सरकार फेर्नासाथ प्रचण्डले बखेडा सुरु गरे, उच्चस्तरीय संयन्त्र, न्यूनतम् साझा कार्यक्रम माग

Advertisement

काठमाडौं । केपी ओली नेतृत्वको सरकार ढालेर शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बनाउन सक्रिय भूमिका खेलेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ सरकार गठन हुन नपाउँदै बखेडा सुरु गरेका छन् । 

यसअघि सरकार सञ्चालनका लागि  उच्चस्तरीय संयन्त्र बनाउनुपर्ने शर्त अघि सारेका उनले आज स्थायी समिति बैठक बसालेर न्यूनतम साझा कार्यक्रम बनाउनुपर्ने अर्को शर्त राखेका छन् । 

Advertisement

सरकारलाई प्रभावकारी रुपमा सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम छिट्टै तय गर्न सत्ता गठबन्धनलाई माओवादी केन्द्रले माग गरेको हो । पेरिस डाँडामा बसेको सो पार्टीको स्थायी कमिटि बैठकले न्यूनतम साझा कार्यक्रम वा प्राथमिकताका कार्यक्रमहरु तुरुन्तै तय गर्न सत्ता गठबन्धनलाई आग्रह गर्दै त्यस्तो कार्यक्रम तय गर्न पार्टीको तर्फबाट नेता देव गुरुङ र वर्षमान पुनलाई निर्देशन दिएको छ ।

‘गठबन्धनको सरकार न्यूनतम साझा कार्यक्रममार्फत अगाडि बढ्नुपर्ने भएकाले गठबन्धनमा सम्मिलित पार्टीहरु मिलेर न्यूनतम साझा कार्यक्रम वा प्राथमिकताका कार्यक्रमहरु तुरुन्तै तय गर्नुपर्ने सो पार्टीका अध्यक्ष प्रचण्डको तर्क छ । 

सो पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले न्यूनतम साझा कार्यक्रमको गृहकार्य गर्ने समझदारी भइसकेको दावी गर्दै त्यसका लागि आफ्नो पार्टीबाट पहल सुरु भएको बताएका छन् । उनले मन्त्रिपरिषद्मा पठाउने नामबारे छलफल नभए पनि सरकारले छिट्टै पूर्णता पाउने बताएका छन् । 

Advertisement

Advertisement