उच्चस्तरको जनशक्ति जुटाएमा पुनर्बीमा कम्पनी कुनै टापुमा खोले पनि चल्छः डा. रविन्द्र घिमिरे

Advertisement

डा. रविन्द्र घिमिरे
पुनर्बीमा व्यवसायमा उच्चस्तरको विशेष खालको जनशक्ति जुटाउन अपरिहार्य हुन्छ । उक्त जनशक्तिको अभावमा पुनर्बीमा व्यवसाय चलाउन सहज हुन्न । त्यस्तो जनशक्ति भएमा यो व्यवसाय जहाँ बसेर पनि चलाउन सकिन्छ । यसलाई त एउटा टापुमा स्थापना गरे पनि नचल्ने भन्ने हुँदैन । 

पुनर्बीमाको सम्बन्ध आर्थिक सुरक्षणसँग जोडिएको हुन्छ । पुनर्बीमा भनेको जनसंख्या हेरेर, कति मान्छे छन् ? यहाँ उत्पादन भएको दुध, चामल कति मान्छेले खान्छन् वा खादैनन् ? भन्ने हिसाबले गर्ने व्यवसाय होइन । विश्वभरीबाट नै व्यवसाय ल्याउने र विश्वभरी नै व्यवसाय दिने काम पुनर्बीमा कम्पनीले गर्छ । 

Advertisement

नेपालमा पनि अर्को पुनर्बीमा कम्पनी स्थापना हुँदैछ । नयाँ पुनर्बीमा कम्पनीको व्यवसायमा प्रभाव पार्ने केही आधारहरू छन् । नेपालमा आएको नयाँ पुनर्बीमा कम्पनीले नियुक्त गर्ने प्रमुख कार्यकारी अधिकृत (सीईओ)को क्षमताले पनि कम्पनीलाई ठूलो प्रभाव पार्छ । यसमा प्रयोग हुने प्रविधि तथा जनशक्तिले पनि यस कम्पनीले गर्ने व्यवसाय निर्धारण गर्छ । 

पुनर्बीमा भनेको नेपाली बीमा बजारसँग मात्रै सम्बन्धित भएर हेर्ने विषय होइन । यसमा विदेशी राष्ट्रसँग गरिएको पुनर्बीमा महत्वपूर्ण हुन्छ । हालसम्म निर्जीवन बीमा कम्पनीबाट वार्षिक २५ अर्ब रुपियाँ संकलन हुनेगरेको छ । त्यस्तै, जीवन बीमामा वार्षिक ९० अर्ब रुपियाँ संकलन हुन्छ । 

पुनर्बीमामा हालसम्म १६ अर्ब रुपियाँ बराबरको व्यवसाय हुँदै आएको छ । उक्त रकम मध्येको २० प्रतिशत रकम नेपाल पुनर्बीमा कम्पनीले पाइरहेको छ । बाँकी १३ अर्ब रुपियाँ बाहिर जान्छ । उक्त रकमबाट अब नयाँ लाइसेन्स पाएको पुनर्बीमा कम्पनी हिमालयन रि ले कति व्यवसाय ल्याउन सक्छ ? हेर्न बाँकी छ । 

तेह्र अर्ब रूपियाँमध्ये सबै रकम हिमालयनले लिनु हुँदैन । त्यसो गर्दा नेपालको सबै जोखिम हिमालयनले मात्रै धारण गर्नुपर्ने हुन्छ । सोही कारण हिमालयनले यस क्षेत्रका जानेबुझेका जानकारसँग सरहल्लाह र सुझाव लिएर अघि बढ्दा राम्रो हुन्छ ।

उच्चस्तरीय जनशक्ति, नयाँ किसिमका प्रविधिको प्रयोग भएन भने नयाँ पुनर्बीमा कम्पनीलाई चल्न गाह्रो हुन्छ । अहिले नेपाली पुनर्बीमा क्षेत्रमा जनशक्तिको अभाव छ । नेपाल पुनर्बीमा कम्पनीले पनि स्तरीय जनशक्ति राख्न सकेको भए उक्त कम्पनी अझै स्तरीय बन्ने थियो । नयाँ पुनर्बीमा कम्पनीलाई राम्रो नेतृत्वको खाँचो हुन्छ । सोहीकारण अब आउने नयाँ पुनर्बीमा कम्पनीले कस्तो नेतृत्व पाउँछ ? भन्नेमा यसको व्यवसाय निर्भर हुन्छ । 

डा. घिमिरेसँगको कुराकानीमा आधारित । उनी बीमा विज्ञ हुन् ।

Advertisement

Advertisement