बीमा समितिको एक निर्देशनले जीवन बीमा कम्पनीहरूलाई धक्का, सबैको बोनस दर घट्दै

Advertisement

काठमाडौं । जीवन बीमा कम्पनीहरूको बोनस दर घट्ने भएको छ । बीमा समितिले दिएको निर्देशनअनुसार प्रोभिजनिङ गर्दा जीवन बीमा कम्पनीले दिइरहेको बोनस दर घट्ने भएको हो ।

यसको सिधा असर बीमितमा पर्नेछ । तर बीमा कम्पनीले भने बीमितका लागि नै प्रोभिजनिङ गर्दा बोनस घटने र पोलिसि म्याचुअर्ड हुँदासम्म त्यो सबै बीमितलाई परिपूर्ती हुने तर्क गरेको छ । 

Advertisement

एक जीवन बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)ले कर्पोरेट नेपालसँग भने, ‘अब बीमा समितिले निर्देशन दिएअनुसार हामीले अनिवार्य रूपमा प्रोभिजनिङ गर्नुपर्छ । पहिले प्रोभिजनिङको यस्तो बाध्यता थिएन । हामीसँग प्रोभिजनिङ गर्न अन्तबाट पैसा ल्याउने ठाउँ पनि छैन । त्यही बीमितको पैसाबाटै गर्नुपर्छ । त्यसरी प्रोभिजनिङ गर्दा सबै जीवन बीमा कम्पनीमा बीमितले पाउने बोनस शतप्रतिशत घट्छ ।’

बीमा समितिले २० प्रतिशत रकम अनिवार्य प्रोभिजनिङ गर्न कडाई गरेको उनले जानकारी दिए । बीमा कम्पनीले अहिलेका नयाँ बीमितलाई फ्युचर बोनस प्रोभिजनिङको असर नदेखिए पनि कतिपय पूराना बीमित भने यसको मारमा पर्ने जनाएको छ ।

यस्तो छ कारण
बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले कम्पनीहरूलाई बोनस घटाउने अवस्था सिर्जना गरिदिएको छ । यसको मतलब अब बीमा कम्पनीहरूले आगामी पाँच वर्षमा बीमितलाई दिने पैसा अहिले नै प्रोभिजनिङ गरेर राख्नुपर्ने हुन्छ । त्यसरी प्रोभिजनिङ गरेर राख्दा कम्पनीले नगद नै राख्नुपर्छ । नगद राख्दा बीमा कम्पनी आफ्नै सुरक्षा बढ्छ भने बीमितले पाउने पैसाको जोखिम निकै हदसम्म कम हुन्छ ।

बीमा समितिले प्रोभिजनिङका लागि कम्पनीहरूलाई ६ वर्षअघि नै निर्देशन दिएको थियो । तर कम्पनीले सो निर्देशन अटेर गर्दै आएका थिए भने बीमा समितिले पनि त्यसका त्यति चासो दिएको थिएन् । तर पछिल्लो समय भने समितिले केही कडा कदम चालेको छ । बीमितलाई दिने पैसा कम्पनीसँग नगद नै हुनुपर्ने र आफूले दिनेजति पैसा जति बेला पनि भइरहनुपर्छ भन्ने समितिको धारणा छ ।

के भन्छ बीमा समिति ?
बीमा समितिका प्रवक्ता राजुरमण पौडेलले कर्पोरेट नेपालसँग भने, ‘प्रोभिजनिङको लागि हामीले निर्देशन दिईसकेका छौं । हाम्रो एक्चुरीले शतप्रतिशत रकम प्रोभिजनिङ गर्नु भनेका थिए । तर अहिले हामीले सुरूमा जम्मा २० प्रतिशत गर्नु भनेका छौं । बीमा कम्पनीले पहिले दिईरहेको बोनसको दर रेट घट्न पाउँदैनन् । पूरानो दर नघटाई रिजर्भ गर्नुपर्छ ।’

उनले यसबाट बीमा कम्पनीलाई कुनै पनि समस्या नहुने तर्क गरे । पौडेलले असर नपर्ने किसिमले नै निर्देशन दिएको बताए । तर यता बीमा कम्पनीले भने समितिले आय बढाउन नदिने तर प्रोभिजनिङ बढाउन दिएको भन्दै असन्तुष्टि पोखेका छन् । यो निर्देशन त्यति व्यवहारिक नभएको उनीहरूको भनाई छ । 

