ओली सरकारका नयाँ मन्त्रीले लिए सपथ, को कस्ता ?

Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी ओली नेतृत्वको मन्त्रिमण्डलमा थपिएका आठ मन्त्री र राज्यमन्त्रीले सपथ लिएका छन् । राष्ट्रपति कार्यालय शितलनिवासमा उनीहरूले सपथ ग्रहण गरेका हुन् । 

ओलीले आफ्नो पार्टी र जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर समूहको तर्फबाट थपिएका मन्त्रीहरूलाई बिहीबार नियुक्ति गरिएको हो । सपथ लिनेहरूमा गृहमन्त्री खगराज अधिकारी, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री राजकिशोर यादव, सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापा, कृषि विकासमन्त्री ज्वालाकुमारी साह, वन तथा भूसंरक्षणमन्त्री नारदमुनी राना, सामान्य प्रशासनमन्त्री गणेश पहाडी, प्रधानमन्त्री कार्यालयका मन्त्री मोहन बानिया, वन तथा भूसंरक्षण राज्यमन्त्री आशाकुमारी विक छन् ।

Advertisement

गृहमन्त्री अधिकारी कास्कीका हुन् । यादव जसपाका नेता हुन् । उनी उपेन्द्र यादव खेमामा जान ठिक्क परेकोमा मन्त्री दिएर रोकिएको हो । यससँगै जसपाले ९ मन्त्री र २ राज्यमन्त्री पाएको छ । 

सञ्चारमन्त्री नैनकला थापा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलकी पत्नी हुन् । बादललाई खुशी पार्न उनलाई मन्त्री बनाइएको हो । यसअघि उनी राष्ट्रिय महिला आयोगको अध्यक्षसमेत भएकी थिइन् । 

ज्वालाकुमारी साह माओवादीबाट एमालेमा आएकी हुन् । प्रभु साहनिकट उनलाई मन्त्री बनाएर ओलीले पूर्वमाओवादीको प्रदेश २ को समूहको साथ कायमै राख्न खोजेका छन् । वनमन्त्री बनाइएका राना कैलालीका हुन् । उनले गएको चुनावमा काँग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणालाई पराजित गर्ने नेता हुन् । 

सिन्धुलीका गणेश पहाडी माधव नेपाल समूह छाडेर आएका नेता हुन् । खेमा परिवर्तन गरेवापत उनलाई उपहारस्वरुप मन्त्री दिइएको हो । उनलाई मन्त्री बनाउन योगेश भट्टराईले पनि सिफारिस गरेको बताइन्छ । 

कर्णालीका मोहन बानिया प्रधानमन्त्री ओलीका निकै विश्वासपात्र व्यक्तिका रुपमा चिनिन्छन् । आशाकुमारी विक बझाङकी हुन् । दलित समुदायलाई देखाउन उनलाई राज्यमन्त्रीमा थमौती गरेको देखिन्छ । 

Advertisement

Advertisement