क्वारेन्टिनका लागि पाँचतारेसम्मका ७८ होटल सूचीकृत, शुल्क तोक्ने जिम्मा सम्बन्धित होटललाई

Advertisement

काठमाडौं । विदेशबाट नेपाल आउने अन्तर्राष्ट्रिय हवाई यात्रुलाई राख्न सरकारले पर्यटकस्तरदेखि पाँचतारेसम्मका होटल सूचीकृत गरेको छ । पर्यटन विभागले पर्यटक स्तरदेखि पाँचतारेसम्मका ७८ वटा होटलको सूची सार्वजनिक गर्दै क्वारेन्टिनस्थलको रूपमा प्रयोग गर्ने होटलको न्यूनतम मापदण्डसमेत तय गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन विभागले सार्वजनिक गरेको यस्ता होटल अब भोलि विहीबारदेखि नियमित उडानबाट आउने अन्तर्राष्ट्रिय उडानका हवाई यात्रुलाई राख्न प्रयोग हुने उल्लेख छ । यस अघि भारतबाट आउने यात्रुलाई राख्न तय भएको ८ वटा होटलसहित थप ७० वटा होटल क्वारेन्टिनका लागि सूचीकृत भएको पर्यटन विभागले जानकारी दिएको छ ।

Advertisement

विभागका अनुसार क्वारेन्टिनमा प्रयोग हुने होटल कम्तिमा २० कोठा भएको हुनुपर्ने छ । सरकारले नै यस पटक ठमेल, कलंकी र गोङ्गबु क्षेत्रका होटललाई क्वारेन्टिनमा नराख्ने भनेकोले ती क्षेत्रका होटललाई समावेश नगरी सूची निकालिएको पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङले बताए । उनले भने ‘सरकारले होटल सूचीकृत मात्रै गरिदिनु भनेकोले यस पटक शुल्क पनि तोकिएको छैन् ।’

पर्यटक स्तरका होटलले दैनिक तीन हजार रुपियाँ प्रतिव्यक्ति लिन पाउने यस अघिकै व्यवस्था अनुसार गर्ने भनिएपनि तारे होटलसमेत क्वारेन्टिनको लागि तोकिएकोले ती होटल आफैंले शुल्क तय गर्ने जानकारी तामाङले दिए । तीनतारेदेखि पाँचतारेसम्मका होटल क्वारेन्टिनका लागि सूचीकृत भएका छन् । ती होटलमा पाहुना राख्न शुल्क तय गर्ने जिम्मा सम्बन्धित होटललाई नै दिइएको र यस पटक सरकारले शुल्क तोक्ने विषयमा केही उल्लेख नगरेको उनले जानकारी दिए ।

विभागका अनुसार सूचीकृत होटलले नेपाली तथा विदेशी नागरिकहरू विदेशबाट नेपाल आउँदा पालना गर्नुपर्ने मापदण्ड पालना गर्नुपर्ने र तोकिएको क्षेत्रका होटल पनि हुनैपर्ने व्यवस्था पनि छ । सरकारले विदेशबाट आउने हवाई यात्रुलाई अनिवार्य १० दिन क्वारेन्टिनको व्यवस्था गरेको छ । खाडी मुलुकाबाट आउनेले पाँच दिन बसे पुग्छ । विशेष परिस्थिति भएकालाई होम क्वरेन्टिनमा पठाउने व्यवस्था पनि गरेको छ ।

विभागले सार्वजनिक गरेको यस्तो सूचीमा यस अघि भारतबाट आउने उडानका लागि तय भएका ८ होटल छन् । त्यो बाहेक ७० होटलमा ७ वटा पाँचतारे, ३ वटा चारतारे, ७ वटा तीनतारे, ५१ वटा पर्यटक स्तरका र बाँकी २ वटा रिसोर्ट क्याटगोरीका होटल छन् ।

यात्रुकै माग अनुसारको होटलमा राखिने
सरकारले पर्यटक स्तरका होटललाई प्रतिव्यक्ति तीन हजार रुपैयाँ लिने  भनेपनि तारे होटलको शुल्क भने सम्बन्धित होटलले आपसी सहमतिमा तोक्ने भएका छन् । पर्यटक स्तरका होटलमा मजदुरीबाट फर्केका नेपाली राख्न प्रयोग गरिने छ । तारे होटल भने विदेशीलाई राख्न प्रयोग हुन्छ । पैसा तिर्न सक्छु भन्ने नेपाली पनि स्वच्छाले पाँचतारेसम्म पनि बस्न पाउने छ ।

खाडी मुलुकबाट आउने नेपालीले महंगो शुल्क तिर्न सक्दैनन भने उनीहरूलाई सस्तो होटलमै राखिने हानको भनाइ छ । पैसा तिर्न सक्ने र तीनतारे भन्दा माथि बस्न चाहने नेपाली पनि रहेको र उनीहरूबाट माग आएको छ । विदेशी नागरिकलाई तीनतारे माथि राख्ने र नेपालीलाई भने पर्यटक स्तरमा राख्ने गरी होटल तय भएको होटल संघ नेपाल (हान)का प्रथम उपाध्यक्ष विनायक शाहले बताए ।

उनले भने ‘यस अघि भारतबाट एयर बबलमा आउनेले पनि महंगा होटल खोजेकोले पनि नयाँ होटलहरू थप गरिएको छ ।’ अन्य होटलले भने प्याकेज दिएका र अहिले होटल खाली भएको समयमा महंगो नलिइ प्याकेजमा सस्तो सेवा नै दिने सकिने जानकारी पनि हानका उपाध्यक्ष शाहले बताए ।

ठमेल क्षेत्रका होटल ३० होटल सूचीकृत गर्न सुझाव
सरकारले ठमेल क्षेत्रका होटललाइ क्वारेन्टिमा नराख्ने व्यवस्था गरेकोल विभागले उक्त क्षेत्रका होटल समेटेको छैन् । व्यवसायीले भने ठमेल क्षेत्र पर्यटकीय गन्तव्य भएको, आवासिय भन्दा व्यवसायिक क्षेत्र नै भएकोले पनि ठमेलका होटल समावेश गर्न सरकारलाई आग्रह गरिएको हानका महासचिव साजन शाक्यले बताए ।

उनका अनुसार ठमेल क्षेत्रका थप ३० वटा होटल समावेश गरेर थप सूची आउने र सोसँगै शुल्क पनि तय हुने जानकारी दिए । शाक्यका अनुसार पर्यटक स्तरका होटलालाई सरकारले नै प्रति व्यक्ति दैनिक तीन हजार भनेको छ । सो शुल्कमा तीनतारे भन्दा माथिका होटलमा पाहुना राख्न सकिदैँन् ।

बाहिरबाट आउने नागरिक आफैंले होटल बुकिङ अनिवार्य गरेरै आउनुपर्छ । बाहिरबाट आउने पाहुनाले बुकिङ आउनैपर्ने भएकोले पनि  पाहुनाबीचको सहमतिमा वा होटलले तोकेकै शुल्कमा तारे होटलमा बस्नुपर्ने पनि हुन्छ । अघिल्लो वर्ष धेरै शुल्क नपर्ने र महंगो शुल्क तिर्न नसक्नेलाई सस्तो होटलमै राखेर विदेशी, पैसा तिर्नेलाई मात्रै पाँचतारे र रिसोर्टमा लैजाने पनि हानको भनाइ छ ।

क्वारेन्टिस्थलको रूपमा प्रयोग हुने होटलहरूको सूची

Advertisement

Advertisement