दोस्रो बजारमा जोखिम बढ्दा ‘एनआईसी एशिया सेलेक्ट ३०’मा १४३ प्रतिशत प्रतिफल प्रक्षेपण

Advertisement

एनआईसी एशिया बैंकको सहायक कम्पनी एनआईसी एशिया क्यापिटल लिमिटेडले असार १० बाट ‘एनआईसी एशिया सेलेक्ट ३०’ (इन्डेक्स फण्ड) नामक सामुहिक लगानी कोष (म्युचुअल फण्ड) बिक्री खुल्ला गर्दैछ । पाँच दिनसम्म आवेदन दिन सकिने यस योजनामा सहभागीलाई उच्च प्रतिफल प्राप्त हुने कम्पनीले जानकारीसमेत दिएको छ । सञ्चालनमा आएको चार बर्षमै चौंथो सामुहिक लगानी कोषको आईपीओ जारी गर्न लागेको एनआईसी एशिया क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेन्द्र रायमाझीसँग यसै विषय गरिएको कुराकानीको सारः 

एनआईसी एशिया सेलेक्ट ३० फन्ड ल्याउँदै हुनुहुन्छ । यो कस्तो योजना हो ?
हामीले ल्याउन लागेको यो एक बन्दमुखी सामुहिक लगानी कोष हो ।  यो योजना ७ वर्षे अवधिको छ । यसको मतलब ‘एनआईसी एशिया सेलेक्ट ३०’ योजनाको इकाई बाँडफाँड भएको मितिले ७ वर्षमा योजना परिपक्व हुन्छ । यो एक अर्ब रुपियाँ बराबरको हो । हामीले प्रतिइकाई १० रुपियाँ अंकित दरको १० करोड इकाई बिक्रीमा ल्याउन लागेका छौं जसमध्ये कुल बिक्री भएको इकाई संख्याको १५ प्रतिशत वा एक करोड ५० लाख इकाई कोष प्रवद्र्धक एनआईसी एशिया बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्ने योजना रहेको छ  । अहिलेसम्म यस एनआईसी एशिया क्पापिटलले सञ्चालनमा ल्याएको दुई वटा बन्दमुखी र एक वटा खुलामुखी प्रकृतिको योजना सहित तीन वटा फण्ड सञ्चालनमा ल्याइसकेको छ । बन्दमुखी प्रकृतिको योजना अन्तर्गतका एनआईसी एशिया ग्रोथ फण्ड र एनआईसी एशिया ब्यालेन्स्ड फण्ड हुन् भने एनआईसी एशिया डाइनामिक डेफ्थ्त फण्ड खुलामुखी प्रकृतिको योजना हो । यो नयाँ सेलेक्ट फण्डसँगै बन्दमूखी प्रकृतिको योजनाको संख्या तीन पुग्नेछ ।

Advertisement

यो म्युचुअल फण्डमा कति कम्पनी सहभागी छन् ? छनोट कसरी गरिन्छ ? कस्ता–कस्ता कम्पनी पर्छन् ? 
कम्पनीले नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा सूचीकृत ३० कम्पनी सेलेक्ट गर्दैछ । हामीले यसमा पुँजीबजारमा उत्कृष्ट कारोबार गरिरहेका कम्पनी छनोट गर्नेछौं । कम्पनी छनोट गर्ने काम भइरहेको हुँदा ३० भन्दा बढि पनि हुनसक्छन् । यस्तो चाहीं प्रायः कस्तो बेलामा हुन्छ भने कहिले काहीं आईपीओमा लगानी गर्नुपर्ने हुन्छ । त्यस्तो बेलामा कम्पनीको संख्या बढ्छ । र, पनि केही समयपछि (अर्थात त्रैमासिक या अर्धवार्षिकरुपमा) घटाएर मात्र ३० कम्पनीमा नै झार्छौं ।

हामीले यो क्षेत्र त्यो क्षेत्र भनेर छनोट गरेका छैनौं । कम्पनी छनोट गर्दा कुन कुन पर्छन् ? त्यो पछि थाहा हुन्छ । छानिएकामा सबै क्षेत्रका कम्पनी पर्छन् भन्ने हुँदैन । त्यसमा जुन बढि प्रभावकारी छ, सबैभन्दा राम्रो जुन छ, त्यही क्षेत्रको कम्पनीलाई सेलेक्ट गरेर लगानी गर्छौं । समग्रमा भन्नुपर्दा हामीले खास नेप्सेको इन्डेक्सलाई नै रेप्लिकेट गर्न खोजेका छौं । त्यसैले पनि म्युचुअल फण्डको नाम इन्डेक्स फण्ड राखिएको हो ।

हामीले कम्पनीको छनोट गर्दा कुन कम्पनीको तीनदेखि पाँच वर्षसम्मको वित्तीय अवस्था कस्तो छ ? सेयर बजारमा त्यो कम्पनीको भ्यालुयसन कस्तो छ ? कुनै सेक्टरको कम्पनी छ भने त्यो सेक्टरमा त्यसको उपस्थिति कस्तो छ ? यता कम्पनीको ग्रोथ कसरी भइरेहको छ ? त्यस कम्पनीको नियमन निकायले के के गर्छन ? जस्ता कुराको विश्लेषण गरेर कम्पनीको छनोट हुन्छ ।  

