बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिन लागेका छौंः प्रवक्ता, धितोपत्र बोर्ड

Advertisement

काठमाडौं । नेपाल धितोपत्र बोर्डका प्रवक्ता निरज गिरिले बैंकका सहायक कम्पनीलाई ब्रोकर लाईसेन्स दिने तयारी भइरहेको खुलासा गरेका छन् । कर्पोरेट नेपालसँगको कुराकानीमा उनले यस विषयमा छलफल भइरहेको जानकारी दिँदै चाँडै बैंकका सहायक कम्पनीले यस्तो लाइसेन्स पाउने संकेत गरेका हुन् ।  

गिरिले अहिले सेयर बजारमा ब्रोकरहरुको ज्यादती बढेको कारण बैंकका सहायक कम्पनीलाई ब्रोकर लाईसेन्स दिने तयारी गरिएको बताए । उनले भने, ‘अन्तर्राष्ट्रिय सेयर बजारको अध्ययन गर्ने हो भने अहिले अधिकांश देशमा बैंकको सहायक कम्पनीले ब्रोकरको काम गरिरहेका छन् । नेपालमा पनि यो उपयुक्त हुने देखिन्छ ।’

Advertisement

नेपालको सेयर बजारमा ब्रोकरको गलत प्रवृत्तिका कारण गुनासो धेरै आउने गरेको बताउँदै उनले बोर्डमा दैनिक जसो ब्रोकरका ज्यादतीका केस आइरहेको जानकारी दिए । यसको कारण संस्थागत कम्पनीलाई ब्रोकर लाईसेन्स दिएर समस्या  समाधान गर्न लागिएको गिरिको भनाई छ । 

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)ले पनि केही दिन अगाडि धितोपत्र बोर्डलाई बैंकको सहायक कम्पनीले ब्रोकर लाईसेन्स पाउँछन् कि पाउँदैनन् ? भनेर प्रश्न राखेको र त्यस क्रममा आफूहरूले सकारात्मक जवाफ दिइसकेको जानकारी उनले दिए । 

त्यस्तै, नेप्सेका महाप्रवन्धक चन्द्रसिंह साउदले बैंकको सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिने विषयमा सकारात्मक कुरा भइरहेको जानकारी दिए । उनले संसदको अर्थ समीतिले दिएको निर्देशन पालना गर्ने विषयमा तपाईंहरूको के धारणा ? भनेर कुरा गर्दा बोर्डले ‘हामी निर्देशन पालना गर्न तयारी छौं’ भन्ने जवाफ दिएको बताए । बोर्डलाई केही समय अगाडि नेपाल बैंकर्स एशोसियशनले पनि बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिन पत्राचार गरेको थियो । तर, बोर्डबाट कुनै प्रकारको जवाफ पनि नआएको र निर्णय पनि नभएको एशोसियशनका अध्यक्ष तथा सानिमा बैंकका कार्यकारी अधिकृत भुवन दाहालले बताए । 

बैंकको सहायक कम्पनीलाई ब्रोकर लाईसेन्स दिने बिषयमा झण्डै तीन वर्ष अगाडिबाट कुरा चन्दै आएको छ । लगानीकर्ताका विभिन्न समूहले पनि बैंकको सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिन चर्कोरुपमा आवाज उठाउँदै आएका छन् । तर बोर्ड भने यस विषयमा मौन बस्दै आएको थियो । बोर्डका प्रवक्ता गिरिको पछिल्लो भनाईले भने लगानीकर्ता उत्साहित हुने देखिन्छ । 

सेयर बजारको पहुँच विस्तार गर्न, न्यून आयस्तरका मानिससम्मलाई सेयर बजारमा प्रवेश गराएर यस क्षेत्रको विकास गर्न बाणिज्य बैंकका सहायक कम्पनीलाई दिइने लाइसेन्सले ठूलो सहयोग पुग्ने आशा गरिएको छ । साथै, यसले हालका ब्रोकरहरूबाट लगानकर्ताहरूले पाइरहेको सास्ती न्यून गर्न र सेयर बजारलाई अझै सहज एवं पारदर्शी बनाउन सहयोग पुग्ने सेयर बजारका विश्लेषकहरूको भनाई रहँदै आएको छ । 

Advertisement

Advertisement