सूर्या लाइफको स्तर उकास्न मेहनत गर्छु, अरूसँग तुलना हुने र उछिन्ने होडमा लाग्दिन्ः खड्का

Advertisement

पवनकुमार खड्का सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत सीईओ हुन् । उनी बीमा क्षेत्रमा आवद्ध भएको सात वर्ष भइसकेको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा बजार व्यवस्थापन प्रमुखबाट बीमा क्षेत्रमा प्रवेश गरेका खड्का सूर्या लाइफको व्यवस्थापनको नेतृत्व गर्न सफल भएका छन् । उनीसँग विशाल सिमेन्टको सीईओका रूपमा समेत एक वर्ष काम गरेको अनुभव छ । सूर्या लाइफलाई अरू बीमा कम्पनीसँग दाँज्ने र उछिन्ने भन्दा पनि कम्पनीको स्तर उकास्न आफ्नो भूमिका रहने खड्काको भनाई छ । प्रस्तुत छ उनीसँगको कुराकानीको सारः

सेवामूलक व्यवसाय बीमा र उत्पादनमूलक व्यवसायमा काम गर्दाका भिन्नता
मैले विभिन्न कम्पनीका गर्ने अवसर पाएको छु । विगतमा हाइड्रो कन्सल्टेन्टको रूपमा पनि मैले काम गरेको थिए । त्यस्तै, शिक्षा क्षेत्रमा पनि मैले लामो समय बिताएको छु । त्यता तिरको मलाई तीन–चार वर्षको अनुभव छ ।

Advertisement

अन्य कम्पनीमा काम गरेपछि मात्रै मैले बीमा क्षेत्र रोजेको हो । अन्य क्षेत्र र बीमा क्षेत्रमा हेर्दा बीमाका केही फरक पाटोहरू पनि मैले देख्ने मौका पाएँ । बीमा भनेको अल्ली बढि नतिजामूखीमा केन्द्रित हुने रहेछ ।

हरेक क्षेत्रका कम्पनीसँग आर्थिक गतिविधि जोडिएर आउँछन् । तर बीमा क्षेत्रमा भने नेटवर्थ लक्षित कम्पनीको रूपमा जीवन बीमा कम्पनीलाई लिन सक्छौं  । नेवटर्थ बढेसँगै जोखिम पनि बढ्दै जाने हो । बीमा त गाँउ–गाउँसम्म जोडिएको हुन्छ । एउटा हिसाबले भन्दा यहाँ पूँजीको स्रोत जम्मा गर्नुपर्छ । त्यसलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्नुपर्छ । र, यस क्षेत्रका सरोकारवालाई सन्तुष्ट बनाउँदै पनि जानुपर्छ ।

बीमा क्षेत्रमा आफ्नो पूँजी लगानी गर्ने लगानीकर्ताहरूलाई पनि सन्तुष्ट बनाउँदै पनि अघि बढ्नुपर्छ । सोही कारण बीमा क्षेत्र खर्च व्यवस्थापनको पक्षबाट हेर्दा अन्य कम्पनीभन्दा केही फरक छ ।     

सेवा र उत्पादनमूलक व्यवसायको समानता 
अन्य कम्पनीमा पनि ग्राहकलाई सन्तुष्ट नबनाई व्यसाय अघि बढाउन सकिदैन । त्यस्तै, बीमा क्षेत्रमा पनि बीमितको सन्तुष्टीलाई कम्पनीले ध्यान दिनैपर्छ ।

प्रतिस्पर्धाको हिसाबमा बीमा
प्रतिस्पर्धाको हिसाबले हेर्दा अन्य कम्पनीमा पनि प्रतिस्पर्धा रहेको छ भने बीमा क्षेत्रमा पनि प्रतिस्पर्धा चलायमानै छ ।

पूँजीको पाटोमा बीमा
पूँजीको पाटोबाट हेर्दा अन्य कम्पनीमा धेरै जसो पूँजीको अभाव हुनेगर्छ । तर बीमा क्षेत्रलाई पूँजीको सन्दर्भमा हेर्दा यहाँ केही फरक छ । किनभने बीमा क्षेत्रमा चाहीं पहिले पूँजी जुटाएर अनि मात्र व्यवसायको सुरूवात हुन्छ । बीमाको आफैमा पैसा जुटने, जम्मा हुने क्षेत्र पनि हो । बीमा क्षेत्रमा प्रतिफललाई सकेसम्म कसरी बढुवा गर्ने ? भन्ने विषयमा धेरै ध्यान दिनुपर्छ । त्यस्तै, यहाँ जसले विश्वास गरेर पैसा हाल्छ, उसलाई समेत खुशी बनाउने कुरा मूलभुल रूपमा आउँछ ।

तर उत्पादनमूलक क्षेत्रबाट अब सेवामूलक क्षेत्रमा आएकाले मैले सेवालाई नै बढि ध्यान दिनुपर्छ जस्तो लागेको छ । आर्थिक क्षेत्रको पाटोबाट हेर्दा अन्य व्यवसाय गर्दा पनि केही चुनौतिहरू हुन्छन् । अन्य व्यवसायीक क्षेत्रमा पैसा जुटाउन त्यति सहज हुँदैन । सोहीकारण त्यता पैसाकै लागि पनि धेरैवटा व्यवसाय सम्हाल्नुपर्ने हुन्छ । उत्पादनमूलक व्यवसायमा उत्पादनकै आधारमा नाफा घाटाको निर्धारण हुनेगर्छ । तर बीमा क्षेत्रमा पहिले नै पैसा जम्मा गरिन्छ र सोही पैसालाई आधार बनाएर व्यवस्थापन गर्नुपर्ने हुन्छ । यसरी नै बीमा व्यवसाय चल्छ । चलेको छ ।

