सेयर बजारलाई जुवाघर वा क्यासिनो किन भनिन्छ ? लगानीकर्ताको मनोवैज्ञानिक प्रभाव विश्लेषण

राजनविक्रम थापा
सेयर बजार स्वभावैले गतिशील प्रकृतिको बजार हो । बजारको परिपक्वतासँगै सेयर बजारको गतिशीलता र आकारमा पनि तीव्ररुपमा वृद्धि हुँदै जान्छ । पछिल्लो समयमा कोभिडको लम्बिँदो संक्रमणका कारण अर्थतन्त्रको अन्य परिसूचकहरू स्थिर र सकारात्मक नदेखिएता पनि नेपालको सेयर बजार तुलनात्मकरुपमा गतिशील देखिएको छ । परम्परागत तथा निकै कमजोर पूर्वाधारबाट कारोवार सुरु गरेको नेपाली सेयर बजारमा प्रविधिको प्रयोग तथा लगानीकर्तामा तुलनात्मक रुपमा बढदो उत्सुकता र जागरणका कारण छोटै समयावधिमा पनि उल्लेख्य परिवर्तन र सुधार हुँदै गएको देखिन्छ । 

आस्वा, सीआस्वा प्रणालीको कार्यान्वयन सिडिएसमार्फत सेयरको अभौतिकीकरण, पूँजीगत लाभको वैज्ञानिक गणनाको बिधि, टीएमएसमार्फत घर बसेर अनलाईनमार्फत खरीद बिक्री कारोवारको उपलब्धता, कर्जाको सहजता, संस्थागत लगानीकर्ताको चासो लगायतका कारण सेयर बजार स्थायी र दीगो दिशातर्फ उन्मुख देखिन्छ । बजारमा अधिक लगानीकर्ता आकर्षकरुपमा प्रवेश र यसको आकार बढदै जाँदा लगानीकर्ता व्यवहारमा देखिने पृथकता एवम् सैद्धान्तिक विचलनका कारण लगानीकर्ता र समग्र बजारकै लागि पनि जोखिमको मात्रा बढ्दै गएको देखिन्छ ।

सेयर बजार वातावरणीय तत्वबाट निकै प्रभावित हुने संवदेनशील प्रकृतिको बजार हो । सामान्यतयाः देशको समग्र आर्थिक, सामाजिक र राजनैतिक अवस्था समेत नेप्से परिसूचकमा प्रतिविम्बित हुने गर्दछ । अतः सुचीकृत कम्पनीको सेयर तथा वित्तीय उपकरणहरूको मूल्यमा नियमितरुपमा हुने उतारचढावलाई स्वभाविकै रूपमा लिनुपर्ने हुन्छ । खास गरी दोस्रो बजारमा लगानी गर्ने लगानीकर्ताले जोखिम र प्रतिफलको आँकलन गरी सेयर खरीद बिक्री गर्दा सेयरको मूल्यमा नियमित घटबढ हुन जान्छ । आन्तरिक तथा बाह्य दुवै वातावरणीय पक्षहरूमा हुने परिवर्तनका कारण छोटो समयको अन्तरालमा बजारमा सेयरको माग र आपूर्तिबीच असन्तुलन कायम हुन गई समग्र नेप्से परिसूचकमा पनि उतारचढाव भईरहेकै हुन्छ । तर सैद्धान्तिक धरातलबाट उल्टो दिशामा बजार चल्ने र विना कुनै ठोस आधार नै सेयरको मूल्यमा व्यापक उतारचढाव आउने अवस्थालाई भने सकारात्मक मान्न सकिदैन । 

