नेपालको पुँजी बजारलाई हुनेखाने र उपल्लो वर्गको बजारको रुपमा चित्रित गरियो

बबिता फुयाल

अर्थतन्त्रमा पुँजी निर्माण
पुँजी निर्माण अर्थतन्त्र विकासको अति आवश्यक र मौलिक कडि हो । पुँजी निर्माण बिना राज्यको स्रोत र साधनको वृद्धि र विस्तार सम्भव हुने सम्भावन न्युन प्रायः रहन्छ । पुँजी निर्माणमा पुँजीको गतिशीलता र पुँजीको परिचालन महत्वपुर्ण हुने गर्दछ । पुँजी निर्माणले वित्तीय उत्पादकत्व प्रवर्धन गर्न सहयोगी भूमिका निवार्ह गर्दछ । पुँजी निर्माणमा पुँजीको संकलन, पुँजीको उपयोग तथा पुँजीको परिमाणात्मक परिवर्तन मात्र नभई यसको गुणात्मक परिवर्तनलाई समेत ध्यानमा राख्नुपर्ने हुन्छ ।

नेपालको अर्थतन्त्रको विशेष बनावट भनेको अनौपचारिक अर्थतन्त्रले औपचारिक अर्थतन्त्रमा दिइरहेको टेवा हो । अनौपचारिक क्षेत्रमा पुँजी निर्माण निरन्तर भइरहेको छ ।यसले औपचारिक क्षेत्रमा समेत योगदान दिईरहेको नै छ जसले गर्दा औपचारिक क्षेत्रको विस्तार निकै द्रुत गतिमा भइरहेको छ । अनौपचारिक क्षेत्रको पुँजीलाई औपचारिक क्षेत्रमा स्थानान्तरण गर्नु परिमाणात्मक पुँजी निर्माण मात्रै हो । यसले गुणात्मक रुपमा अर्थतन्त्रमा पुँजी निर्माणका लागि स्रोतको संकलन मात्रै हुने हुँदा वास्तविक गुणात्मक पुँजी निर्माणका लागि पुँजीको रुपान्तरण नै आवश्यक पर्दछ । 

नेपालमा पुँजी निमार्णका क्षेत्रमा सरकारी तवरबाट खासै चासो देखिएको पाइँदैन । रणनीतिक हिसावले राज्यले पुँजी निर्माण गर्नसक्ने थुप्रै अवसर देखिए पनि नेपालको राजनीतिक नेतृत्वमा यसको आर्थिक जिम्मेवारीबोध नभएको देखिन्छ । यस्तो किसिमको अर्थराजनीतिक व्यवहारले देशको अर्थव्यवस्थाका लागि दीर्घकालीनरुपमा नकारात्मक प्रभाव पार्ने देखिन्छ । पुँजी निर्माणलाई गहिराईमा बुझ्ने हो भने अर्थतन्त्रको वित्तीय उत्पादकत्व तथा पुँजी बजार बीचको आर्थिक सम्बन्धका कसिहरूलाई विश्लेषण गर्न जरुरी देखिन्छ । 

पुँजी निर्माण र वित्तीय उत्पादकत्व 
कुनै पनि राज्यको आर्थिक विकासका लागि अर्थतन्त्रको वित्तीय उत्पादकत्वलाई प्रमुख गुणक मान्नुपर्दछ । वित्तीय उत्पादकत्वको विकासका लागि आवश्यक संयन्त्रहरुको विकासमा राज्यले विशेष ध्यान दिनुपर्ने देखिन्छ । पुँजी निर्माण त्यही क्षेत्रमा विस्तार हुन सक्दछ जहाँ वित्तीय उत्पादकत्व बढि छ । वित्तिय उत्पादकत्व भन्नाले अर्थतन्त्रमा न्यूनतम वित्तीय स्रोत र साधनको परिचालनबाट अधिकतम वस्तु, सेवा तथा ज्ञानको उत्पादन हुनसक्ने उत्पादन सम्बन्ध र यसको संरचना बुझिन्छ । 

वित्तीय उत्पादकत्व वृद्धिका लागि वित्तीय साक्षारता पहिलो शर्त हुन जान्छ । वित्तीय उपकरणहरूको विविधता, सिर्जनात्मक तथा आधुनिक वित्तीय उपकरणहरूको प्रयोग, आधुनिक वित्तीय उपकरणमा कानूनको निर्माण तथा कानूनी प्रयोग, मौलिक वित्तीय उपकरणको प्रयोग जस्ता कुरालाई ध्यान दिनुपर्ने हुन्छ । नेपालमा पुँजीको वित्तीय उत्पादकत्व अन्य देशको अर्थतन्त्रको तुलनामा कमजोर देखिएको हुँदा बैदेशिक लगानी तथा वैदेशिक पुँजीले गुरुत्व प्राप्त गर्न नसकेको देखिन्छ । अनौपचारिक अर्थतन्त्रमा औपचारिक अर्थतन्त्रको पुँजी परिचालन भइरहेको तर अनौपचारिक अर्थतन्त्रलाई मापन गर्न सकिने व्यवहारिक आर्थिक नीतिको अभावमा वित्तीय उत्पादकत्व न्यून हुनुलाई स्वभाविक मान्न नै सकिएला । तर यसले देशको अर्थतन्त्रमा कालान्तर पार्ने दुश्परिणामलाई भने निकै सचेत भई सुक्ष्मरुपमा नियाल्नुपर्ने देखिन्छ । 