दावी भुक्तानी गर्दा, बिमांक लिने बेला हुँदा सोहीअनुसार कम्पनीले अभिकर्ता कर्मचारीको परिचालन गर्नुपर्ने र कम्पनीको नेटवर्थ पनि सोही भुक्तानी व्यवस्थापनमा लगाउने कुरा बीमाको विशेषताभित्र पर्छ जुन विशेषता अन्य उत्पादनमूलक क्षेत्रमा हुँदैन ।

बजार हिस्सा बलियो बनाउने
अहिले बीमा बजारमा १९ वटा कम्पनीहरू छन् । स्थापनाको आधारमा हेर्ने हो भने तीन पुस्तामा कम्पनीहरू छुट्टिन्छन् । हामी दोस्रो पुस्तामा पर्छौं । पछिल्लो समय बीमा समितिले पनि कम्पनीहरूलाई आवश्यक निर्देशनको सवालमा सहजीकरण गर्दै गएको छ । यस्तो अवस्थामा सबै कम्पनीको पहुँच बढ्ने क्रममा नै छ ।

यसको मतलब अहिले सबै बीमा कम्पनीहरूको लागि व्यवसाय गर्ने ठाउँ चाहीं प्रशस्त छन् । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीकै कुरा गर्दा केही समयअघि हाम्रो बजार हिस्सा दुई प्रतिशतमा सीमित थियो । तर अहिले हाम्रो बजार हिस्सा करिब पाँच प्रतिशत पुगिसेकेको छ । करिब छ महिनाको अवधिमा सूर्या लाइफको बजार हिस्सामा सुधार भएको अवस्था छ । 

जीवन बीमामा चुनौतीः लगानीको दायरा अल्ली साँघुरो
अहिले हामीले हेर्दा बजारमा जीवन बीमा भनेको सुरक्षणको लागि गरिने व्यवसाय हो । यसमा अन्य क्षेत्रमा जस्तै लगानी गर्दा, यहाँ सुरक्षणसँगसँगै पोर्टफोलियो व्यवस्थापन पनि हुन्छ । त्यस्तै, यहाँ बचत पनि हुन्छ । सोहीकारण जीवन बीमा गर्न जरुरी छ । वर्तमान समयमा अर्थतन्त्रको अवस्था हेरेर जीवन बीमाको दायरा केही फराकिलो बनाउन आवश्यक छ । बीमा हुने गरेका पोलिसि सरेण्डर रोक्न पनि त्यस्ता व्यवस्था उपयोगी हुने मेरो अनुमान छ ।

बीमा पोलिसि सरेण्डर हुँदा त्यसको असर कम्पनीलाई मात्र नभई बीमितलाई समेत पर्छ । र, यो कुरा भनेको एउटा कम्पनीको हकमा मात्र नभई सबै कम्पनीमा लागू हुने कुरा हो । किनभने सबैले गर्ने भनेको बीमा व्यवसाय नै हो र सबैले यही बजारमा नै व्यवसाय गर्ने हो । त्यसैले अब बीमा सरेण्डर रोक्ने किसिमले काम गर्नुपर्छ । देशको अर्थतन्त्र जुन हिसाबले अघि बढ्छ हामी सोही अनुसार बीमा बजारका रणनीति पनि व्यवस्थापन गर्दै जानुपर्छ ।

जसले मेहनत गर्छ, बजार उसैको हुन्छ । सोही कारण कुनै अरू कम्पनीसँग दाँजेर यो भन्दा ठूलो गर्छुभन्दा पनि, यही कम्पनीको स्तर उकास्नलाई मेहनत गर्नेछु । मैले एउटा भिजन राखेर काम गरेको छु । अहिलेसम्म राम्रै भएको छ । अरु कम्पनीको अवस्था हेर्नेभन्दा पनि हामी हाम्रो भिजन अनुसार काम गर्छौं । सोही भिजन अनुसार काम गर्दा हामीले सूर्या लाइफलाई एक तह माथि चाहीं पक्कै उकास्न सफल हुने छौं । एउटा नेतृत्व तहमा बसेको हिसाबले आफ्ना जिम्मेवारी पूरा गर्न म आफ्नो प्रस्तुती दिनेछु ।

बीमितलाई सन्देश
मेरो पहिलो प्राथमिकता भनेको बीमितलाई दिने सेवाको गुणस्तर वृद्धि गर्नुपर्छ भन्ने छ । सोही योजनाअनुसार बीमा कम्पनी र बीमितको सम्बन्धलाई नजिक बनाउने प्रयाशमा म लाग्नेछु । बीमित र कम्पनीको नाता भनेको एउटै परिवारको नाता जस्तै हो । कम्पनीले राम्रो प्रतिफल पाउँदा उहाँहरूलाई हामी छुट्टाउँदैनौं । बीमितलाई हामीले प्राथमिकतामा राख्छौं । मेरो योजनामा सो कुरा समेटिएको छ ।

हामी समय सापेक्ष नयाँ प्रोडक्ट ल्याउने छौं । प्रोडक्ट ल्याउने भनेको बीमितकै हकहितका लागि हो । सोही कारण जीवन बीमा गराईसक्नु भएका बीमित र बाँकी रहेका अन्य नागरिकहरूलाई पनि हामीले यो सेवामा समेटने प्रयास गर्नेछौं ।

Advertisement

Advertisement