लगानीकर्ताले इण्डेक्स फण्डमा नै किन लगानी गर्ने ? फन्डले लगानीकर्तालाई प्रतिफल दिने आधारहरु के–कस्तो छ ? लगानीकर्तालाई कतिसम्म प्रतिफलको दिने योजना छ ?
लगानीकर्ताले ‘एनआईसी एशिया सेलेक्ट फण्ड’ मात्र नभएर सबै सामूहिक लगानी कोषमा प्रतिफलकै लागि लगानी गर्ने हुन् । त्यसकारण यसमा पनि प्रतिफलको लागि लगानी गर्ने हो । साना तथा नयाँ लगानीकर्ता, जो धेरै लगानी गर्न सक्दैनन्, जो दीर्घकालिनरुपमा लगानी गर्न चाहान्छन्, उनीहरूको लागि पनि यो उपयुक्त हुन्छ । अहिलेको अवस्थामा दोस्रो बजारमा सिधै छिर्नको लागि उच्च जोखिम छ । जोखिम बहन गर्नसक्ने क्षमता सबै लगानीकर्तामा हुन्न् । लगानीकर्ता कसरी आफ्नो लगानी सुरक्षित गर्ने ? भन्ने सोंचमा हुन्छन् भने त्यस्ता लगानीकर्ताले यो फन्डमा लगानी गर्न सक्छन्  ।  

सामूहिक लगानी कोष उच्च जोखिम लिन नसक्ने, जोखिमलाई मूल्याङ्कन गर्न नसक्ने, बजारको विश्लेषण गर्न नसक्ने अथवा बजारलाई पर्याप्त समय दिएर उतार चढावलाई हेर्न नसक्ने, पर्याप्त ज्ञान नभएका लगानीकर्ताका लागि लगानी गर्ने उपयुक्त माध्यम हो । उनीहरुले यो फन्डमा बजारमा प्राप्त हुने उचित प्रतिफल लिनको लागि लगानी गर्नुभयो भने उपयुक्त हुन्छ । सामान्यरुपमा भन्नुपर्दा लगानीकर्ताले यो फण्डमार्फत एक हजार रुपियाँमै बेष्ट ३० वटा कम्पनीमा लगानी गर्न पाउनुहुनेछ । त्यस्तै, हामीले यसअघिका फण्डमा जस्तै यो फण्डमा लगानी गर्ने लगानीकर्तालाई पहिलो वर्षदेखि नै प्रतिफल वितरण गर्ने प्रक्षेपण गरेका छौं । समग्रमा फन्डले सात वर्षको लागि १४३ प्रतिशत प्रतिफल दिने प्रक्षेपण गरेको छ । पुँजी बजारको अवस्था हेरेर त्यो प्रक्षेपण बढ्न पनि सक्छ । पहिलो वर्षमा केही कम होला तर औसतमा वार्षिक २०.४३ प्रतिशतको दरले प्रतिफल वितरण गर्न सक्छौं भन्ने हामीले प्रक्षेपण गरेका छौं ।

एनआईसी सेलेक्ट फण्ड कस्तो रणनीति भएको फन्ड हो ?
यो एउटा इन्डेक्स फन्ड हो । यसको मूख्य रणनीति भनेको प्यासिव रणनीति रहनछ । हामीले कम्पनी छनोट गरिसेपछि त्यो कम्पनी परिवर्तन हुँदैन । कम्पनीको परिवर्तन कुन बेलामा गर्न सकिन्छ भने कम्पनीको पोजिसन ठिक भएन भने अथवा त्यसको इन्भेष्टमा केही चेन्ज आयो भने कम्पनी परिवर्तन हुने सम्भवना रहन्छ । यही हो हाम्रो फन्डको रणनीति । 

फन्डबाट उठेको रकम केमा लगानी हुन्छ ?
‘एनआईसी एशिया सेलेक्ट ३० (इन्डेक्स फण्ड)’ जारी गर्नुको उद्देश्य भनेको इकाई बिक्रीबाट उठेको रकम सामूहिक लगानी कोष नियमावलीले तोकेको विभिन्न क्षेत्रमा लगानी गर्नु हो । हामीले इकाई बिक्रीबाट उठेको वा संकलन भएको अधिकांश रकम सेयर बजारको सूचीकृत कम्पनीहरुमा लगानी गर्ने गर्दछौं ।  कूल रकममध्ये १५ प्रतिशतसम्म मुद्दती निक्षेप र ५ देखि १० प्रतिशतसम्म कल एकाउन्टमा र बाँकी ७५ देखि ८५ प्रतिशतसम्म सेयर बजारमा लगानी गर्ने योजना रहेको छ । यो फन्डको अधिकांश रकम दोस्रो बजारमा सूचीकृत कम्पनीहरूमध्ये उत्कृष्ट ३० वटा कम्पनीमा मात्र लगानी गरिन्छ । जसले गर्दा समग्र नेप्सेको ग्रोथभन्दा यस योजनाको न्याभको ग्रोथ बढि हुने हुँदा योजनाको इकाईधनीहरूलाई नेप्सेको ग्रोथभन्दा बढि रिटर्न मिल्छ ।