वित्तीय उत्पादकत्व र पुँजीबजार 
राज्य तथा नीतिगत तहमा वित्तीय उत्पादकत्व बृद्धि गर्न पुँजीको गतिशील प्रयोग आवश्यक छ । यसका लागि पुँजीको गतिशीलतालाई प्रभाव पार्ने तत्वहरू जस्तै पुँजीको प्रयोगका साधनहरू र पुँजीको प्रतिफललाई अधिकतम् दरमा पुगाउन सकिने क्षेत्रहरूलाई पहिल्याउन सकिन्छ । यसका लागि पुँजी बजारको विस्तार र विकासलाई विशेषरुपमा सम्बोधन गर्न जरुरी देखिन्छ । 

पुँजीबजारमा अर्थतन्त्रका हरेक क्षेत्रहरु समावेश हुने भएकोले यसले अर्थतन्त्रका हरेक क्षेत्रलाई सम्बोधन गर्न सक्ने सामथ्र्य राख्दछ । यसले पुँजीको परिचालन बैज्ञानिक हुन गई क्षेत्रगत रुपमा पुँजीको माग र आपूर्ति सन्तुलन हुन जान्छ । पुँजी बजारले समग्र पुँजीको उत्पादकत्वलाई अधिकतम विन्दुमा सम्भव तुल्याउँछ । पुँजी बजारले कुल गार्हस्थ उत्पादनमा दिने योगदानको कडिलाई गहिराई विश्लेषण गर्ने हो भने सरकारी निजी तथा सहकारी वित्तमा निरन्तर पुँजी प्रवाहको रुपमा वुझिएको पुँजी बजार र यसको अप्रत्यक्ष प्रभावलाई नदरअन्दाज गर्न सकिदैन । पुँजीबजार र कुल गार्हस्थ उत्पादन बीचको शास्त्रीय सम्बन्धमा युग सुहाउँदो पुनरावलोकन गर्न अति जरुरी भइसकेको छ । आजको दिनमा पुँजीबजारको पुँजीकरण र कुल गार्हस्थ उत्पादनको संख्यात्मक प्रस्तुतिले मात्र यसको सम्भावनालाई केलाउन सकिदैन ।

पुँजी बजारबाट पुँजी निर्माण
पुँजी बजार पुँजी निर्माणको संवाहक हो भन्ने कुरामा दुई मत हुन सक्दैन । पुँजी बजार हुनेखाने र उपल्लो वर्गको बजार हो र यसमा सरकारी नियन्त्रण आवश्यक छ भन्ने शास्त्रीय दृष्टिकोणले पुँजी बजारलाई अर्थतन्त्रको दिगो र भरपर्दा खम्बाको रुपमा चित्रित गर्न नसकिएको यथार्थ हामीमाझ छ । पुँजी बजारलाई अर्थ राजनीतिको बहसमा यथासिघ्र ल्याउन जरुरीछ । पुँजी बजार अनुत्पादक क्षेत्र हो र यसले कुनै वित्तीय उत्पादकत्व प्रदान गर्न सक्दैन भन्ने तर्क आजको अर्थ राजनीतिमा उदेक लाग्दो तर्क हो । पुँजी बजारको व्यापक प्रयोगका लागि यसका आधुनिक र सिर्जनात्मक उपकरणको प्रयोगमा राज्यले अभियान थाल्नु पर्दछ । यसले गर्दा अनौपचारिक अर्थतन्त्रको रुपान्तरण सम्भव भई अर्थतन्त्रमा नयाँ पुँजीको योगदान बढ्दै जाने देखिन्छ । 

पुँजी बजारको वित्तीय उत्पादकत्वलाई पुँजीनिर्माणसँग जोड्न सक्ने हो भने अर्थतन्त्रको गुणात्मक रुपान्तरणको दीर्घकालीन प्रतिक्षालाई आजको यथार्थ बनाउन सकिन्छ । आजको समाज आर्थिक सम्बन्धहरूको समुच्च र आर्थिक गतिविधिको ऐना भइसकेको परिप्रेक्षमा समाजको आर्थिक कोणलाई गति तथा दिशा दिनका लागि पुँजी बजारको उच्चतम प्रयोगलाई व्यवहारमा ल्याउनैपर्ने हुन्छ । यसको नीतिगत प्रयोगका लागि पुँजी बजारलाई राज्यका आर्थिक नीतिमा झारा टार्न एक वाक्याशं लेखिदिएर सरोकारवाला निकायलाई चुप लगाउने गैरजिम्मेवार व्यवहार देखाउनु भन्दा पुँजी बजारको गैरराजनीति तथा आर्थिक व्याख्या, विश्लेषण गरी मौद्रिक नीति, बजेट तथा औद्योगिक नीतिमा यसको सिर्जनात्मक प्रयोग गर्नु नै हरेक अर्थमा वुद्धिमानी ठहरिन्छ । 

लेखक एक धितोपत्र दलाल (ब्रोकर) कम्पनीमा कार्यरत कर्मचारी हुन्