ह्याकरले आतंक मात्रै फैलायो, १६ वटै बैंकसहित सबैको सिस्टम सुरक्षित छः राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले ह्याकरले आतंक मात्रै फैलाएको र सबै बैकिङ प्रणाली सुरक्षित भएकोले सबै बैकहरूलाई ढुक्क भएर सेवा दिन आग्रह गरेको छ । नेपाल राष्ट्रका सहप्रवक्ता नारायण पोखरेलका अनुसार ह्याकरले राष्ट्र बैंक सहित विभिन्न १६ वटा बैंकको सिस्टम एकैपटक ह्याक गरेको भनेर आतंक मात्रै हो ।

‘बुधबार बेलुका ५ः५५ बजेदेखि नै म्यासेज भाइरल बनाउन सुरु भइसकेको रहेछ तर हामीले तुरुन्तै सिस्टममा निगरानी बढाएको र आईटी डिपार्टमेन्टलाईसमेत अलर्ट राखेको छौ’, त्यस्तै कुनै समस्या नभएको र  सबै बैंकिङ सिस्टम सुरक्षित रहेकोले ढुक्क भएर सेवा प्रवाह गर्न सम्बन्धित बैंकहरूलाई आग्रह गरिएको पनि सहप्रवक्ता पोखरेलले बताए ।

पोखरेल भन्छन्, ‘म्यासेज भइरल गरेर आतंक मात्रै फैलाइएको हो अहिलेसम्म कुनै मेल आएकको छैन् ।’ कसैले निहित स्वार्थको लागि यस्तो आतंक फैलाएको हुनसक्ने भएकोले आवश्यक अनुसान्धान पनि सुरु भइसकेको जानकारी सहप्रवक्ता पोखरलेलले बताए ।

नेपाल राष्ट्र बैैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता देवकुमार ढकाललाई बिहीबार बिहानै एक अन्तर्राष्ट्रिय फोन कलसमेत गरेर अपरिचित व्यक्तिले बैंकिङ सिस्टम ह्याक भएको सन्देश छोडका थियो । उक्त कलमा ‘योर सिस्टम ह्याव बिन ह्याक्ड’ भनिएको थियो भने यसलाई जोकको रूपमा नलिन आग्रह गर्दै सचेत गराएको पनि उल्लेख छ । त्यसपछि ढकालले आईटी विभागलाई तुरुन्तै जानकारी गराएका थिए ।

ह्याकरले पत्र पठाएको भन्दै भाइरल गरिएको म्यासेजसमा नेपाल राष्ट्र बैंक सहित १६ वटा बैंकको नाम नै उल्लेख गरिएको छ । ह्याकरले पठाएको भनिएको उक्त सन्देशमा नेपाल राष्ट्र बैंक, कुमारी बैंक, नेपाल बैंक, नबिल बैंक, राष्ट्रिय वाणिज्य बैंक, माछापुच्छ्रे बैंक, एनएमबि बैंक, एनआइसी एसिया बैंक, बैंक अफ काठमाण्डू, सिटिजन्स इन्टरनेशनल बैंक, सानिमा बैंक, नेपाल एसबीआई, एभरेष्ट, नेपाल इन्भेष्टमेन्ट र हिमालयन बैंकको नाम उल्लेख छ। 

ठूलो क्षति रोक्न चाहने हो भने बिहीबारदेखि सबै बैंक शाखा ४८ घण्टासम्म बन्द राख्न चेतावनी दिइएको छ । अन्यथा २४ घण्टाभित्र एमआईसीआर तथा ईसीआर सिस्टम लगायत अन्य अनलाइन एवम् अफलाईन कारोबार ‘कम्प्रोमाइज्ड’ गर्ने धम्की दिइएको छ ।