करण चौधरीद्धारा नाडाको अध्यक्षका लागि उम्मेदवारी घोषणा

Advertisement

काठमाडौं । सीजी होल्डिङ्सका कार्यकारी निर्देशक तथा सिजी मोटोकर्पका निर्देशक करण चौधरीले नाडा अटोमोबाइल्स एशोसियशनले आगमी अध्यक्षका लागि उम्मेदवारी घोषणा गरेका छन् । उनी नाडाको हालको कार्यसमितिमा उपाध्यक्ष छन् । 

नेपालमा सुजुकी मारुती ब्राण्डका गाडिहरू बिक्री गर्दै आएका चौधरी अध्यक्ष हुन सके नाडाका संभवतः सबैभन्दा कान्छा अध्यक्ष हुनेछन् । कर्पोरेट नेपालसँगको कुराकानीमा उनले आफूले अध्यक्षको उम्मेदवारी घोषणा गरेको बताउँदै नेपालको अटोमोवाइल क्षेत्रमा केही नयाँ कुरा गरेर देखाउन आफू अध्यक्ष हुन खोजेको बताए । 

Advertisement

उनले कोरोना महामारी र लकडाउनका कारण नेपालका अटोमोवाइल व्यवसाय संकटमा परेकाले यस व्यवसायको पुनरुत्थानसँगै यस क्षेत्रमा नयाँ लगानी, नयाँ आकर्षण, नयाँ उत्साह ल्याउनु जरुरी रहेको बताए । कोरोनाका कारण हालको कार्यसमितिले धेरै काम गर्न नसके पनि कोरोनाविरुद्धको खोप लगाउने क्रम जारी रहेकाले अब महामारीको समस्या नदोहोरिने आशा राख्दै चौधरीले अब भने अटोमोवाइलसँगै मुलुकको समग्र अर्थतन्त्रको विकासका लागि सबै लाग्नुपर्ने बताए । 

सरकारले सवारी साधनको आवश्यकता र महत्वलाई बुझ्दै गएको र नाडाको आग्रहलाई सुन्ने गरेको चौधरीको भनाई छ । उनले सवारी साधन अत्यावश्यक वस्तु भइसकेकोले सरकारले यसलाई रोक्ने भन्दा पनि सडक पूर्वाधारको विकासमा ध्यान केन्द्रीत गर्नुपर्ने सुझाव पनि दिए । 

धेरै साथीहरूको सुझाव र आग्रहअनुसार नै आफूले अध्यक्षमा उम्मेदवारी दिन लागेको चौधरीले बताए । उनले सबैलाई मिलाएर लैजाने र सकेसम्म सर्वसम्मत उम्मेदवार हुन पहल गर्ने पनि बताए । चौधरी भन्छन्, ‘सबैको विश्वास जित्न सके र मलाई लिडरको रुपमा मान्नु भयो भने पक्का पनि सर्वसम्मत हुनेछ ।’ हाल नाडाको अध्यक्षमा कृष्णप्रसाद दुलाल छन् । नाडाको अधिवेशन आउँदो पुसभित्र सम्पन्न हुने अनुमान गरिएको छ । 

Advertisement

Advertisement