यूएनडीपी र एनसेलको साझेदारीमा साइकल यात्रा अभियान सुरु

Advertisement

काठमाडौं । नेपालमा दिगो विकास तथा स्वस्थ जीवन र स्वच्छ शहरका लागि साइकल यात्रा अभियानको प्रवद्र्धन गर्न संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (यूएनडीपी) र एनसेल आजियाटा लिमिटेडले साझेदारी गरेका छन् । 

यसका लागि यूएनडीपीकी आवासीय प्रतिनिधि ऐशानी मेडागाङ्गोडा लाबे र एनसेलका प्रमुख कार्यकाकारी अधिकृत एन्डी चोङ्ले शुक्रबार समझदारी पत्रमा हस्ताक्षर गरे । साइकल अभियानलाई ‘ग्रिनवे’ अर्थात् ‘हरितमार्ग’ एपको माध्यमलगायतबाट प्रवद्र्धन गरिनेछ । शहरी बासिन्दाका लागि दिगो शहरी यातायात र वातावरण–मैत्री जीवनपद्धतिको छनोट प्रवद्र्धन गर्ने उद्देश्यले यो अभियानको शुभारम्भ गत पुस २०७७ बाटै भएको थियो । 

Advertisement

शहरबासीका लागि स्वच्छ, स्वस्थ र सुपथ रहेको साइकल यात्रा कसरी वैकल्पिक माध्यम हुनसक्छ ? भन्ने कुराको पुष्टि गर्नु अभियानको ध्येय रहेको एनसेलले जनाएको छ । ‘विश्व वातावरण दिवस २०२१’को पूर्वसन्ध्यामा हस्ताक्षरित यस समझदारी पत्रअन्तर्गत यूएनडीपी र एनसेलले आफ्नो व्यावसायिक—सामाजिक जिम्मेवारी (सीएसआर)को हिस्साका रूपमा काठमाडौं उपत्यकाबाहिरका अन्य इच्छुक शहरहरूमा समेत साइकल अभियान विस्तार गर्न सहकार्य गर्नेछन् । 

अभियानले स्वस्थ शहरका लागि साइकल यात्राको नियमन, नक्सांकन, विश्वास तथा प्रोत्साहनका लागि विद्यमान प्रविधि प्रयोग गर्नेछ । मानिसहरूलाई प्रतिस्पर्धात्मक खेलमार्फत बढीभन्दा बढी साइकल प्रयोग गर्न उत्साहित गरिनेछ, जसले साइकलयात्रीलाई पुरस्कारसँगै प्रोत्साहित गर्ने र खेलमा सहभागी हुने तथा प्रायोजन गर्ने जस्ता वातावरणमैत्री व्यवसायलाई समेत पक्षपोषण गर्दछ । यस अभियानले साइकलमैत्री, सुरक्षित पूर्वाधारको बढ्दो लगानीका लागि वकालत गर्दछ । यससँगै आर्थिक, स्वास्थ्यलगायत वातावरणीय तथा कोभिड–सम्बद्ध सुरक्षाका लागि समेत मानिसहरूलाई साइकल जीवनशैली सुरु गर्न वा निरन्तर गर्न उत्प्रेरित गर्ने कम्पनीको भनाई छ । 

यूएनडीपी र एनसेलबीच हस्ताक्षर भएको समझदारी पत्रले नेपालमा दिगो विकास लक्ष्यको प्रगतिका लागि संयुक्त रूपमा पहलकदमी लिन र अन्वेषण गर्न प्रतिबद्धता व्यक्त गर्दछ । नेपाल सरकारको ‘विद्युतीय आवागमनका लागि राष्ट्रिय योजना (एनपीईएम)’ले सन् २०५० सम्ममा अन्य विविध उपायसँगै यातायात क्षेत्रमा धाउजन्य इन्धन प्रयोग ५० प्रतिशतले घटाई वायु प्रदूषणमा सुधार ल्याउने लक्ष्य राखेको छ । त्यससँगै पुराना र मर्मत नगरिएका सवारीसाधन, उद्योगको फोहरबाट हुने प्रदूषण दर घटाउने लक्ष्य पनि एनपीईएमको छ । शहरमा साइकल यात्रा अभियानले यो लक्ष्यमा योगदान गर्ने अपेक्षा गरिएको छ । 

Advertisement

Advertisement