अभियान जनरल इन्स्योरेन्स कम्पनी खोल्ने तयारी, लाइसेन्सका लागि पहल गर्दैछौंः कार्की

Advertisement

काठमाडौं । बीमा समितिका तत्कालिन कामु कार्यकारी निर्देशक श्रीमान कार्कीले आफूहरूले अभियान जनरल इन्स्योरेन्स कम्पनीको नामबाट नयाँ निर्जीवन बीमा कम्पनी ल्याउन धेरै अघिदेखि पहल गरिरहेको तर लाइसेन्स पाउन नसकेको स्वीकार गरेका छन् । 

कर्पोरेट नेपालसँगको कुराकानीमा उनले नयाँ बीमा कम्पनीका लागि समितिका निवर्तमान अध्यक्ष चिरञ्जीवी चापागाईंकै पालामा प्रयास गरेको तर लाइसेन्स पाउने बेलामा उनको कार्यकाल सकिएको जानकारी दिँदै वर्तमान अध्यक्ष सूर्य सिलवाल आएपछि पनि लाइसेन्सका लागि पहल भइरहेको जानकारी दिए । 

Advertisement

बीमा क्षेत्रको विस्तारका लागि थप कम्पनी आवश्यक रहेको कार्कीको भनाई छ । उनले नयाँ कम्पनी थपिँदा भइरहेका कम्पनीको व्यवसायमा कुनै असर नपर्ने पनि बताए । 

कर्पोरेट नेपालको कुराकानीमा कार्कीले भने, ‘हामीले समितिका पूर्वअध्यक्षको पालामा नै निर्जीवन बीमा कम्पनी ल्याउने तयारी सुरु गरेका थियौं । तर लाइसेन्स पाउने बेलामा तत्कालिन अध्यक्ष बाहिरिने र नयाँ अध्यक्ष प्रवेश नभईसकेको अवस्था थियो । लाइसेन्सका लागि अहिले पनि हामी पहल गरिरहेका छौं ।’

उनले नयाँ कम्पनी थपिने कुरामा आफूहरु विश्वस्त रहेको बताए । अहिले बजारमा हेर्दा आफ्नोसहित अरु नयाँ बीमा कम्पनीले लाइसेन्स आउने छनक देखिएको भन्दै कार्कीले भने, ‘हामीले त पहिलेदेखि नै नयाँ बीमा कम्पनी ल्याउन तयारी गरेर बसेका हौं । निर्जीवन बीमा कम्पनीका लागि २०७६ सालमा नै सुरुवात गरेका थियौ । तर उक्त सुरुवात कोरोना महामारीका कारण रोकिन पुग्यो ।’

आफ्नो कार्यकाल सकिन लागेकाले निवर्तमान अध्यक्ष चापागाईंले नयाँ बीमा कम्पनीलाई लाइसेन्स दिन सहज नमानेको हुनसक्ने बताउँदै उनले भने, ‘कार्यकालको अन्तिममा बीमा कम्पनीलाई लाइसेन्स बाँडेर जाँदा उहाँलाई अनेकौ बात लाग्न सक्थ्यो । सोहीकारण उहाँले हामीलाई लाइसेन्स नदिनु भएको हुनसक्छ ।’

आफूहरूले नयाँ बीमा कम्पनी खोल्न चाहे पनि आफ्नो कारणले गर्दा अरु बीमा कम्पनीलाई धक्का दिन नचाहने उनले बताए । कार्कीले थपे, ‘वास्तवमा हाम्रो उद्देश्य अहिले सञ्चालनमा रहेका बीमा कम्पनीको व्यवसायमा धक्का दिने होइन’, उनले भने ।

अहिले फेरि कोरोना संक्रमण घट्दै अवस्था केही सहज जस्तो भएकोले नयाँ बीमा कम्पनी खोल्ने प्रयास भइरहेको उनले बताए । कार्की भन्छन्, ‘हामीले आफ्नो कम्पनीको प्रक्रिया अघि बढाएको कुरा सत्य हो । तर हामीले बजारमा अरु कम्पनी पनि आउँछन् भन्ने चाहीं सुनेको मात्रै हो । अहिले अध्यक्ष जो भए पनि प्रक्रिया पूरा गर्छौ । लाइसेन्स पाउँछौं । समितिसँग कुराकानी पनि भइरहेको छ’

Advertisement

Advertisement