अर्थतन्त्रका अन्य परिसूचकहरू नकारात्मक र शिथिल अवस्थामा रहेको, सूचीकृत कम्पनीहरूले प्रतिफल दिने अन्योल अवस्था देखिएको, कतिपय कम्पनीको वित्तीय अवस्था निकै प्रतिकूल देखिएको, कम्पनीको कार्य प्रभावकारितामा समेत तुलनात्मकरूपमा परिवर्तन नदेखिएको अवस्थामा समेत सेयरको मूल्यमा अस्वाभाविकरुपमा वृद्धि हुनुका साथै व्यापक उतारचढाव हुने गर्दछ । यस सम्बन्धमा परम्परागत वित्तीय सिद्धान्तले गरेको मान्यतालाई पनि स्मरण गर्न सकिन्छ कि मूल्यको निर्धारण विवेकपूर्ण तवरले गरिएता पनि संभावित अप्रासाङ्गिक प्रभाव र बजार मनोविज्ञानलाई ध्यान दिन असफल भइन्छ । बजार मनोविज्ञानमा मात्रै सञ्चालन हुन पुग्यो भने प्रतिकूल अवस्थामा सेयर बजारप्रति लगानीकर्ताको विश्वास टुट्न जान्छ ।  जसले लगानीको वातावरणमा नकारात्मक प्रभाव पार्दै देशको कूल गार्हस्थ उत्पादनलगायत अन्य आर्थिक परिसूचकमा समेत नकारात्मक असर पार्न सक्छ । सेयरको मूल्यमा असर पार्ने सैद्धान्तिक र वातावरणीय पक्षका अलवा लगानीकर्ताको मनोविज्ञानले पनि सेयर बजारलाई असर पार्ने तथ्य विभिन्न अध्ययन तथा अनुसन्धानले पनि पुष्टि गरिसकेको सन्दर्भमा यस लेखमा उक्त पक्षबारे संक्षिप्त विश्लेषण गरिएको छ ।

सेयर बजारको करिब तीन दशक
देशमा बहुदलीय व्यवस्थाको पुर्नस्थापना तथा चालीसको दशकबाट देशले अख्तियार गरेको उदारीकरणको नीति पश्चात मात्र निजी क्षेत्रको लगानी बढन थालेको देखिन्छ । विसं २०५० सालबाट बढि संगठित रूपमा कारोबार सुरु भएको नेपाली सेयर बजारले छोटो समयमा पनि निकै उतार चढावहरू पार गर्दै आजको अवस्थासम्म आईपुगेको देखिन्छ । प्रारम्भमा नेपालमा सेयर बजारप्रति आवश्यक न्यूनतम ज्ञान, सीमित सूचीकृत कम्पनी, कारोवारको लागि ब्रोकर र परामर्श समेतको अभावका कारण सेयर बजारले गति लिन सकेको देखिदैन । तर छोटै अवधिमा पनि बाह्य तथा आन्तरिक कारणबाट निकै उतारचढाव व्यहोर्दै अघि बढेको नेपालको सेयर बजारमा पछिल्ला बर्षहरूमा धेरै नीतिगत एवम् संरचनागत परिवर्तन भएका छन् । झण्डै तीन दशकको नेपाली सेयर बजारको आवधिक विचलनलाई तलको तालिकाबाट बुझ्न सकिन्छ ।

उपलब्ध तथ्यांकको आधारमा दृष्टिगत गर्दा नेप्से स्थापनाको वर्ष अर्थात आव २०५०–५१ मा सूचीकृत कम्पनीको संख्या ७९ रहेता पनि कारोवारको संख्या र रकम भने खासै उत्साहप्रद थिएन् । उक्त अवधिमा रु १०५ करोडको कूल कारोवार रही बजार पूँजीकरण रु. १२९६ करोड मात्र रहेको बजारले देशको अस्थिर राजनैतिक वातावरण, आन्तरिक द्धन्द्ध, भूकम्प, बाढिपहिरोलगायतका प्राकृतिक प्रकोप, घरजग्गा कारोवार र आर्थिक गतिविधिमा देखिएको मन्दी, तरलताको उतारचढाबलगायतका प्रतिकूलताहरूलाई पार गर्दै हालको अवस्थासम्म आईपुग्दा सेयर बजारमा परिमाणात्मक र गुणात्मकरूपमा उल्लेख्य विकास र विस्तार हुँदै गएको तथ्यले पुष्टि गर्दछ । हाल बजार पुँजीकरणमा उक्त अवधिको तुलनामा करिब २१० गुणाले बृद्धि भई रु. ३७२४५५ करोड (३०, बैशाख २०७८) पुगेको देखिन्छ ।  त्यस्तै, अन्य परिसूचकहरूमा पनि उल्लेख्य सुधार भएको देखिन्छ । 

