शेयर बजारमा करेक्शनः कारोबार रकम भने उत्साहजनक, विकास बैंक समूहमा पहिरो

Advertisement

काठमाडौँ । लगातार बढिरहेको शेयर बजारमा आज झिनो करेक्शन देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) का अनुसार आज ३.७२ अंकले घटेको हो । ०.१२ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक ३०२२.१० अंकमा झरेको छ ।

साताको पहिलो दिन आइतबार ३८.३२ अंक र दोश्रो दिन सोमबार ४२.७२ अंकले बढेको बजारमा आज करेक्शन देखिएको हो । हिजो हालसम्मकै उच्च बिन्दु ३०२५.८२ अंकमा पुगेको नेप्से परिसूचक आजको करेक्शनसँगै तल झरेको हो । 

Advertisement

आज २२६ कम्पनीका ३ करोड ९ लाख ४८ हजार ८ सय ५३ कित्ता शेयर किनबेच हुँदा १६ अर्ब ५२ करोड ८७ लाख ४९ हजार ७ सय ३९ रुपियाँ बराबरको कारोबार भएको हो । साताको पहिलो दिन आइतबार हालसम्मकै उच्च १९ अर्ब ५५ करोड १ लाख ६६ हजार ६ सय ३६ रुपियाँ र हिजो सोमबार १८ अर्ब ८८ करोड ४० लाख ३१ हजार ५ सय १९ रुपियाँ बराबरको कारोबार भएको थियो । 

बजारमा करेक्शन आएको दिन आज होटल समूह ५८.२५, उत्पादनमूलक समूह ७२.९२, अन्य समूह ९०.३६, म्युचुअल फण्ड ०.०५ र लगानी समूह २.२९ अंकले बढेको छ भने बाँकी समूह राताम्मे भए । सबैभन्दा बढी विकास बैंक समूह २२२.८९ अंकले घटेको छ । 

नेप्सेका अनुसार आज विभिन्न ३ कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ । सीईडीबी हाइड्रो ९.८८ प्रतिशत, खानीखोला हाइड्रो ९.८२ प्रतिशत र यूनियन हाइड्रोको शेयर मूल्य ९.७८ प्रतिशतले बढेको हो । आज सबैभन्दा बढी छ्याङ्दी हाइड्रोका लगानीकर्ताले ७.६६ प्रतिशतले घाटा व्यहोरेका छन् । 

नेपाल पुनर्बीमा कम्पनीको उच्च कारोबार भएको छ । पुनर्बीमा कम्पनीको ७६ करोड ३० लाख ९७ हजार २ सय २१ रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ । 
 

Advertisement

Advertisement