अर्थ मन्त्रालय र महालेखाको दबाबपछि साधारण सभा गर्न बल्ल तात्यो राष्ट्रिय बीमा कम्पनी

Advertisement

काठमाडौं । अर्थ मन्त्रालय तथा महालेखा परीक्षकको कार्यालयको दबाबपछि बल्ल सरकारी सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनी साधारण सभा गर्न तातेको छ । सभा गर्न बीमा समितिले बर्षौंदेखि आग्रह गर्दा पनि कम्पनीले अटेर गर्दै आएको थियो । 

लामो समयदेखि रोकिँदै आएको साधारण सभा ‘फाष्ट ट्राक’मा गर्न सहजीकरण गर्ने आश्वासन बीमा समितिले दिएको छ । समितिका प्रवक्ता राजुरमण पौडेलका अनुसार कम्पनीको आर्थिक वर्ष २०७०–७१ को व्यालेन्स सिट केही दिनअघि स्वीकृत गरिसकेको छ र अरु आर्थिक बर्षको पनि छिटो ल्याउन सुझाव दिइएको छ । 

Advertisement

उनले कर्पोरेट नेपालसँग भनेर्, अहिले आर्थिक वर्ष २०७१–७२ र २०७२–७३ को व्यालेन्स सिट कम्पनीले हामी कहाँ पठाएको छ । हामीले स्वीकृती दिएका वर्षको बीमा कम्पनीले साधारण सभा गर्न मिल्छ । तर हाम्रो सुझाव के छ भने सबै साधारण सभा एकै पटक गर्दा कम्पनीलाई नै सहज हुन्छ ।’ 

त्यसका लागि समितिले के कस्तो सहयोग र सहजीकरण गर्नुपर्ने हो, त्यसका लागि आफूहरू तयार रहेको पौडेलले बताए । उनले अहिले भने कम्पनी बल्ल बर्षौंदेखिको हरहिसाव मिलाएर साधारणसभा गर्न अग्रसर देखिएको बताए । 

राष्ट्रिय बीमा कम्पनीले आर्थिक वर्ष २०६९–७० देखिको सबै साधारण सभा गर्न बाँकी छ । आर्थिक वर्ष २०७१–७२ सम्मको वित्तीय विवरण बीमा समितिमा पेश भएको छ । तर त्यसभन्दा पछाडिका बर्षको वित्तिय विवरण तयार गर्न अहिले दु्रत गतिमा काम भइरहेको कम्पनीका एक अधिकारीले बताए । उनले केही महिनाभित्रै बाँकी आर्थिक बर्षका सबै वित्तीय विवरण समितिमा पेश हुने बताए । 

कम्पनीलाई साधारण सभा गर्न किन समस्या ? 
राष्ट्रिय बीमा कम्पनीका अनुसार राष्ट्रिय बीमा संस्थानबाट छुट्टिँदादेखि कै केही हिसाब किताब अझैसम्म मिलान भएको छैन् । सोही हिसाबकिताबलाई देखाउँदै कम्पनीले साधारण सभालाई प्राथमिकतामा राखेको थिएन ।

अब समितिले नअल्झाई स्वीकृति दिएमा आर्थिक वर्ष २०७५–७६ सम्मको साधारण सभा आउँदो पुससम्ममा सक्ने कम्पनीको भनाई छ । पुससम्म सबै बाँकी काम सम्पन्न गर्न सकिने कम्पनीका कर्मचारीहरूको विश्वास छ । एकै पटकमा सात–आठ आर्थिक वर्षको साधारण सभा सक्ने सकिने संभावना रहेको भन्दै उनीहरूले तर समितिले पनि सहजीकरण गर्न तयार हुनुपर्ने बताए । 

कम्पनीका सूचना अधिकारी निरञ्जन आचार्यले भनेर्, हामीले आर्थिक वर्ष २०६८–६९ देखि २०७३–७४ सम्मको वित्तिय विवरण बीमा समितिमा स्वीकृतीका लागि पठाएका छौं । आर्थिक वर्ष २०६९–७० सम्मको स्वीकृत भएको छ । बाँकी पनि छिटो सकेर पठाउन कार्यरत छौं ।’

उनले आफ्ना वित्तीय विवरणहरू स्वीकृत भएर आएसँगै सञ्चालक समितिले साधारण सभाको मिति तय गर्ने बताए । बीमा संस्थानबाट छुट्टिएर राष्ट्रिय बीमा कम्पनीले निर्जीवन बीमा व्यवसायको सुरुवात गरेको करिब सात वर्ष भएको छ । त्यसअघि संस्थानमार्फत नै जीवन र निर्जीवन व्यवसाय हुँदै आएको थियो । 

वित्तीय अवस्था
आर्थिक वर्ष २०७१–७२ मा राष्ट्रिय बीमा कम्पनीको खुद नाफा २४ करोड ८७ लाख रुपियाँ रहेको थियो । त्यस्तै, आर्थिक वर्ष २०७२–७३ मा १६ करोड ३७ लाख रुपियाँ, आर्थिक वर्ष २०७३–७४ मा २३ करोड ७० लाख रुपियाँ, आर्थिक वर्ष २०७४–७५ मा ५५ करोड रुपियाँ रहेको थियो ।

त्यस्तै, कम्पनीले आर्थिक वर्ष २०७५–७६ मा ७८ करोड १३ लाख रुपियाँ र आर्थिक वर्ष २०७६–७७ मा ६३ करोड ८५ लाख रुपियाँ खुद नाफा गरेको छ । बर्षौंदेखिको साधारण सभा नगर्ने बरु कम्पनी रजिष्ट्रारको कार्यालयलाई जरीवाना तिर्न तयार हुने शैली अपनाउँदै आएको कम्पनीले अर्थ मन्त्रालय र महालेखा परीक्षकको कार्यालयबाट चर्को दबाब आएपछि हिसाव मिलान गरेर चाँडो साधारणसभा सक्न कम्पनी दौडधुपमा लागेको हो । 

Advertisement

Advertisement