हाल नेपालको सेयरबजारमा सुचीकृत कम्पनीका सेयर, डिवेञ्चर, म्युचअल फण्ड, सरकारी ऋणपत्र लगायतका उपकरणहरूको कारोवार हुँदै आएको छ । विगत एक दशक अघिसम्म बजारको कूल कारोबारमा ८० प्रतिशतभन्दा बढि अंश बैंक तथा वित्तीय संस्थाको मात्र रहने गरेकोमा पछिल्ला वर्षहरूमा हाइड्रोपावर बीमा, दूरसञ्चार, होटल लगायतका कम्पनीहरू प्रवेश गरेकाले लगानीकर्तालाई पोर्टफोलियो व्यवस्थापनको केन्द्रीकृत जोखिम न्यूनीकरणमा समेत सहयोग पुगेको देखिन्छ । यस अवधिमा सेयर बजारको खुडकिलोको रुपमा मानिने प्रारम्भिक निष्कासनका लागि आवश्यक नीतिगत तथा प्राविधिक पूर्वाधार विकास भई निर्वाधरुपमा निश्कासन कार्य भइरहेको र दोस्रो बजारको कार्य हालसम्म एकाधिकार प्राप्त एक्सचेन्जमार्फत सुचारु भइरहेको छ । सिडिएसको पछिल्ला तथ्यांकअनुसार झण्डै ३१ लाख लगानीकर्ताले डिम्याट खाता खोलेको देखिन्छ भने प्रत्येक प्रारम्भिक निष्कासनमा लाखौं आवेदकले दश कित्ता सेयर पनि प्राप्त गर्न नसक्ने अवस्था विद्यमान देखिन्छ । पछिल्लो समयमा सेयर ब्रोकरहरूलाई अझै ग्राहकहरूलाई टिएमएसको माध्यमबाट घरबाटै सेयर कारोवार गर्ने सुविधा गर्न सक्ने सुविधा प्राप्त भएपछि सेयर बजारले उल्लेख्य फड्को मारेको देखिन्छ । 

सेयरको मूल्यमा मनोविज्ञानको प्रभाव     
अर्थशास्त्रको शास्त्रीय मान्यताअनुसार कुनै पनि वस्तु वा सम्पत्तिको मूल्य माग र आपूर्तिको सन्तुलनबाट नै निर्धारण हुन्छ । माग र आपूर्तिलाई प्रभाव पार्ने तत्वहरू भने समय, काल, परिस्थिति, स्थान आदिमा निर्भर गर्दछ । सामान्य अवस्थामा सुचीकृत कम्पनीको सेयरको मूल्य पनि सैद्धान्तिक र विवेकपूर्ण तवरले नै निर्धारण हुन्छ । सेयरको मूल्यलाई असर पार्ने सैद्धान्तिक तत्वहरूमा सूचीकृत कम्पनीको नेटवर्थ, प्रतिसेयर आम्दानी, लाभांश वितरणको अवस्था कम्पनीको सुशासन र सञ्चालकहरूको छवि र प्रतिष्ठा, कम्पनीको भावी योजना र रणनीति, व्यवसाय विस्तार, हकप्रद सेयर, बोनस सेयर, भविष्यमा कुनै कम्पनीसँग हुने मर्जर वा अन्य कुनै व्यवसायिक सम्झौता, कम्पनीको सम्पत्तिको गुणस्तर, व्यवसायको आकार र समग्र उद्योगको अवस्था आदि पर्दछन् । यसका अलवा देशको समग्र आर्थिक परिसुचकमा आउने उतारचढाब, नियमनकारी निकायबाट हुने हस्तक्षेप, एवम् आकस्मिक नियमन, वित्तीय बजारमा सेयर कर्जाको उपलब्धता, ब्याजदर र सहजता पूँजीगत कर एवम् सम्पत्ति शुद्धीकरणसम्बन्धी व्यवस्था राजनैतिक तथा अन्य बाह्य कारण आदिको पनि उल्लेख्य प्रभाव रहन्छ । दीर्घकालमा सेयर मूल्यको संभावित जोखिम र अपेक्षित प्रतिफलको आकलन के आधारमा गरिएको हुन्छ ? यी सबै सैद्धान्तिक र व्यवहारिक पक्ष हुँदाहुँदै पनि अन्य वस्तु तथा सेवाको बजारको तुलनामा सेयरबजारमा निकै कम समयको अन्तरमा मूल्य उतारचढाव हुने गर्दछ । 

