्नु हुन्छ । 

अरु कम्पनीमा बीमांक लिएपछि फेरि बीमाले पैसा दिँदैन । तर हाम्रोमा बीमांक लिएपछि पनि पेन्सन पाउने व्यवस्था छ । यसले अरुको सहारामा बाच्नु पर्दैन । हामीसँग त्यस्ता नौला किसिमका प्रोडक्ट भएकाले पनि बीमितले सिटिजन लाइफलाई माया गर्दै आउनु भएको छ ।

सिटिजन लाइफको आईपीओ कहिले आउँछ ?
सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओ अहिले प्रकियामै रहेको छ । सकेसम्म चाँडै ल्याउँदैछौ । कोरोना महामारीको अवस्था सामान्य भएसँगै सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओ आउँछ । हामीले रेटिङ गराई सकेका छौं । अब धितोपत्र बोर्डबाट स्वीकृति पाउने लगायतका कुरामा केही महिना लाग्न सक्छ ।

महामारीले केही प्रतिकूल अवस्था सिर्जना गरेको छ । यस्तो अवस्थामा बीमितलाई कस्तो सन्देश छाड्न चाहानुहुन्छ ?
पहिलो आफ्नो जीवनको सुरक्षा गर्नुपर्छ । दोस्रो कुरा जीवन बीमासम्बन्धी केही सेवा लिनुपर्ने भएमा सिटिजन लाइफमा सम्पर्क गर्न सक्नुहुनेछ । हामीले कोरोना महामारीलाई नै लक्षित गरेर डिजिटल सेवा दिइरहेका छौं । सो सेवामा पनि हामी अन्य कम्पनीको तुलनामा एक पाईला अगाडि नै छौं । अहिले घरबाटै धेरै सुविधा लिन मिल्ने व्यवस्था छ । हाम्रो वेभसाइटमा रहेको फोन नम्बरमा सम्पर्क गरेर त्यसको लाभ लिन सक्नुहुनेछ । हामीले अहिले पनि दाबी भुक्तानी गरिरहेका छौं । हामी तपाईंहरूको सेवामा तत्पर रहेका छौं । 

Advertisement

Advertisement