स्वास्थ्यमन्त्रीसँग महासंघको आग्रह- आर्थिक क्षेत्रलाई खोपमा प्राथमिकता दिने कि ?

Advertisement

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघले अर्थतन्त्रसँग जोगिएको वर्गलाई कोरोनाविरुद्धको खोपमा प्रथमिकता दिन स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङलाई आग्रह गरेको छ । 

महासंघको टोलीले मंगलबार मन्त्री तामाङलाई भेटेर लिखित र मौखिमरुपमा यस्तो आग्रह गरेको हो । खोपमा उद्योगी व्यवसायीलाई उपेक्षा गरेको आवाज उठेपछि महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालसहितको टोली तामाङलाई भेट्न गएको थियो । 

Advertisement

महासंघले अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएका उद्यमी व्यवसायी, श्रमिक, कामदार तथा कर्मचारीलाई पहिलो प्राथमिकतामा राखेर कोभिड १९ विरुद्धको खोप उपलब्ध गराउन माग गर्यो । 

समग्र अर्थतन्त्रलाई चलायमान बनाउने निजी क्षेत्रका उद्यमी व्यवसायीले निषेधाज्ञा र बन्दाबन्दीका समयमा अग्रभागमा रहेर उपभोग्य वस्तुहरूको निर्वाध उत्पादन र वितरणका लागि काम गरिरहेकाले यो क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने महासंघका पदाधिकारीको भनाई थियो । 

जीर्ण भएको अर्थतन्त्रको चक्का चलाउन, अर्थतन्त्रलाई लयमा फर्काउन र सरकारका आर्थिक लक्ष्यलाई पुरागर्न समेत यो वर्गलाई खोपमा पहिलो प्राथमिकतामा राख्नुपर्नेमा अध्यक्ष गोल्छाले बताए । महासंघका सदस्य जिल्ला तथा नगर उद्योग वाणिज्य संघ, वस्तुगत र द्विर्राष्ट्रिय उद्योग वाणिज्य संघ र एसोसिएट अन्तरगतका सबैलाई अबको प्राथमिकतामा खोप दिने व्यवस्था मिलाउन आग्रह गरिएको छ । 

कोभिड १९ को महामारी र त्यसको नियन्त्रणका लागि लगाइएको निषेधाज्ञा र वन्दावन्दीका समयमा पनि उद्यमी व्यवसायीले निर्वाधरुपमा उत्पादन र आपूर्ति व्यवस्थापनमा काम गरेका छन् र संकटको घडिमा निजी क्षेत्रको संघीय प्रतिनिधिमूलक संस्था महासंघ र यसको सिंगो सञ्जाल नै आपूर्ति व्यवस्थापन, महामारी नियन्त्रण, स्वास्थ्य पूर्वाधार निर्माण सहित राहत सेवा प्रदान गर्न अहोरात्र खटिरहेको र आगामी दिनमा पनि क्रियाशील रहने महासंघको भनाई छ । 

मन्त्री तामाङले अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएका उद्यमी व्यवसायी र यस क्षेत्रमा कार्यरत सम्पूर्ण कामदार कर्मचारीहरूलाई पहिलो प्राथमिकतामा राखेर कोभिड विरुद्धको खोप उपलव्ध गराउने बताए । 


कोभिडले समग्र अर्थतन्त्र नै जर्जर बनाएकाले अर्थतन्त्रलाई तत्काल तङग्रने वातावरण बनाउन यस क्षेत्रमा जोडिएका सबैलाई खोप दिई काममा फर्काउन जरूरी भएको कुरालाई सरकारले मनन गरिसकेकाले उद्योग व्यवसायसँग प्रत्यक्ष जोडिएको जनशक्तिलाई खोप लगाउन आफूले पहिलो प्राथमिकता दिएर जाने उनले बताए ।

Advertisement

Advertisement