माथि उल्लेखित कारण एवम् पहिले स्थापित मूल्य र मान्यतासँग मेल नखानेगरी पनि बजारले प्रतिक्रिया दिइरहेको हुन्छ । यसो हुनुको मुख्य कारण बजार सधै सैद्धान्तिक विश्लेषण आधारमा मात्र नभई बजारका खेलाडीहरूको मनोविज्ञान र व्यवहारमा निर्भर हुनु हो । मनोवैज्ञानिक प्रभावका कारण बजारमा अस्तित्व लोप हुन लागेका सर्वसाधारणहरूको सहज पहुँचमा नभएका, प्रतिफल दर शुन्य रहेका, कारवाहीमा परेका कम्पनीहरूको पनि उच्च मूल्यमा कारोबार हुने गरेको देखिन्छ ।  यसका अलवा निकै कम समयमा त्यस्ता सेयरको मूल्यमा व्यापक उतारचढाव समेत आउने गरेको देखिन्छ । यस कै कारण नेपाली सेयर बजारमा अनौठा संयोगहरू समेत देखिएका छन् । विसं २०७२ सालमा गएको महाभूकम्पपछि अर्थतन्त्र निकै खस्कने अनुमानसहित सेयर बजार धरासयी हुने आंकलन गरिएको थियो । तर त्यसको विपरित सेयर बजारले नयाँ किर्तिमान कायम गर्दै अघि बढयो । त्यस्तै पछिल्लो समयमा विगत एक वर्षदेखि विश्व नै कोभिड भाइरसको आतंकले थलिएको छ । मानिसहरूको आम्दानी र बचत गर्ने क्षमतामा ह्रास आएको छ भने समग्र आर्थिक परिसूचकहरू शिथिल नै देखिएको छ । तर यस्तो प्रतिकूल अवस्थामा समेत नेपालको सेयर बजारले कारोवार रकम, बजार पुँजीकरण, नेप्से परिसूचकलगायत सबैमा विगतको किर्तिमान कायम गरेको छ । 

सामान्य अवस्थाको तुलनामा कोभिडको समयअवधिमा सेयर कारोबार र लगानीकर्ताको आकर्षण बढ्नुको एउटै मात्रै कारण नभई धेरै कारण हुनसक्छन् । जस्तै प्रविधिको उपयोग, दीर्घकालिन लगानीका लागि बाताबरण प्रतिकुल देखिनु, सेयर कर्जाको सहज उपलब्धता, अल्पकालीन ब्याजदरमा कमी, सुचीकृत कम्पनीको प्रतिफल आदि । सामान्य अवस्थाको तुलनामा कूल कारोवार रकममा ५०७.६२ प्रतिशत र दैनिक औसत सेयर कारोवारमा ४६१.४४ प्रतिशतको वृद्धि भई नेप्से परिसूचक समेत दोब्बरभन्दा बढिले बढनुमा बजार र लगानीकर्ताको मनोविज्ञान र व्यवहारले प्रभाव पारेको स्पष्ट देखिन्छ । 

बजार मनोविज्ञान र कारोवार मनोविज्ञान 
सेयरको मूल्यमा मनोवैज्ञानिक तत्वको चर्चा गर्दा बजार मनोविज्ञान र लगानीकर्ताको मनोविज्ञानलाई उस्तै रुपमा लिने गरेको पाईन्छ । सरसर्ती हेर्दा लगानीकर्ताहरूको मनोविज्ञान नै सेयरबजारमा प्रतिविम्बित हुने भएकोले उस्तै लाग्नु स्वाभाविक हो । तर व्यवहारिकरुपमा यी दुईबीच विशेष अन्तर रहेको देखिन्छ । कारोवार वा व्यापार मनोविज्ञानले निश्चित लगानीकर्ता वा व्यक्तिको कुनै स्टकप्रतिको धारणा, भावना, आवेग, संवेग, व्यवहार या आचरणलाई चित्रण गर्दछ भने बजार मनोविज्ञानले कुनै निश्चित समय वा विन्दुमा सबै खाले लगानीकर्ताहरूको एकीकृत धारणा र व्यवहारलाई इंगित गर्दछ । कारोवार वा व्यापार मनोविज्ञानमा लगानीकर्ताको ज्ञान अनुभव, क्षमता आदिको प्रभाव रहन्छ भने बजार मनोविज्ञानमा मानिसका लोभ, डर, उत्सुकता, दिक्दारीपन आदिको एकीकृत प्रभाव पर्दछ ।

