अटेर गर्दै सडक पेटीमा पाटी बनाउने मेयर चिरिबाबुको विवादास्पद निर्णय (प्रमाणसहित)

Advertisement

ललितपुर । मानिस हिँड्ने सडक पेटीमा पाटी बनाउने भन्दै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले आउँदो आर्थिक बर्षका लागि ३० लाख रुपियाँ विनियोजन गरेका छन् । 

पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्य सहकारी संस्थाको कार्यालय अगाडिको सडक पेटीमा नै पाटी बनाउने भन्दै महर्जनले बार्षिक नगरविकास योजनामा सो बजेट छुट्टाएका हुन् । एउटा अमुक कार्यालयलाई दुःख दिने वा बार्गेनिङ गर्ने किसिमले उनले सरकारी जग्गामा उक्त संरचना बनाउन खोजेको देखिन्छ । 

Advertisement

लालीगुराँस सहकारीलाई चिरिबाबुले बर्षौंदेखि निशाना साँध्दै आएका थिए । अहिले मेयरमा पुगेको मौका छोपेर उनले उक्त सहकारीलाई नै बन्द गराउने रणनीति अघि सारेका छन् । सडक विभागलगायतका विभिन्न सरकारी निकायले सार्वजनिक जग्गामा कुनै पनि संरचना निर्माण नगर्न निर्देशन दिँदादिँदै चिरिबाबुले एउटा अमुक कार्यालय दुःख दिने र त्यसमा काम गर्ने दर्जनौं कर्मचारीको रोजीरोजी खोस्नेगरी पार्टी बनाउन खाजेको हुन् । 

उनले बार्षिक नगर विकास योजनामा सहकारीको नामै तोकेर ‘वडा नं. ३ पुल्चोक लालीगुराँस सहकारी भवन अगाडि अवस्थित ऐतिहासिक, धार्मिक समयफल्चा पुनर्निर्माण’ भनेर रु. ३० लाख विनियोजन गरेका छन् । जबकी उक्त ठाउँमा यसअघि त्यस्तै कुनै पाटी थिएन् । त्यस्तो पाटी भत्किएर पुनर्निर्माण गर्न लागिएको तर्कमा कुनै सत्यता देखिन्न । 

मेयर चिरिबाबुले उक्त ठाउँमा बनाउन खोजेको पाटी नयाँ निर्माण हो । पैदल यात्री हिँडने सरकारी जग्गामा उनले बिना अनुमति संरचना निर्माण गर्न लागेका हुन् । सरकारी जग्गामा कुनै पनि संरचना निर्माण गर्दा मन्त्रिपरिषदबाट स्वीकृति लिनुपर्ने भए पनि मेयर चिरिबाबुले नगर विकास योजनामा घुसाएर पाटी निर्माण गर्न खाजेका हुन् । 

अरु सबै एकातिर, चिरिबाबु अर्कोतिर
सडक विभागअन्तर्गत पर्ने पुल्चोकस्थित सडकको केन्द्र भागबाट दायाँबायाँ ११–११ मिटर भित्र कुनै पनि संरचना निर्माण गर्न नपाइने कानुनी व्यवस्था छ । चिरिबाबुले पाटी बनाउन लागेको सार्वजनिक जग्गा पूरै सडकको भएको भन्दै नापी कार्यालयले उक्त  ठाउँमा कुनै पनि निर्माणकार्य गर्न नमिल्ने ललितपुर महानगरपालिकालाई बिहीबार प्रतिवेदन नै बुझाएको छ । 

त्यस्तै, सडक विभागले लालीगुराँस सहकारी अगाडि पाटी बनाउने भनिएको जग्गासडक क्षेत्र भएकाले कुनै पनि संरचना निर्माण गरिए सार्वजनिक सडक ऐनअन्तर्गत कारवाही गरिने भनी ललितपुर महानगरपालिकालाई २०७७ पुस २४ मा पत्र पठाइसकेको छ । त्यसको चार दिनपछि २८ गते डिभिजन सडक कार्यालय ललितपुरले समयफल्चा पुनर्निर्माण समितिलाई अर्को पत्र लेखेर महानगरपालिकालाई उक्त ठाउँमा कुनै पनि निर्माणकार्य नगर्न भनिएको छ । 

स्थानीय सानुलाल महर्जनसहितले पाटी निर्माण गर्ने भनिएको पुल्चोकस्थित कित्ता नं. ३२७ क्षेत्रफल ०–१–०–१ को सरकारी जग्गा अतिक्रमण हुन लागेकाले संरक्षणको माग गर्दै निवेदन दिएपछि डिभिजन सडकको केन्द्र भागबाट ११–११ मिटरको दुरीमा पर्ने उक्त जग्गामा कुनै पनि संरचना निर्माण नगर्न र गरे कारवाही गरिने चेतावनी दिएको छ । डिभिजनले प्रहरी र प्रशासनलाई समेत पत्राचार गरी ललितपुर महानगरपालिकाको अतिक्रमण रोक्न आदेश प्राप्त भएको जानकारी दिएको छ । 

मलपोत कार्यालय ललितपुरको जग्गाधनी दर्ता श्रेस्तामा लालीगुराँस अगाडिको जग्गा सार्वजनिक भएको उल्लेख छ । ललितपुर महानगरपालिका वडा नं. ३ का वडाध्यक्ष गोपाल महर्जनले सार्वजनिक ठाउँका सम्पदा संरक्षण गर्न नसकेको बेलामा सानो ठाउँमा पाटी बनाउने कुराको अर्थ नरहेको बताए । 

२०५४ सालमा आफू वडाध्यक्ष रहेको बेलामा हाल लालीगुराँस सहकारी रहेको भवन निर्माणका लागि जग्गा पास गर्न ल्याउँदा नापी नक्सामा समयफल्चा भन्ने कुनै पनि पाटी नदेखिएपछि आफूले भवन बनाउन स्वीकृति दिएको स्मरण गर्दै त्यस बेलामा आफूले सडक विभागसँग पनि सो ठाउँमा भवन बनाउन मिल्छ कि मिल्दैन् ? सोधेको, गुठी संस्थानसँग पनि सोधेको, पुरातत्व विभागसँग पनि सोध्दा डेढ तलासम्म बनाउन दिँदा हुन्छ भनेपछि आफूले पास गरेको बताए । 

गोपाल महर्जनले पछाडिको घरलाई अवरोध गरेर पाटी नबनाउँदा पनि हुने बताउँदै मेयरले आफ्नो भैपरी खर्चबाट उक्त पाटी बनाउन रकम राखेको हुनसक्ने बताएका छन् । सो ठाउँमा पाटी बनाउन न पर्याप्त जग्गा छ न त सो ठाउँमा यसअघि कुनै महत्वपूर्ण सम्पदा रहेको ऐतिहासिक प्रमाण नै छ । 

Advertisement

Advertisement