साठी जिल्लामा सतप्रतिशत ब्रोडव्याण्ड इन्टरनेट सेवा पुग्योः प्राधिकरण

Advertisement

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले ब्रोडव्याण्ड इन्टरनेट सेवाको जेठ मसान्तसम्मको तथ्यांक सार्वजनिक गरेको छ । तथ्यांकअनुसार ६० जिल्लामा तोकिएका स्थानमा सतप्रतिशत इन्टरनेट सेवा पुगेको दाबी गरिएको छ । 

ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी ब्रोडव्याण्ड सेवा उपलब्ध गराउने १८ वटा प्याकेजमध्ये १५ वटामार्फत ६० जिल्लामा सतप्रतिशत कार्य सम्पन्न भएको जनाइएको छ । त्यस्तै, दुई वटा प्याकेजमार्फत १० जिल्लाका तोकिएका ५० भन्दा बढि कार्य सम्पन्न भएको र उक्त स्थानमा सेवा समेत सुचारू भएको प्राधिकरणले जनाएको छ ।

Advertisement

प्राधिकरणका उपनिर्देशक सूर्या लामिछानेले कर्पोरेट नेपालसँग भने, ‘अहिले कोरोना महामारीले सबैतिर संकट पुर्याएको अवस्था छ । यस्तो बेलामा दूरसञ्चार क्षेत्रका काम सम्भव भएसम्म हामीले रोकेका छैनौं । जेठ मसान्तसम्ममा कोषमा देखिएको प्रगति विवरण हाम्रो अपेक्षाअनुसार नै आएको छ । यतिको प्रगतिलाई अहिले हामीले राम्रै मानेका छौं ।’

त्यस्तै, एउटा प्याकेजमार्फत चार जिल्लामा तोकिएबमोजिमका स्थानहरूमा नेटवर्क तथा कनेक्टिभिटि जडानका लागि सेवा प्रदायक छनोट गरिएको थियो । उक्त छनोट भएका सेवा प्रदायमार्फत काम भईरहेको प्राधिकरणले जनाएको हो ।

सम्पन्न भएका परियोजनाको अवस्था 
सम्पन्न भएका परियोजनामध्ये हालसम्म छ वटाको निरीक्षण तथा भेरिफिकेसन सम्पन्न भईसकेको छ । एउटा परियोजनाको प्राधिकरणबाट नियुक्त परामर्शदाताहरूबाट पहिलो चरण अन्तर्गतको निरीक्षण तथा प्रमाणीकरण भईसकेको छ । तीनवटा परियोजनाहरूको दोस्रो चरण अन्तर्गतको निरीक्षण तथा प्रमाणीकरणको कार्य भईरहेको छ ।


त्यस्तै, प्राधिकरणले २०७८ जेठ मसान्तसम्म उल्लेखित ब्रोडव्याण्ड परियोजनाहरूको संक्षिप्त भौतिक प्रगति विवरण सार्वजनिक गरेको छ । उक्त प्रगति विवरण अनुसार सम्झौता भएका १८ प्याकेजका साईट संख्या १५ हजार ९८२ रहेको थियो । 

त्यस्तै, इन्टरनेट जडान सम्पन्न भएको कुल संख्या १४ हजार १२८ रहेको छ । जडान गर्न बाँकी संख्या एक हजार ८५४ रहेको छ ।  त्यस्तै, इन्टरनेट जडान सम्पन्न प्रतिशत भने ८८ दशमलव ४० रहेको छ ।

ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी सञ्चालित मध्यपहाडी लोकमार्ग तथा जिल्ला सदरमुकाम जोड्ने सूचना महामार्ग निर्माण गर्ने कार्यलाई तीनवटा प्याकेजहरूमार्फत अगाडि बढाएको विवरणमा उल्लेख छ । 


 

Advertisement

Advertisement