नेपाली सेयर बजारको विश्लेषण गर्दा सुचीकृत कम्पनी र लगानीकर्ताको संख्यामा भएको उल्लेख्य वृद्धिसँगै दुवै खाले मनोविज्ञान हावी हुँदै गएको देखिन्छ । बजारमा स्वभावैले एकैनासका ज्ञान, अनुभव, जोखिम बहन क्षमता भएका लगानीकर्ता नहुने भएकोले उनीहरूको व्यवहार र मनोविज्ञान पनि पृथक हुने गर्दछ । कसैको स्वभाव आधारभूत विश्लेषणमा बढि निर्भर हुने गर्दछ भने कतिपय लगानीकर्ता निर्णय बजारको बहाब र गतिमा अधिक बढि निर्भर हुने गर्दछ । पछिल्लो समयमा बजारमा भएका कारोवारको परिमाण र प्रकृतिलाई दृष्टिगत गर्ने हो भने कतिपय कम्पनीको प्राथमिक निष्काशन भई सूचीकृत हुने बित्तिकै विना आधारभूत विश्लेषण सेयरको मूल्य आकासिन गएको देखिन्छ भने निकै कम समयको अन्तरमा उच्च गिरावट आएको देखिन्छ । यति मात्र हैन कतिपय राम्रा प्रतिफल वितरण गरिरहेका र वित्तीय अवस्था सुदृढ रहेका कम्पनीको बजार मूल्य तुलनात्मक रुपमा निकै तल रहेको हुन्छ ।

सेयर बजारमा जोखिम जोडिने भएकोले कुनै निश्चित क्षेत्रमा निहीत जोखिमको प्रकृति र प्रवृत्तिले लगानीकर्ताको मनोविज्ञान विकास गर्न भने मद्दत पुगेको देखिन्छ । बजार मनोविज्ञान र लगानीकर्ताको ३.६२ मनोविज्ञानको बीचमा अच्चम्म र दरिलो अन्तर सम्बन्ध रहेको हुन्छ । बजारमा विकास हुँदै गएको हल्ला वा विभिन्न आधारहरूले लगानीकर्ता प्रभावित हुने संभावना जति हुन्छ, लगानीकर्ताहरूको सामुहिक विश्वास र मनोवलका कारण विकसित मनोविज्ञानले सेयर बजारलाई पनि उत्तिकै प्रभाव पारेको हुन्छ । सैद्धान्तिक होस् वा वातावरणीय जुनसुकै कारणले बजारमा देखिएको प्रतिक्रियाबाट लगानीकर्ताको मनोविज्ञान विकास हुन र परिपक्व हुन निश्चित समय लाग्छ । खास गरी बजारमा प्रवेश गरेका नवप्रवेशी र विगतमा बजारको उतारचढाव ब्यहोरिसकेका अनुभवी लगानीकर्ताको मनोविज्ञानमा पक्कै पनि फरक परिहाल्छ । 

केही सीमित लगानीकर्ताको मनोविज्ञानले एक्कासी बजारको अवस्थालाई प्रभाव पार्न सक्दैन । तर केही लगानीकर्तामा विकास भएको आत्मविश्वास, अनुभव वा अन्य कुनै पनि कारणबाट विकसित मनोविज्ञान सरुवा रोगको भाइरस जस्तै गरी विस्तारै हल्ला र प्रभावको रुपमा अन्य लगानीकर्ताहरूमा सञ्चार हुने क्रम बढन सक्छ । अझै यसमा मिडिया र सामाजिक सञ्जालको प्रभावको भूमिका भने उल्लेख्य हुन्छ । सेयरबजारमा लगानीकर्ता र बजारको मनोविज्ञानले असर पार्ने सम्बन्धमा धेरै मुलुकका सेयर बजार र लगानीकर्ताहरूको व्यवहार र प्रवृति समेतका आधारमा अध्ययन भएका छन् । पछिल्लो समयमा गरिएका केही अध्ययन समेतको आधारमा यस्ता मनोविज्ञानमा प्रभाव पार्ने तत्व र मनोविज्ञान विकास हुने प्रक्रियालाई तल चित्रमा प्रस्तुत गरिएको छ ।

