सिटिजन्स बैंकद्धारा सिर्जनालाई प्राप्ती गर्ने प्रस्ताव पारित, यसै आवभित्र संयुक्त कारोबार

Advertisement

काठमाडौँ । सिटिजन्स बैंकको सातौँ विशेष साधारण सभा(एसजीएम) बैंक सञ्चालक समितिका अध्यक्ष राजन सिंह भण्डारीको अध्यक्षतामा आज केन्द्रीय कार्यालय भवन, नारायणहिटी पथ, दरवारमार्गमा सम्पन्न भएको छ । कोभिड–१९ का कारण पर्न सक्ने सम्भावित असर एवं लकडाउनलाई मध्यनजर गर्दै सम्पूर्ण सुरक्षात्मक उपायहरू अवलम्बन गरी बैंकले डिजिटल प्लाटफर्म जुम मार्फत बैंकले सातौँ विशेष साधारण सभा संचालन गरेको हो । 

सञ्चालक समितिको तर्फबाट अध्यक्ष भण्डारीले प्रस्तुत गरेको सिर्जना फाइनान्सलाई प्राप्ति (एक्विजिशन) गर्नका लागि गरेको  विशेष प्रस्ताव सर्वसम्मत रुपमा पारित भएको छ । यस विशेष साधारण सभाले सिर्जना र सिटिजन्स बैंकबीच भएका प्रारम्भिक सहमति तथा अन्तिम सम्झौतापत्रहरुको अनुमोदन गरेको छ । सिर्जना फाइनान्स लिमिटेडको १०० कित्ता शेयरलाई सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ९५ कित्ता शेयर (१ः०.९५) दिने गरी शेयर मूल्य अनुपात(शेयर स्वाप रेसियो) कायम गरिएको छ । 

Advertisement

नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजत प्राप्त, बिराटनगरमा प्रधान कार्यालय रहेको सिर्जना फाइनान्सको पनि २०७७ जेठ २७ गते सम्पन्न विशेष साधारण सभाले समेत सिर्जनालाई  प्राप्तिका लागि स्वीकृति प्रदान गरिसकेको छ । दुबै बैंक तथा फाइनान्सको विशेष साधारण सभाले स्वीकृति दिएसँगै सिटिजन्सलाई सिर्जना प्राप्ति गर्नका लागि बाटो खुलेको हो ।  

यसै आव भित्र सिर्जनालाई प्राप्ति गरी संयुक्त कारोबार प्रारम्भ गर्ने गरी तयारीहरु भइरहेको सिटिजन्सका अध्यक्ष भण्डारीले जानकारी दिंदै डिजिटल प्लाटफर्ममा उल्लेखनीय सहभागिताका लागी शेयरधनीहरुलाई बैंक संचालक समिति सम्पूर्ण सदस्यहरुको तर्फबाट आभार प्रकट गरे । यसका साथसाथै प्राप्ति पश्चात बैंकको  वित्तीय, मानवश्रोत, प्राविधिक एवं अन्य क्षमता अभिवृिद्ध हुने कुरा व्यक्त गरे । 

जेठ २६ गते सम्मको तथ्यांकको आधारमा सिटिजन्सले सिर्जनालाई समेत प्राप्ति गरेपछि सर्वसाधारणबाट उठाएको निक्षेप करिव १ खर्ब ३८ अर्ब रुपियाँँ हुनेछ भने सर्वसाधारणलाई  दिएको ऋण लगानी करिव १ खर्ब २२ अर्ब रुपियाँ हुनेछ । प्राप्ति पश्चात बैंकको कूल शाखा १८९ हुनेछ । 

हाल यस बैंकको प्रदेश नं १ मा १३ वटा शाखा रहेकोमा सिर्जनाको प्राप्ति पश्चात् उक्त प्रदेशमा बैंकको जम्मा २७ वटा शाखाहरु र प्रदेश नं २ मा २० वटा शाखाहरु रहेकोमा प्राप्ति पश्चात् उक्त प्रदेशमा २७ वटा शाखाहरु हुनेछन् । सहमति अनुसार, सिर्जनाका शेयरधनीले १०० कित्ता शेयर बराबर सिटिजन्सको ९५ कित्ता शेयर पाउनेछन् । सिटिजन्सको हालको चुक्ता पूँजी ११ अर्ब ६६ करोड रुपैयाँ रहेकोमा प्राप्ति पछिको चुक्ता पूँजी १२ अर्ब ५८ करोड रुपियाँ हुनेछ ।  

बैंकको संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक प्रवलजंग पाण्डेको नेतृत्वमा बैंकले सहयोगी विकास बैंक, तिनाउ मिसन डेभलपमेण्ट बैंक र सिर्जना फाइनान्सको प्राप्ति अगाडि बढाएको हो । बैंकले सातवटै प्रदेशमा आफ्नो दह्रो उपस्थिति बनाउँदै लगेको छ । यस प्राप्ति पछि बैंकको ग्राहक सङ्ख्या करिव १२ लाख पुग्नेछ । 

प्राप्ति पश्चात बैंकको पहुँच बढ्न गई प्रतिस्पर्धात्मक क्षमताको अभिबृद्धि हुने, बैंकको वित्तीय, मानव–संशाधनका साथै प्राविधिक एवं अन्य क्षमताको अभिवृद्धि भई ग्राहक वर्गलाई आधुनिक, गुणस्तरीय तथा भरपर्दो बैंकिङ्ग सुविधा प्रदान गर्न सहज हुने र देशको बैंकिङ्ग तथा वित्तीय प्रणालीलाई सुशासित, सुरक्षित, स्वस्थ, कुशल तथा सक्षम बनाई वित्तीय क्षेत्रको स्थायित्व कायम गर्न मद्दत पुग्ने विश्वास बैंकले लिएको छ ।
 

Advertisement

Advertisement