खाडी र दिल्ली उडानमा यात्रुहरूमाथि चरम लुट, पाँच गुणासम्म बढि भाडा अशुली

Advertisement

काठमाडौं । गायक पशुपति शर्माको ‘लुट्न सके लुट’ गीत जस्तै खाडी मुलुकसहित दिल्ली उडानमा यात्रुहरूमाथि चरण लुट हुन थालेको छ । कोरोना महामारीपछि खुलेको हवाई उडानमा कतारको दोहा, साउदी अरबको दमाम र भारतको दिल्ली जाने हवाई भाडा पाँच गुणासम्म महंगिएको छ ।

काठमाडौंबाट कतार जाने नेपालीले सामान्य अवस्थामा अर्थात कोरोना महामारी न्यूनीकरण गर्न गरिएको उडान बन्द अगाडि औसतमा हवाई टिकट ४० देखि ५० हजार रुपियाँमा पाउँथे । सामान्य अवस्थामा साउदीको दमाम जान २५ देखि ३० हजारमै पाइने हवाई टिकट अहिले एक लाख ७० हजार रुपियाँसम्म पुगेको छ ।

Advertisement

पर्यटन व्यवासायी तथा एरोलिना ट्राभलका प्रवन्ध निर्देशक यमबहादुर खड्काका अनुसार कतारमा र साउदीमा होटलकै कारण हवाई भाडा महंगो भएको छ । तर, मजदुरले टिकट काट्दा हवाई भाडामा नै जोडेर टिकट लिनुपर्ने भएकोले भाडा नै महंगो देखिने गरेको छ । यस्तो भाडा सामान्य अवस्थाको तुलनामा भने अत्यधिक महंगो नै भएको उनको बुझाई छ ।

कतार जाने मजदुरले होटल र टिकट भाडा अलग्गै तिर्ने गरी व्यवस्था भएपनि मजदुरले गर्ने खर्च एक लाख ७० हजारसम्म पुग्ने छ । यस्तो महंगो टिकट पनि भनेको बेला नपाउने समस्या छ । कतारको हकमा कहिलेकाहीँ सिस्टममा टिकट देखिने गरेको छ । तर ट्राभल एजेन्सीले नै पत्तो नपाई जहाज उड्ने, टिकट नै नपाइने, पाइहाले पनि अधिक महंगो हुने गरेको छ । 

साउदीको हकमा टिकट नै नदेखिने हुँदा यो गन्तव्यमा उडान गर्ने वायुसेवा कम्पनीमै गएर टिकट लिनुपर्ने बाध्यता छ । साउदी जाने हवाई यात्रुले होटल नै एयरलान्सबाट बुक गर्नुपर्ने कारण महंगो परिरहेको उल्लेख गरिएको छ । खाडी जाने नेपालीले तिर्ने यस्तो हवाई भाडासहितको शुल्क एउटा मजदुरले कमाउने मासिक ३० हजार रुपियाँको दरले पनि औसतमा ६ देखि सात महिनाको तलब हवाई भाडा र होटल क्वारेन्टिनमै खर्च हुने अवस्था छ ।

काठमाडौं दिल्ली हवाई भाडा पाँच गुणा महंगो
काठमाडौंबाट दिल्ली जाने हवाई भाडा सामान्य अवस्थाको तुलनामा पाँच गुणासम्म महंगो परिरहेको छ । नेपाल वायुसेवा निगममा सिस्टममै टिकट नदेखाउने र एयर इन्डियाको मात्रै सातामा एउटा उडान देखिदा यात्रुको चाप बढेर पनि भाडा बढेको देखिन्छ । उक्त उडानको भाडा पनि ४२ हजार रुपियाँभन्दा माथि पुगेको छ ।

यो वायुसेवाबाट १४ दिनपछि अर्थात ३० जुलाईमा दिल्ली जाँदा ४२ हजार रुपियाँ भाडा तय भएको छ । उक्त मितिभन्दा अगाडिको एयर टिकट नै पाइँदैन् । यो गन्तव्यमा सामान्य अवस्थामा ८ देखि १० हजार रुपियाँ फालाफाल टिकट पाइन्थ्यो ।

हवाई भाडा बढि लिएको बारेमा अनौपचारिक रूपमा जानकारी आउने र हल्लाखल्ला सुन्ने गरिएको भए पनि औपचारिक रूपमा कुनै पनि गुनासो दर्ता नभएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्री बताउँछन् । 

उनका अनुसार प्राधिरकणकै महानिर्देशकको संयोजकत्वको एक टोलीले चार्टरसहित अधिक महंगो हवाई भाडा वायुसेवाले लिएको विषयमा छानविन भइरहेको छ । छानविन नझै नटुंगिएकोले अहिले नै बढि भाडा लिएको विषयमा यही नै हो भनेर भन्न नसकिने पनि क्षेत्री बताउँछन् ।

