सेयर बजार धरासायी हुनेगरी मौद्रिक नीतिमार्फत ‘मार्जिन लेण्डिङ’मा कडाई नगरियोस्ः लगानीकर्ता

Advertisement

काठमाडौं । आउँदो आर्थिक बर्षका लागि नेपाल राष्ट्र बैंकले मौद्रिक नीति जारी गर्ने मिति नजिकिँदै गर्दा कस्तो आउने हो ? भन्ने कुराले सेयर बजारका लगानीकर्तामा चिन्ता र चासो बढिरहेको छ । नीतिले सेयर बजार नकारात्मक असर गर्ने भन्दा पनि स्थिर र व्यवस्थित गरोस भन्ने धेरैको अपेक्षा छ । 

राष्ट्र बैंकले सेयर धितो कर्जामा गर्दै आएको सहजीकरणमा कडाई नगरोस् भन्ने लगानीकर्ताका अगुवाहरूको अपेक्षा देखिन्छ । तर राष्ट्र बैंकका अधिकारीहरू भने त्यस्तो कर्जामा कडाई हुनसक्ने संकेत गरिरहेका छन् । सेयर कर्जामा कडाई गर्न बल्ल फष्टाउन लागेको सेयर बजारमा गहिरो प्रभाव पर्ने र लगानीकर्ताको मनोबल खस्किने उनीहरू बताउँछन् । 

Advertisement

सेयर बजारलाई कस्तो मौद्रिक नीति ?
बैंकहरूको अहिलेसम्मको लगानीको ग्राफ हेर्ने हो भने कुल कर्जाको तीन प्रतिशत कर्जा सेयर बजारमा लगानी गरेको देखिन्छ । राष्ट्र बैंकले सेयर धितो कर्जा (मार्जिन लेण्डिङ)मा चार खर्ब रुपियाँसम्म लगानी गर्न पाउने छुट दिए पनि यस्तो कर्जा ९४ अर्ब रुपियाँ मात्रै लगानी भएको सेयर लगानीकर्ताका संगठनहरूको दाबी छ ।

नेपाल इन्भेष्टर फोरमका अध्यक्ष छोटेलाल रौनियार सेयर बजारमा तोकिएभन्दा थोरै मात्रै लगानी भएकाले अहिलेको विषम अवस्थामा पुँजीबजारलाई नकारात्मक असर पर्ने कुनै पनि नीति ल्याउन नहुने बताउँछन् । उनी भन्छन्, ‘अहिले बैंकहरूले प्रवाह गरेको मार्जिन लेन्डिङ अस्वाभाविक पनि छैन् । पछिल्लो १८० दिनको औषत मूल्यमा कर्जा लिँदा ५० प्रतिशत पनि पाइँदैन् । त्यसले गर्दा केन्द्रिय बैंकले अहिले नै यसलाई चलाउनु हुँदैन ।’

फोरमले राष्ट्र बैंक वा नेपाल धितोपत्र बोर्डलाई सेयर बजारमा नकारात्मक असर पर्ने कुनै पनि निर्णय नगर्न आग्रह गरेको जानकारी दिए । ‘हाम्रो माग र सुझाव भनेको पूँजी बजारको दिगो विकासमा सहयोग पुग्ने खालका मौद्रिक नीति ल्याउनुपर्छ भन्ने हो’ रौनियारले भने ।  

सेयर बजार अस्थिर बन्दै गएकाले स्थिर बनाउने खालको मौद्रिक नीतिको अपेक्षा आफूहरूले गरेको अर्का एक अगुवाले बताए । तर उनले आफ्नो नाम भने नखुलाउन आग्रह गरे । उनी भन्छन्, ‘५१ व्टा कम्पनीलाई जोखिमयुक्त सुचीमा राख्ने धितोपत्र बोर्डको निर्णयले बामे सर्दै गरेको सेयर बजारमा धक्का लागेको छ । नियामक निकायले सोच्दै नसोची निर्णय लिँदा सेयर बजारले ठूलो क्षति व्यहोर्नु परेको छ । त्यस्तो अवस्था मौद्रिक नीतिबाट नहोस् ।’ 

नेपाल पुँजीबजार संघकी अध्यक्ष राधा पोखरेलले सेयर कर्जामा कडाई गर्ने भनेर राष्ट्र बैंकले लगानीकर्तामा आतंक सिर्जना गर्ने काम गरेको बताइन् । उनले भनिन, ‘अहिले बजारमा हल्ला छ राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर कर्जामा कडाई गर्ने भनेर । यस्तो नकारात्मक हल्ला फैलाएर राष्ट्र बैंकले लगानीकर्तालाई तर्साउने खालको काम गर्न हुँदैन ।’ 

हरेक वर्ष बजेटले नसमेको सेयर बजारका कुरा राष्ट्र बैंकले समेट्ने गरेको सुनाउँदै पोखरेलले यस वर्ष पनि मौद्रिक नीतिले सेयर बजारलाई नकारात्मक बाटोतिर नलग्ने विश्वास व्यक्त गरिन् । 

Advertisement

Advertisement