फण्ड सुपरीवेक्षक र व्यवस्थापक टीम कस्तो छ ?
मेरो बिचारमा हामी अब्बल र उकृष्ट लगानी व्यवस्थापन गर्ने टीमसहित यो योजना लिएर आएका छौं । योजना सक्षम बनाउन हामीले हाम्रो तर्फबाट सतप्रतिशत काम गरेका छौं । हाम्रो फण्ड सुपरीवेक्षकलगायत व्यवस्थापक टीममा जो जति हुनुहुन्छ, उहाँहरू सबै अनुभवी र दक्ष हुनुहुन्छ । कोही पुँजीबजारमा, कोही रिसर्च तथा लगानीको क्षेत्रमा, सबै आ–आफ्ना क्षेत्रमा अब्बल हुनुहुन्छ । 

अन्य म्युचुअल फण्डभन्दा यो फन्डमा के भिन्नता छ ?
म्यूचूअल फन्डको एउटा सबैभन्दा जेनेटिक ठाउँ भनेको यसको विविधिकरण हो । यस फन्डमा भएको विविधिकरण के छ भने अहिलेसम्म मार्केटमा भएका म्युचुअल फन्डमा ६० भन्दा धेरै कम्पनीहरूको लगानी रहेको छ । यसले एउटा रेट निर्धारण ती फन्डहरुले गर्छन् । तर, के हुन्छ भने त्यस्ता म्युचुअल फन्डले चाहेको जति प्रतिफल चाहीं दिन सकिरहेका हुँदैनन् । यसकारण हामीले सबैभन्दा धेरै ३० वा एक–दुई वटा कम्पनी घटबढ हुनसक्छ ताकी यसले लगानीकर्तालाई धेरैभन्दा धेरै प्रतिफल दिन सकोस् । यसरी योजना बनाएर हामीले ‘एनआईसी एशिया सेलेक्ट ३०’ ल्याएका छौं । यो फन्डले थोरै कम्पनीमार्फत धेरै प्रतिफल दिन सकोस भन्ने हाम्रो योजना छ । हाम्रो फन्डको अर्को नयाँ पाटो भनेको अहिलेसम्म नेपालको सन्दर्भमा क्पापिटल मार्केटको परिसूचक छ, यसलाई ‘रेप्टिकेट’ गर्ने खालको परिसूचक फण्ड नभएको सन्दर्भमा त्यस्तो ‘पफमेन्स’ देखाउने गरी यो फण्ड आउँदैछ । 

अन्य देशको तुलनामा नेपालमा क्पापिट मार्केटको अवस्था कस्तो देख्नुहुन्छ ? 
हाम्रो मार्केट अहिले पनि बामे सर्ने अवस्था मै छ । क्पापिटल मार्केट भनेको आफैमा एउटा अथाह क्षेत्र हो । देशको अर्थतन्त्र हेर्ने ऐना हो । बल्ल बजार केही बिस्तार भएको देखिन्छ । हाम्रो क्यापिटल मार्केटमा सेयरमा लगानी मात्र छ । यसमा धेरै नविन प्रोडक्टहरू भित्राउने काम अझै बाँकी छ । अन्तर्राष्ट्रिय बजारमा नेपाली सेयर बजारको परिचय नै भएको छैन् । प्राविधिक हिसावले पनि नेपालको सेयर बजारमा धेरै कुराहरू आउन बाँकी नै छ । केही कुराहरू बल्ल सुरु हुँदैछ भने केही कुरा अहिलेसम्म चर्चा नै सुरु भएको छैन् । हाम्रो सेयर बजार भर्खर सुरु भएको छ । यसकारण नेपालमा क्यापिटल मार्केटको भविश्य एकदमै उज्वल देख्छु ।

नेपाली सेयर बजारमा म्युचुअल फन्डहरूको सहभागिता पछिल्लो समय बढ्दो छ । तर, पब्लिक कम्पनीमा जस्तो यो क्षेत्रमा खासै लगानीकर्ताको चासो देखिन्न । किनहोला ? यस्ता कम्पनीमा लगानीकर्ताको आकर्षण बढाउन के गरिरहनु भएको छ ? 
नेपाली सेयर बजारमा म्युचुअल फन्डको सहभागिता राम्रो भए पनि आकर्षण कम हुनुको कारण भनेको लगानीकर्ताले यसको बारेमा नबुझेर पनि हुनसक्छ । हाम्रो बजारमा अहिले पनि बामे सर्ने मोडमै छ । यसकारण सबै लगानीकर्ताले बजारको बारेमा राम्रोसँग बुझ्दै जाँदा यता पनि लगानीकर्ताको सहभागिता बढ्दै जाने मेरो बिचार छ । 

Advertisement

Advertisement