शेयर बजारमा झन् ठूलो पहिरोः नेप्से ७१.०६ अंकले घट्दा ११ अर्ब ६१ करोडको कारोबार

Advertisement

काठमाडौँ । शेयर बजारमा हिजो भन्दा आज झन् ठूलो पहिरो गएको छ । साताको पहिलो दिन आइतबार ६३.२८ अंकले घटेको बजार आज पनि ७१.०६ अंकले घटेको हो । २.४५ प्रतिशतले बजार ओरालो झर्दा नेप्से परिसूचक २८३४.४० अंकमा ओर्लिएको छ । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) का अनुसार आज २२७ कम्पनीको २ करोड ३० लाख ११ हजार ८ सय २० कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ६१ करोड ९० लाख ३५ हजार ६ सय ७४ रुपियाँ बराबरको कारोबार भएको हो । बजार घट्दै गएपछि आज कारोबार रकम पनि हिजोको तुलनामा घटेको छ ।  हिजो भने ११ अर्ब ८१ करोड ९४ लाख २८ हजार २ सय ८९ रुपियाँ बराबरको शेयर किनबेच भएको थियो ।

Advertisement

आज पनि सबै समूह राताम्मे भएका छन् । सबैभन्दा बढी जीवन बीमा समूह ४५१.११ अंक र निर्जीवन बीमा समूह ४२९.६३ अंकले घटेको हो । त्यसपछि विकास बैंक समूह २१०.२१ अंकले घटेको नेप्सेले जनाएको छ ।

बजारमा पहिरो गए पनि आज नारायणी डेभलपमेन्ट बैंकको शेयर पोजेटिभ सर्किट लेभलमा कारोबार भएको छ । नारायणीका लगानीकर्ताले आज सबैभन्दा बढी ९.९७ प्रतिशतले नाफा कमाएका हुन् । नारायणीले १ः१ अनुपातमा हकप्रद निष्काशन लागि सेबोनमा अनुमतिका लागि आवेदन दिएको समाचार पछि पोजेटिभ सर्किट लागेको देखिएको छ । त्यसैगरी २ वटा कम्पनीको शेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । पोखरा फाइनान्सको ९.२६ प्रतिशत र यूनिभर्सल पावर कम्पनीको शेयर मूल्य ९.१२ प्रतिशतले घटेको हो । 

आज नेपाल पुनर्बीमा कम्पनीको उच्च कारोबार भएको छ । पुनर्बीमा कम्पनीको १ अर्ब ३० करोड ६१ लाख १५ हजार ६ सय १४ रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । सेबोनले गत असार १ गते विभिन्न ५१ वटा कम्पनी जोखिमयुक्त रहेको र विचार गरेर मात्रै लगानी गर्न सुझाव दिंदै रिपोर्ट सार्वजनिक गरेपछि लगातार बजार ओरालो झरिरहेको छ । 

Advertisement

Advertisement