एनआईसी एशियाको डेबिट कार्ड हराए वा बिग्रिएमा अनलाईनबाटै आवेदन दिन सकिने

Advertisement

काठमाडौँ । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई डेबिट कार्ड हराए वा बिग्रिएमा अनलाईनबाटै नयाँ कार्डको लागि आवेदन दिन सकिने सुविधा ल्याएको छ । 

यस सुविधामार्फत ग्राहकहरूले जुनसुकै स्थानबाट र जुनसुकै समयमा बैंकको आईसर्भ डिजिटल प्लेटफर्म मार्फत सहज रुपमा यो सुविधा उपभोग गर्न सक्ने छन् । समयअनुरुप परिष्कृत सेवा तथा सुविधाहरू ल्याउने क्रममा बैंकले ग्राहक महानुभावहरूलाई कोरोना भाइरसको यस असहज परिस्थितिमा बैंकसम्म पुग्न नपरोस् भन्ने हेतुले अनलाईनमार्फत यस प्रकारको सुविधा ल्याएको हो ।

Advertisement

बैंकको वेबसाइट तथा मोबाइल बैंकिङ्ग एप मार्फत आईसर्भ भित्र रहेको कार्ड सर्भमा ट्याप गरी ‘ डेबिट कार्य रिप्लेसमेन्ट’ मार्फत हराए वा बिग्रिएको कार्डको सट्टा नयाँ कार्डको लागि अनुरोध गर्न सकिने व्यवस्था बैंकले गरेको छ । यसका लागि ग्राहकले ‘डेबिट कार्ड रिप्लेसमेन्ट’ मा ट्याप गरी आफ्नो नाम, खाता नम्बर र मोबाइल नम्बर उल्लेख गर्नुपर्नेछ । 

त्यस लगत्तै आफ्नो बैंकमा दर्ता रहेको मोबाइल नम्बरमा ग्राहकले प्राप्त गरेको ओटीपी राखेर भेरिफिकेसन गर्नुपर्छ । सफलतापूर्वक भेरिफिकेसन भइसकेपछि ग्राहकले कार्ड लिन जाने शाखा छनौट गरी बैंकको नियम एवं शर्तहरूलाई स्वीकार गर्ने र क्याप्चा भरेर अगाडिको प्रक्रियामा प्रवेश गर्नुपर्छ । आवेदन सफल भएपछि बैंकले एसएमएसमार्फत खातावालालाई जानकारी गराउनेछ र कार्ड तयार भएपश्चात् बैंकले पुनः एसएमएसबाट छनौट गरेको शाखाबाट डेबिट कार्ड लिनका लागि ग्राहकलाई जानकारी गराउनेछ । 

यस अनलाईन सुविधाले ग्राहक महानुभावहरूलाई बैंकसम्म पुग्दा लाग्ने समयको बचत हुनुका साथै कोभिड–१९ महामारीको बेला भौतिक दुरी बनाइराख्नुपर्ने आजको टड्कारो आवश्यकतालाई समेत सघाउ पुग्ने विश्वास बैंकले लिएको छ । 

Advertisement

Advertisement