लगानीकर्ताको मनोविज्ञानमा मुख्यतया निम्न तत्व एवं तिनीहरूबीचको अन्तरसम्वन्धको विशेष भूमिका रहेको हुन्छ ।

धारणा वा प्रत्यक्ष ज्ञान 
सेयर बजारमा प्रवेश गर्नुपूर्व प्रत्येक लगानीकर्ताले आफ्नो धारणा बनाएका हुन्छन् । आफूसँग विद्यमान क्षमता अनुसारको ज्ञान र बुझाइ कै आधारमा बजार प्रवेश गर्ने लगानीकर्ताहरूले सेयर बजार र कारोवारको अर्थ, लगानी गर्नुको कारण, दीर्घकालीन वा अल्पकालीन अवधिको लगानी, यसका सकारात्मक र नकारात्मक पक्ष, लगानी गर्न लागेको कम्पनीको जोखिम, लागत, संभावित लाभहानी लगायतका पक्षमा निश्चित धारणा बनाएका हुन्छन् । नेपाल कै सन्दर्भमा हेर्ने हो भने केही लगानीकर्ता जलविद्युत क्षेत्रका कम्पनीमा लगानी गर्दा नियमित आम्दानी भइरहने, सरकारबाट अनुदान पाईने र सञ्चालन खर्च कम हुने भनी त्यसतर्फ आकर्षित भइरहेको देखिन्छ भने एकखाले लगानकर्ता नियमनकारी निकाय बलिया भएका बैंक तथा बीमा क्षेत्रमा लगानी गर्न आकर्षित भइरहेको देखिन्छ । त्यस्तै अन्य क्षेत्रका कम्पनीमा पनि कुनै न कुनै धारणा र बुझाई प्रेरित भई सेयरमा लगानी गरिरहेका हुन्छन् । कतिपय लगानीकर्ता कुनै विशेष क्षेत्रमा आफ्नो योगदान पुगोस भनेर लगानी गरी आत्मिक खुशी प्राप्त गर्न पनि हुन्छन् । सधैं मुनाफामा मात्र केन्द्रीत नभई सामाजिक छवि प्रतिष्ठा, व्यवस्थापन वा निर्णयमा पुग्ने वा टिक्ने चाहना पनि राखेका हुन्छन् । यस्तै फरक खाले धारणा र बुझाईले सेयरको मूल्य र समय बजारको मनोविज्ञानमा पनि असर पार्न सक्दछ ।

मनोवृत्ति 
लगानीकर्ताको धारणा र बुझाईअनुसार नै मनोवृत्तिको पनि विकास हुँदै जान्छ । सेयर बजारमा फरक मनोवृत्तिका लगानीकर्ता क्रियाशिल रहेका हुन्छन् । उनीहरूको व्यवहार तथा प्रवृतिले सेयरको मूल्य तथा समग्र बजारलाई नै पनि प्रभावित पार्न सक्दछ । कुनै लगानीकर्ताले अल्पकालीन परिदृश्यलाई आंकलन गरी सिघ्र निर्णय लिएर खरीद बिक्री गर्ने गर्दछन् भने कोही आकस्मिक प्रतिफल पनि कमै अपेक्षा गरी विवेकपूर्ण तवरले लगानी गर्ने खाले हुन्छन् । लगानीकर्ताले कुनै पनि सम्पत्तिमा लगानी गर्दा वर्तमानको अपेक्षित प्रतिफलमा मात्र केन्द्रीत नभई सुदूर भविश्यमा प्राप्त हुने लाभ र अपेक्षाका आधारमा पनि बढि मूल्य तिर्न तत्पर हुन्छन् । कतिपय लगानीकर्ता जुवाडे प्रवृत्तिका पनि हुन्छन् । अधिक जोखिम बहन गरेर ठूलो रकम गुमाउन पनि तयार हुने र मुनाफाका लागि पनि उत्तेजित हुन सक्छन् । यस्ता खाले खेलाडी बजारमा हावी हुँदा सिंगो सेयर बजारलाई नै जुवाघर वा क्यासिनोको रुपमा समेत चित्रण गर्ने गरेको देखिन्छ ।

