धुलिखेलका होटल–पर्यटन के होला ? व्यवसायी चिन्तित

Advertisement

काभ्रेपलाञ्चोक । असार दोस्रोे सातादेखि कोरोना सङ्क्रमणदर ओरालो लाग्दै गर्दा धुलिखेलस्थित होटल सारथीका सञ्चालक प्रह्लाद प्याकुरेललाई होटल व्यवसाय तङ्ग्रिनेमा निकै खुशी लागेको थियो । 

त्यसयता महिनाको अन्त्यदेखि होटलमा शुक्रबार र शनिबार चहलपहल बढ्न पनि थाल्यो । केही कार्यक्रमका बुकिङले प्याकुरेललाई उत्साह पनि थपिँदै गयो । उनलाई आजभोलि उही पहिलेकै चिन्ताले ‘डेरा’ जमाइसक्यो । “व्यवसायले रूप फेर्ला झैँ लागेको थियो, कोरोना तेस्रो लहरको चिन्ताले झन् सताउन थाल्यो”, प्याकुरेलले भने । कोरोनाका दुई वटा लहरले होटल व्यवसायीलाई निकै ठूलो घाटा बेहोर्न बाध्य बनाइरहेकाबेला पुनः तेस्रो लहरको महामारी प्रक्षेपणले उनीलगायत धुलिखेलका होटल व्यवसायीलाई थप चिन्ताको भारी बोकाएको छ । 

Advertisement

गत चैतमा दोस्रो लहर शुरु भएसँगै होटल सारथीमा वैशाख अन्तिम सातासम्मका बुकिङ रद्द भएका थिए । पचास शय्याको क्षमता रहेको होटलमा वैशाख अन्तिमसम्म जेनतेन सरकारको स्वास्थ्य मापदण्डानुसार २५ लाई मात्र सेवा दिएपछि जेठ र असारमा होटल ठप्पै रह्यो । कोभिड–१९ को दोस्रो लहरको कोरोना सङ्क्रमण बढ्न थालेपछि होटल सारथीसँगै काभ्रेपलाञ्चोकको पर्यटकीय धुलिखेलका होटलमा वैशाख अन्त्यसम्म गरिएका बुकिङ धमाधम रद्द भएका थिए । 

कोरोनाको जोखिमपछि हाल पुनःबामे सर्दै गरेका होटल बन्द हुने हो कि भन्ने चिन्ताले सताउने गरेको गुनासो निकै आउन थालेको क्षेत्रीय होटल सङ्घ (हान)का अध्यक्ष प्रेमकण्ठ माकजु श्रेष्ठले बताए । “तेस्रो लहरको कोरोना आउने र सावधानी अपनाउनुपर्ने सूचना सरकारी पक्षबाटै आउन थालेपछि होटल व्यवसायी निकै तनावमा छन्, होटल व्यवसाय चौपट हुने भयो, व्यवसायी टाट पल्टने भए”, धुलिखेल लज रिसोर्टका सञ्चालकसमेत रहनुभएका श्रेष्ठले भने ।  

दैनिक २०० को हाराहारीमा आफ्नो रिसोर्टमा आन्तरिक÷बाह्य पर्यटक आउने गरेकामा कोरोनाको दोस्रो लहर वैशाखपछि शून्यमै झरेको श्रेष्ठले गुनासो गरे । उनले भने, “अहिले दिनानुदिन आन्तरिक पर्यटक बढ्दै छन्, तर पछिल्ला दिनमा कोरोना सङ्क्रमण बढ्दै गएपछि चहलपहल स्थिर बन्दै गएको भान भइरहेको छ ।” 

गत वर्षको कोरोना कहरपछि आन्तरिक एवं बाह्य पर्यटकबाट आत्मनिर्भरतातर्फ लागेको धुलिखेलको होटल–पर्यटन कोरोनाको दोस्रो लहरले निकै प्रभावित बनाएको देखिन्छ । धुलिखेलमा ठूलासाना गरी करिब ६० होटलमा एक हजार शय्या क्षमता छन् । जिल्लास्थित धुलिखेलको होटल–पर्यटनमा मात्रै करिब रु ५० अर्बको लगानी रहेको सङ्घले जनाएको छ । यहाँ करिब तीन हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् । 

कोभिड–१९ का कारण पर्यटन क्षेत्रले बेहोरिरहेको क्षति न्यूनीकरण गर्दै पुरानै लयमा फर्काउन होटल व्यवसायीले गत भदौ महिनामा विशेष तीन प्याकेजकोसमेत घोषणा गरेका थिए । “स्वास्थ्य–सुरक्षाका मापदण्ड अपनाई पर्यटन क्षेत्रले बेहोर्नुपरेको क्षति न्यूनीकरणलाई प्याकेजले पर्यटकको सेवामा विशेष प्याकेजसहित तल्लीन भएका थियौँ, दोस्रो लहरले पुनः थल्याइदियो, अब तेस्रोले के गर्छ यसै भन्न सकिन्न”, श्रेष्ठले गुनासो गरे । 

गत साल कोरोना सङ्क्रमणदर घट्दा होटल–पर्यटनमा बढेको चहहपलको आभास यो वर्ष नरहेको हानका सचिव ज्योत्स्ना सैँजु बताउनुहुन्छ । “तेस्रो लहरको प्रक्षेपणले हुनुपर्छ, हाल आन्तिरिक पर्यटकको समेत चहलपहल छैन”, उहाँले भन्नुभयो । बिदामा र केही विवाहका साना कार्यक्रमबाहेक हाल उहाँको धुलिखेलस्थित होटल प्रिन्समा चहलपहल हुँदैन । 

सङ्घले यसअघि ‘कल्चर एण्ड नेचर’, ‘फिलिङ सुरपरम्यान’ र ‘तीनधारे झरना’लगायत विशेष प्याकेज सञ्चालन गर्दै आएको थियो । हाइकिङ र हजार सिँढी चढ्दै देवीस्थानमा रहेको कालीदेवीको दर्शन तथा शान्ति वनस्थित बुद्ध मूर्तिको अवलोकन प्याकेजमा अनिवार्य गराइएको थियो । सङ्घले पुनःप्याकेजका कार्यक्रम ल्याएर व्यवसाय उकास्ने प्रयत्नमा लाग्ने व्यवसायी बताउँछन् । 

पर्यटकीयस्थल धुलिखेल सङ्घीय राजधानी काठमाडौँबाट ३० किलोमिटरको दूरीमा अवस्थित छ । धुलिखेल राजधानीबाट नजिकको पर्यटकीयस्थलसमेत रहेकाले आन्तरिक तथा बाह्य पर्यटकको अलावा काठमाडौँ, भक्तपुर र ललितपुरका आवासीय कार्यक्रमसमेत हुने गर्दथे । रासस

Advertisement

Advertisement