उनका अनुसार उडान तालिका कम भएको र दुबइको हकमा भने नेपालबाट जानै नपाइने भएकोले पनि एकतर्फी यात्रु मात्रै हुँदा हवाई भाडा महंगो भएको हुनसक्छ । अन्य गन्तव्यको बारेमा भने आफूलाई आधिकारिक कुनै सूचना नभएको क्षेत्री बताउँछन् ।

कालोबाजारी गर्नेलाई कारवाही हुने दाबी
बढि भाडा लिने वायुसेवा कम्पनी वा ट्राभल एजेन्सीलाई सरकारले कालोबजारी ऐनअन्तर्गत कारबाही गर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारीले दाबी गरेका छन् । उनी भन्छन्, ‘छानविन समितिले प्रतिवेदन तयार पार्ने काम गरिरहेको  छ । त्यो प्रतिवेदनमा पक्कै बढि भाडा लिएको विषय आउँछ । त्यसपछि सरकारले कालोबजारीमा कारवाही गर्छ ।’

अधिकारीका अनुसार यसअघि पनि पर्यटन मन्त्रालयको सिफारिसमा महानगरीय प्रहरीले एउटा ट्राभल एजेन्सीलाई कारवाही गरेको थियो । उक्त एजेन्सीले चार्टरमा बढि भाडा लिएको विषयमा कारवाही गरेको उनले बताए । अब पनि कुनै वायुसेवाले बढि भाडा लिएको पाइएमा ठगी मुद्दामै कारवाही हुने अधिकारीले बताए । 

उडान तालिका कम भएकोले महंगो भएको हुनसक्छः अधिकारी 
पर्यटन मन्त्रालयकै सहसचिव तथा हवाई उडान महाशाखाका प्रमुख बुद्धिसागर लामिछाने भने साउदीमा अनिवार्य क्वारेन्टिन भएको र त्यसको लागि सरकारले तोकेकै होटलमा बस्नुपर्ने भएकोले महंगो परेको बताउँछन् ।

साउदीमा होटल बसाई क्वारेन्टिन अवधिको मात्रै कम्तिमा आठ सय डलर छ । यसले गर्दा मजदुरलाई त्यो खर्च वायुसेवाको समन्वयमा मात्रै लिनुपर्ने भएकोले भाडामा महंगो परेको देखिएको बताउँछन् । यस्तो बेलामा अत्यावश्यक व्यक्ति मात्रै ट्राभलमा जाने र विदेशी मुलुकले तोकेको सर्त तथा व्यवस्थालाई भने स्वीकार गर्नेपर्ने पनि तर्क गर्छन् । उनका अनुसार कोभिडपछि यात्रु कम पाइने र उडान तालिका कम भएकोले महंगो भएको हुनसक्छ । 

बढि भाडा लिएको छैन्ः हिमालय एयरलाइन्स
नेपालबाट साउदीको दमाम उडान गर्ने हिमालय एयरलाइन्सले भने बढि भाडा नलिएको बताएको छ । हिमालय एयरलाइन्सकी प्रवक्ता उज्जला दलीका अनुसार यो वायुसेवाले कुनै पनि यात्रुबाट बढि भाडा नलिएको बताइन् । उनले साउदीमा होटल क्वारिन्टन खर्च नै बढि भएकोले भाडा महंगो परेको बताइन् ।

हिमालयले साउदी अरबमा साताको चार उडान गरिरहेको छ । होटल र एयर टिकेटसहितको बन्डल यात्रुबाट एकैपटक एयर टिकटमार्फत लिने गरिएको उसले बताएको छ । एयरलाइन्सको आधार भाडा, सबै नियामक, कर, होटल यातायात र सात रात होटल बसोबास शुल्क तथा खाना, दमाम आइपुग्दा गरिने पीसीआर परीक्षणसहितको शुल्क एकैपटक लिनुपर्ने हुन्छ ।

साउदी अरब सरकारको निर्देशिका अनुसार, यात्रुहरू स्वयं क्वारेन्टाइनमा बस्ने अनुमति नभएको र त्यहाको सरकारले तोकेको क्वारेन्टिन होटेलमा बस्नु पर्ने नियम अनिवार्य गरिएको छ । यसका कारण, नियमित हवाई बन्डल भाडाको तुलनामा अहिलेको भाडा अलि महँगो भएको हिमालयको भनाई छ । दमामको लागि अतिरिक्त होटल क्वारेन्टिन शुल्कले ६० प्रतिशत ओगट्छ भने हवाइ भाडाले कुल लागतको ४० प्रतिशत मात्र योगदान ओगट्ने पनि यो वायुसेवाले बताएको छ ।

Advertisement

Advertisement