बीमा कम्पनीहरूले प्रोभिजनिङ गरेर अनिवार्य रूपमा नगद राख्नुपर्ने भएकाले झट्ट हेर्दा बीमितले आफूलाई केही बोनस कम भएको र घाटा नै लागेको सोच्न सक्ने तर वास्तविकता भने त्यस्तो होइन भन्दै समितिले उक्त रकम प्रोभिजनिङ गर्नुको उद्देश्य फेरि उक्त रकम बीमितलाई नै दिनको लागि हो भनेको छ ।

तर तत्काल कसैको पोलिसि म्याचुअर्ड भएर बीमांक लिने बेला भएको छ भने त्यस्ता बीमितलाई भने घाटा हुने कम्पनीहरू बताउँछन् । समितिले दिएको निर्देशनअनुसार कम्पनीहरूले आगामी २०८२ सम्ममा प्रोभिजनिङ सकिसक्नुपर्नेछ । 

यस्तो प्रोभिजनिङपछि भविष्यमा कम्पनीले बीमाको योजना मात्र नभई आफूसँग नगद नै राख्न पाउँछन् । प्रोभिजनिङ गर्दा अन्य शीर्षकबाट पैसा ल्याउन मिल्दैन् । कम्पनीहरूले आफ्नो जीवन बीमा कोषमा भएको पैसा नै प्राभिजनिङ गर्न मिल्छ । 

त्यस्तै सल्भेन्सीबाट पनि केही फण्ड मिलाउने अवस्था हुन सक्छ । तर अन्य क्षेत्रबाट पैसा राखेर बीमितलाई दिने होइन् । बीमा कम्पनीले बीमितबाट बीमाशुल्क बापत उठाएको नगद प्रोभिजनिङ गर्छन् र दावी बीमितलाई सोही रकम भुक्तानी गर्छन् ।

समितिले सबै प्राभिजनिङ एकै पटक नभई पाँच वर्षभित्र गर्नुपर्ने भनेकाले केही राहत भएको छ । तर अहिलेको लागि २० प्रतिशत तोकिनु धेरै भएको कम्पनीहरूको तर्क छ । बीमा कम्पनीले आगामी दुई–तीन वर्षमा एक चरण र पूरै पाँच वर्षमा अर्को चरणको काम गर्न सक्छन् ।

पछिल्लो समय बैंकले मुद्दती निक्षेप (एफडी) ब्याजदर घटाएको अवस्था र कोरोना महामारीले समेत व्यवसायमा प्रभाव पारेको बेलामा बोनस दर पनि पूरानै राख्न र प्रोभिजनिङ पनि एक साथ गर्न समस्या हुने कम्पनीहरू बताउँछन् । यस विषयमा कम्पनीका सीईओहरूको एउटै भनाई देखिन्छ । अर्का एक सीईओले भने, ‘कम्पनीले आम्दानी गर्ने ठाउँ साँघुरो पार्ने अनि बोनस नघटाई प्रोभिजनिङ गर भन्ने कुरा त्यति व्यवहारिक छैन् ।’ 

उनले थपे, ‘हामीले नबुझ्या कुरा के हो ? भने बीमा समितिले अहिले बोनस ग्यारेन्टी गर्न खोजेको जस्तै देखिन्छ । होइन भने १५ वर्षलाई बीमा गरिसकेको बीमितले दुई वर्ष बोनस लिइसकेको अवस्थामा उसलाई बाँकी १३ वर्ष एउटै बोनस दिनुपर्छ भन्न खोजेको हो की ? होइन भने बीमा कम्पनीले बोनस दिइरहेका छन् । समितिले नगद नै राख, तत्कालै राख किन भन्नु पर्यो ? कम्पनीले काम गरिरहेकै छन् ।’

बीमा कम्पनीले प्रोभिजनिङ पनि गर्नुपर्ने र पूरानै बोनस दर कायम गर्नुपर्ने हो भने डिक्साउन्ट फ्याक्टर ६ लगाउन नहुने सीईओहरू बताउँछन् । डिस्काउन्ट् फ्याक्टर कम्पनीको आम्दानीसँग जोडिने भएकाले यसमा सहुलियत दिएमा बीमा समितिको निर्देशनले कसैलाई असर नपर्ने केही पूराना जीवन बीमा कम्पनीको भनाई छ । तर ६ प्रतिशत डिस्काउन्ट फ्याक्टरको बारेमा कर्पोरेट नेपालले प्रश्न गर्दा बीमा समितिले कुनै प्रतिक्रिया दिन चाहेन ।

Advertisement

Advertisement