बजारमा नयाँ बीमा कम्पनीले लाइसेन्स पाउन लागेको हल्ला, समिति भने मौन

Advertisement

काठमाडौं । अहिले बीमा बजारमा नयाँ बीमा कम्पनी थपिने हल्ला चलेको छ । तर यस्ता कम्पनीलाई लाइसेन्स दिने निकाय बीमा समिति भने यस विषयमा मौन देखिन्छ । समितिका अधिकारीहरू यस विषयमा बोल्न खोज्दैनन् । 

नयाँ बीमा कम्पनीलाई लाइसेन्स दिन लागिएको हो ? भनेर कर्पोरेट नेपालले सोध्दा समितिका प्रवक्ता राजुरमण पौडेल उत्तर दिन मानेनन् । यद्यपि उनले नयाँ कम्पनीलाई लाइसेन्स दिन लागिएको कुरा पनि अस्वीकार गरेनन् । 

Advertisement

स्याल कराउनु र कुखुरा हराउनु एकै पटक भए जस्तै बजार हल्ला चलिरहेको बेला बीमा समितिको मौनताले भित्रभित्रै नयाँ कम्पनीलाई लाइसेन्स दिने तयारी भइरहेको त छैन् ? भन्ने आशंका जन्माएको छ । बीमा क्षेत्रका कतिपय जानकारहरूले समिति नयाँ कम्पनीलाई लाइसेन्स दिने तयारीमा रहेको कुरा सत्य भएको बताउँछन् । 

समितिले केही समयअघि गुपचुप ढंगले नयाँ पुनर्बीमा कम्पनी हिमालयनलाई लाइसेन्स दिने निर्णय भएको थियो । उक्त कम्पनीलाई लाइसेन्स दिँदा समितिले अन्य आवेदकलाई सुकँको समेत नदिएको आरोप खेपिरेहको छ । यही तथ्यलाई हेर्ने हो भने भोलि नयाँ जीवन र निर्जीवन बीमा कम्पनीले पनि लाइसेन्स नपाउलान भन्न सकिन्न ।

यसअघि एकैसाथ नेपालमा १० वटा जीवन बीमा कम्पनी र तीन वटा निर्जीवन बीमा कम्पनी भित्रिएका थिए । अहिले जीवन बीमा कम्पनीको संख्या १९ वटा निर्जीवन बीमा कम्पनीको संख्या २० वटा र पुनर्बीमा कम्पनीको संख्या दुई वटा पुगिसेको छ । यसरी नेपालमा कुल इन्स्योरेन्स कम्पनीको संख्या ४१ रहेको छ ।

बीमा बजारमा संख्यात्मक वृद्धिभन्दा पनि गुणात्मक वृद्धि गर्नुपर्ने यस क्षेत्रका जानकारहरू बताउँछन् । समितिमा नयाँ अध्यक्षको प्रवेश कम्पनीको गुणात्मक वृद्धिका लागि हो कि ? आएर भटाभट लाइसेन्स बाड्नका लागि हो ? भन्ने प्रश्न समितिका पूर्वअध्यक्षको पालादेखि उठ्ने गरेको छ । 

बीमा समितिले आफै मनलाग्दी ढंगले लाइसेन्स बाँड्ने र फेरि तुरून्तै उनीहरूलाई मर्जरमा जाउ भन्ने परिस्थिति सिर्जना गर्न लागेको सरकारी बीमा कम्पनीका अधिकारीहरूको आशंका छ । 

समितिका निर्देशकहरूले नयाँ बीमा कम्पनी आउने छलफल आफूले समेत सुनेको बताएका छन् । उनीहरूले नयाँ बीमा कम्पनी थपिने कुरामा बीमा समितिको तर्फबाट कुनै आधिकारीक जानकारी भने नपाएको जनाएका छन् ।

किन होला बीमा समिति लाइसेन्सको विषयमा मौन

बीमा समितिमा लामो समय काम गरेका एक अधिकारीले भने, ‘नयाँ बीमा कम्पनी आउने कुरा हामीले अहिले नै थाहा पाउँदैनौ । बीमा समितिले लाइसेन्स ल्याउने अन्तिम समयमा सार्वजनिक गर्नुअघि हामी कहाँ आईपुग्ने हो । अहिले त्यस्तो पूर्वजानकारी आईसेकेको छैन ।’ उनले तत्कालका लागि बीमा कम्पनीको संख्या नेपाली जनसंख्या सुहाउँदो भएकाले पनि नयाँ बीमा कम्पनी ल्याईहाल्नुपर्ने धेरै जरूरी नरहेको बताए ।

अहिले बीमा समितिबाट आधिकारीक निर्णय नगरेकाले चर्चा गर्दैमा बीमा थपिनहाल्ने समितिका अधिकारीहरूले बताएका छन् ।  तर बीमा क्षेत्रका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूले भने लुकेर र थाहा पत्तो नदिईभन्दा पनि अध्ययन अनुसन्धान गरेर बीमा क्षेत्रका जानकारहरूको सल्लाहअनुसार कम्पनी ल्याउनु पर्नेमा जोड दिएका छन् । 

Advertisement

Advertisement