अभिप्राय वा नियत 
लगानीकर्ताको धारणा र मनोवृति समेतका आधारमा नियत वा अभिप्राय जन्मन्छ । यी सबै पक्षहरू लगानीकर्ताको मनोवैज्ञानिक पक्षहरू हुन । अतः लगानीकर्ताको नियत व्यक्तिगत तवरमा कसैले पत्ता लगाउन वा प्रक्षेपण गर्न त्यति सहज भने छैन । तर नियत निर्माण हुने यी मुख्य पक्षहरूको भूमिका रहेको हुन्छ ।
संज्ञानात्मक 
सम्पत्ति व्यवस्थापन, आधारभूत विश्लेषण, प्राविधिक विश्लेषणका आधारमा विकासित हुने नियत वा धारणा । 
प्रभावपरक 
खरीद बिक्री योजना, लक्षित मुनाफा, जोखिमको आंकलन, धारण गर्ने समययावधि आदिका आधारमा तय हुने । 
प्रभावकारी 
अपेक्षित संवेग, तत्कालको भावना वा संवेग, समग्र संवेग, आकस्मिक संवेग एवम् उत्तेजना, आर्थिक तथा राजनैतिक अफवाह वा हल्ला, क्षणिक खुशी, दुखीपन, अन्य सामाजिक कारणहरू

आचारण तथा व्यवहार 
माथि उल्लेखित तत्वहरूको आधारमा लगानीकर्ताले बजारमा प्रर्दशन गर्ने आचरण तथा व्यवहारको विकास हुने गर्दछ । लगानीकर्ताले सधै संज्ञानात्मक तवरले कम्पनीको सैद्धान्तिक आधारमा मात्र खरीद बिक्रीको निर्णय गर्छ भन्न सकिन्न । कहिले बजारको प्रभावमा त कहिले आफ्नो खुशी, उत्तेजनामा कारोवार गर्न सक्छ त कहिले आवेग, संवेग राजनैतिक अफवाह, मनोगत प्रक्षेपण वा कसैको प्रभावमा पनि कारोवारको निर्णय गर्न सक्छ । नेपालको सन्दर्भमा अस्थिर राजनैतिक वातावरण र सेयर बजारमा प्रभाव पार्नसक्ने सीमित लगानीकर्ता वा मिडियाको आचरण तथा व्यवहारले अन्य लगानीकर्ता र समग्र बजारको मनोविज्ञानमा प्रभाव पार्नसक्ने अवस्था देखिन्छ । पछिल्लो समयमा सूचीकत भएका केही कम्पनीको सेयर कारोवार हुँदा प्रचलित सैद्धान्तिक अवधारणा विपरित लगातार मूल्यवृद्धि हुने, विभिन्न किसिमका हल्ला र अफवाह फैलिएर सेयर बिक्री निर्णयमा प्रभाव पार्ने र उच्चबिन्दुमा पुगेपछि खरीदकर्ता नभेटिएर मूल्यमा ठूलो उतारचढाव सिर्जना भइरहेको देखिन्छ ।

अध्ययन र अनुभव     
माथि उल्लेखित सबै तत्वहरूको सम्बन्ध असर सेयर बजारमा क्रियाशील लगानीकर्ताको अध्ययन र अनुभवमा निहीत हुन्छ । बजारमा विभिन्न शैक्षिक र व्यवसायिक पृष्ठभूमिका लगानीकर्ताहरू हुन्छन् । उनीहरूको उमेर औपचारिक शिक्षा, व्यक्तित्व, संलग्न पेशा, अनुभव, लिंग लगायतका पक्षहरूले पनि कारोवारको निर्णयमा प्रत्यक्ष प्रभाव पारेको हुन्छ,। सेयर बजारको सैद्धान्तिक अवधारणाका अतिरिक्त प्रचलित ऐन, कानुन, नीति निर्देशनको अवस्था, कम्पनीको संरचना, वित्तीय अवस्था, रणनीति, सुशासन लगायतका आधारभूत पक्षको ज्ञान र अनुभव भएका लगानीकर्ताको मनोविज्ञानले बजारलाई पनि दिशातर्फ लैजान मद्दत पुग्दछ । यसको विपरित नियमित अध्ययनको कमी भएका र बजारमा अल्पकालीन लाभ आर्जन गर्ने, स्वार्थ समूहहरूको निर्माण गरी छोटो समयमा नै अधिक रकम आर्जन गर्ने उद्देश्यले कारोबार गर्ने मनोवृतिले लगानीकर्ता र बजार दुवैलाई प्रतिकूल असर पुरयाउन सक्छ ।

