रूखमा तार बाँध्दा इन्टरनेटको गुणस्तर खस्किन्छः प्राधिकरण, पोल हामीले गाड्ने होइनः सेवा प्रदायक

Advertisement

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले गत वर्ष कोरोना महामारीका कारण भएको निषेधाज्ञामा इन्टरनेट सेवा व्यवस्थापन फितलो भए पनि हाल भने सो समस्यामा सुधार आएको दाबी गरेको छ । विगतमा इन्टरनेटको माग एक्कासी बढेकाले व्यवस्थापन गर्न असहज भएको प्राधिकरणको तर्क छ ।

‘विगतमा हामीले सेवा प्रदायकबाट इन्टरनेमा समस्या भएको भन्ने सुनेका थियौं । तर यस पटक भने त्यस्ता किसिमका कुनै पनि गुनासो आएको छैन’,  प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले कर्पोरेट नेपालसँग भने ।

Advertisement

उनले अहिले इन्टरनेट व्याण्डविथमा समस्या नरहेको बताए । अहिले इन्टनरेटको खपत बढेको र खपत बढे पनि सोही अनुसार व्यवस्थापन पनि चुस्तदुरुस्त भइरहेको बताउँदै खनालले भने, ‘पहिले राम्रो व्यवस्थापन भएको थिएन् । सोही कारण सिस्टममा लोड पर्ने भएकाले प्राधिकरणले कुनै पनि बेला इन्टरनेट सेवा अवरूद्ध हुनसक्ने बताएको थियो अहिले त्यस्तो स्थिति छैन् ।’

तर अहिले कुनै पनि सेवा प्रदायकले इन्टरनेटमा समस्या आएको जानकारी नगराएकाले आफूहरू चुपलागेर बसेको उनी बताउँछन् । इन्टरनेटको पहुँच र गुणस्तर सुधारका लागि सँगै लानुपर्ने भएता पनि नेपालमा केही बाध्यता रहेको खनालको भनाई छ । इन्टरनेटको पुहँच र गुणस्तर बढाउनका लागि बाटो राम्रो नभएको ठाउँमा, जंगलको रूखमा इन्टरनेटको तार बाँधेर लानुपर्ने बाध्यताका कारण सुरक्षा र गुणस्तर सुधार गर्न जसहज भएको प्राधिकरणले जानकारी दिएको छ । बिजुलीको पोलबाट तार लान पाए केही सहज हुने प्राधिकरणका अधिकारीहरू बताउँछन् । 

बिजुली नपुगेको ठाउँमा इन्टरनेटको गुणस्तरीय सेवा प्रवाह नभएका उदाहरणहरू धेरै छन् । सेवा प्रदायकलाई अन्य पूर्वाधारले सहयोग गरेको अवस्थामा गुणस्तरमा कुनै सम्झौता गर्न नहुने भनाई अध्यक्ष खनालको छ । 
 
अहिले सेवा प्रदायकलाई जुन किसिमले इन्टरनेटको माग आएको छ, सोही ढंगले मागको व्यवस्थापन गर्न सेवा प्रदायकहरू सक्षम रहेको नेपाल टेलिकमको भनाई छ । टेलिकमका प्रवक्ता राजेश जोशीका अनुसार हालसम्म ग्राहकले माग गरेअनुसारको सेवा टेलिकमले उपलब्ध गराउँदै आएको छ ।

‘गत वर्षको लकडाउनमा पनि नेपाल टेलिकमको इन्टरनेट अवरूद्ध भएको थिएन भने यसपटक पनि टेलिकमसँग भएको व्याण्डविथ कै आधारमा सेवा प्रवाह भईरहेको छ । नेपाल टेलिकमको हकमा पनि ग्राहकलाई यस्तो चलाउनु–नचलाउनु भन्नुपर्ने स्थिती छैन’,प्रवक्ता जोशीले कर्पोरेट नेपालसँग भने ।

यस्तै, सुविसु केवल नेट प्रालिका प्रबन्ध निर्देशक तथा आईस्पान (इन्टरनेट सेवा प्रदायक संघ)का अध्यक्ष सुधिर पराजुलीका अनुसार हाल इन्टरनेटको समस्या व्यवस्थापन भइसकेको छ । उनले भने, ‘पहिले हामी महामारी आउँछ भनेर पूर्वतयारीका साथ बसेका थिएनौं । तर अहिले माहामारी दोरोरिँदा हामीले तयारी गर्ने समय पायौं । सोही कारण पहिलो चरणको लकडाउनमा समस्या आए पनि अहिले त्यस्तो समस्या छैन ।’

पराजुलीले थपे, ‘इन्टरनेट प्रयोगकर्ताको संख्या गएको बर्ष एक्कासी बढेको थियो । लकडाउनका कारण भारतसँग सहकार्य गरिहाल्ने अवस्था थिएन । सोही कारण पहिले हामीले टिकटक र पब्जी जस्ता गेम नखेलौं भनेको थियौं । तर अहिले हामीले त्यसको व्यवस्थापन गरिसकेको अवस्था छ । गाउँको दूरदराजमा बिजुली नै नपुगेको ठाउँबाट इन्टरनेटको माग हुन्छ । अब पोल नै आईएसपीले गाडेर जाँदा महिनाकै पाँच हजार रूपियाँले पनि भ्याउँदैन । त्यसरी सिधै घाटा व्यहोरेर काम कसले गर्न सक्छ र ? पोल गाड्ने हाम्रो काम होइन । सदरमुकाममा बिजुली पुगेको भए पनि गाउँमा जान नदीनाला पहाडका उकाली ओराली पार गर्दै जानुपर्ने हुन्छ । यो त नेपालको बाटोघाटो नै यस्तो भएको कारण आएको समस्या हो ।’ 

महंगोमा किनेर मिलेसम्म सस्तोमा दिएको इन्टरनेटलाई स्टेवल भएन भन्ने गुनासो मात्रै गर्न नहुने उनले बताए । 

Advertisement

Advertisement