बैंकहरूको वार्षिक व्यापारः निक्षेपभन्दा कर्जा बढी, मौद्रिक नीतिले नियन्त्रण गर्न सक्ने

Advertisement

काठमाडौं । वाणिज्य बैंकहरूको गत आर्थिक वर्षको व्यापारमा निक्षेप संकलन भन्दा कर्जा बढी प्रवाह भएको पाइएको छ । बैंकर्स संघ नेपालले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७७/७८ को तथ्यांक अनुसार वाणिज्य बैंकहरूको निक्षेपभन्दा कर्जा प्रवाह १ खर्ब ४ अर्ब रुपियाँले बढेको छ ।

वाणिज्य बैंकहरूले गत आर्थिक वर्षमा ७ खर्ब  ११ अर्ब ४१ करोड रुपियाँ कुल निक्षेप संकलन गरेर ८ खर्ब १५ अर्ब ४४ करोड रुपियाँ कर्जा लगानी गरेका छन् । बैंकहरूले असार मसान्तसम्ममा ४२ खर्ब एक अर्ब ३९ करोड रुपियाँ निक्षेप संकलन गरेर ३७ खर्ब २० अर्ब ७५ करोड रुपियाँ कर्जा लगानी गरेका छन् । यस्तो कर्जा लगानी गत आवको एक वर्षमा कुल निक्षेप भन्दा बढी भएको देखिएको छ । बैंकहरूले गरेको निक्षेप असारमा मात्रै २ खर्ब १० अर्ब छ भने उक्त महिनामा भएको कर्जा लगानी ७४ अर्ब ६५ करोड रुपियाँ भएको पनि तथ्यांकल देखाउँछ ।

Advertisement

बैंकहरूले निक्षेप संकलन भन्दा कर्जा प्रवाह बढी दिँदा जोखिम पनि बढ्न सक्ने नेपाल बैंकर्स संघका सीईओ अनिल शर्मा बताउँछन् । बैंकहरूले निक्षेपको तुलनमा कर्जा मात्रै बढाएको हुँदा नेपाल राष्ट्र बैंकले आगामी मौद्रिक नीतिमार्फत कर्जा प्रवाहमा कडाइ गर्ने र  प्रोभिजनिङ बढाउन लगाउन सक्ने अनुमान संघका सीईओ शर्माले गरेका छन् । शर्मा बैंकहरूले अनुत्पादनक क्षेत्रमा कर्जा बढाएको आरोप लाग्ने गरेको भएपनि जहाँबाट लगानीको माग आउँछ र बैंकले लगानी गरेर लाभ लिन सक्ने हुन्छ सोही क्षेत्रमा कर्जा गएको पनि बताउँछन् ।

उनका अनुसार कर्जा प्रवाह अनुत्पादक क्षेत्रमा गएको भनेर स्वीकार गर्न सकिने अवस्था छैन भने यसले खराब कर्जा (एनपीएल)पनि बढेको देखिदैन् । समग्रमा खराब कर्जाको दर घटेकोले र एक प्रतिशतभित्रै रहेकोले पनि कर्जा मात्रै बढ्यो र अनुत्पादनक क्षेत्रमा फसेर एनपीएल बढेको अवस्था भने नदेखिएको पनि शर्मा बताउँछन् ।

बैंकहरुको कर्जा र निक्षेप अनुपात (सीसीडी) रेसियो पनि औषतमा ७७.८३ प्रतिशत रहेको छ । बैंकहरूलाई राष्ट्र बैंकले ८५ प्रतिशतभित्रै सीसीडी रेसियो कामयम गर्नुपर्ने व्यवस्था गरेको छ । सोही अनुसार बैंकहरूले ८२ प्रतिशत भित्रै यस्तो सीसीडी रेसियो कायम गरेका छन् ।

निक्षेप बढाउनमा सबैभन्दा अगाडि एनआईसी एशिया 
गत आवमा निक्षेप बढाउनमा सबैभन्दा बढी एनआईसी एशिया बैंकको रहेको छ । यो बैंकले गत आवमा ८९ अर्ब ४१ करोड रुपियाँले निक्षेप बढाउन सफल भएको छ । यो बैंकले असार मासान्तसम्मा कुल ३ खर्ब २५ करोड रुपियाँ निक्षेप संकलन गरेको छ । यस्तो निक्षेपबाट यो बैंकले ९१ अर्ब १० करोड रुपियाँ कर्जा लगानी बढाएको पनि देखिएको छ । यो बैंकको कर्जा लगानी असारमा १.९२ प्रतिशतले घटेको पनि समग्रमा यसको कर्जा प्रवाह भने २ खर्ब ६४ अर्ब ८४ करोड रुपियाँ रहेको पनि देखिएको छ ।

दुई वटा बैंकको निक्षेप घट्यो 
गत आर्थिक वर्षमा दुइ वटा वाणिज्य बैंकको निक्षेप संकलन घटेको छ । गत आर्थिक वर्ष २०७६/७७ को तुलनामा आव २०७७/७८ मा निक्षेप घटाउने बैंकमा स्ट्याण्डर्ड चार्टर्ड बैंक र नेपाल एसबीआई बैंक रहेको छ ।

नेपाल एसबीआई बैंकको निक्षेप अघिल्लो वर्षको तुलनमा गत आवमा ४ अर्ब १८ करोड रुपियाँले घटेको छ । यो बैंकल गत आवमा १ खर्ब ६ अर्ब २२ करोड रुपियाँ निक्षेप संकलन गरेको थियो । 
यस्तै स्ट्यार्डड चार्टर्ड बैंकको पनि २ खर्ब ९२ करोड रुपियाँले निक्षेप संकलन घटेको छ । यो बैंकले पनि गत आवमा ९६ अर्ब १९ करोड रुपियाँ निक्षेप संकलन गरेको तथ्यांकले देखाएको छ ।

 

Advertisement

Advertisement