अन्त्यमा 
नेपालको सेयर बजार नीतिगत, संरचनागत र आकारका हिसाबले पनि परिपक्व हँुदै अघि बढिरहेको छ । बजारको गतिशीलतासँगै बजारमा संलग्न पक्षहरूको महत्वकांक्षा र रणनीतिले बजारलाई प्रभाव अवस्था पनि देखिएको छ । सामान्यतया सेयर बजारमा जोखिम र प्रतिफलको आधारमा सेयर कारोवार निर्देशिक हुने भएकोले कम्पनीको सेयरको मूल्य तथा नेप्से परिसूचकमा परिवर्तन हुनु स्वभाविक र सामान्य प्रक्रिया हो । तर सैद्धान्तिक र आधारभूत कारण विना कम्पनीको सेयरमा उतारचढाव हुनु, कुनै पनि सूचीकृत कम्पनीको सेयर कारोवार प्राकृतिक वा नियमित तवरले हुननसक्नु, संस्थागत सुशासन र सूचना, पारदर्शितामा संवेदनशील हुननसकी सीमित गुट वा समूहको प्रभावमा कम्पनी वा बजार निर्देशित हुनु बजारका लागि हानिकारक प्रवृत्ति हुन । 

पछिल्लो समयमा सेयर कारोबार कागजरहित तुल्याउँदै प्रविधिमा निर्भर तुल्याउँदै जाँदा काममा चुस्तता पहुँचमा विस्तार हुनु निकै सकारात्मक पक्ष हुँदाहुँदै पनि यसको विश्वासनीयता र यसबाट भविश्यमा सिर्जना हुने सञ्चालन जोखिमप्रति पनि बेलैमा सजग हुनुपर्ने अवस्था देखिएको छ । लगानीकर्ताको मनोविज्ञानले सेयरको मूल्य तथा बजारलाई प्रभाव पार्ने कुरा सत्य सावित भएता पनि मनोविज्ञान निर्माण हुन आवश्यक तत्वहरूको राम्रोसँग विश्लेषण गरेर नीतिगत तथा संरचनागत सुधार हुँदै जानु आवश्यक देखिन्छ । सुचीकृत कम्पनीसँग सम्बन्धित सुचना तथा जानकारीहरू उचित समयमा उचित तवरले एकै पटक सरोकारवालासम्म पहुँच हुने व्यवस्था, सेयर कारोवारमा हुनसक्ने अनियमितताको सिघ्र अनुगमन र प्रतिक्रियाले नकारात्मक मनोविज्ञानलाई नियन्त्रण गर्न सहयोग पुग्दछ भने लगानीकर्तालाई आवश्यक प्रशिक्षण, सैद्धान्तिक ज्ञान, अनुभव बाँडफाँड लगायतका प्रयासहरूबाट सकारात्मक मनोविज्ञान विकास गर्न सहयोग पुग्दछ । बजार गतिशील भईरहेको अवस्थामा अनुभवी एवम् स्रोत र साधनमा विशेष पहुँच भएका लगानीकर्ताको व्यवहार तथा आचरणले अन्य कम अनुभव र क्षमताका लगानीकर्ता र समग्र सेयर बजारलाई प्रतिकुल असर पार्नेतर्फ बजार सञ्चालक र नियमनकारी निकाय चनाखो हुनु आवश्यक देखिन्छ ।

साभारः नेपाल धितोपत्र बोर्डको २९औं वार्षिकोत्सव लेख विशेषाङ्कबाट ।