बैंकलाई ब्रोकर लाइसेन्स दिने अन्तिम तयारीमा धितोपत्र बोर्ड, यस्तो छ योजना

Advertisement

काठमाडौं । लामो समयदेखि चर्चामा रहेको बाणिज्य बैंकको सहायक कम्पनीलाई स्टक ब्रोकरको लाइसेन्स दिने कुरा अब भने साकार हुने संकेत देखिएको छ । धितोपत्र बजारको नियामक नेपाल धितोपत्र बोर्डले यस्तो लाइसेन्स दिन अन्तिम तयारीमा लागेको छ । 

सेयर बजारका लगानीकर्ताले लामो समयदेखि माग गर्दै आएको यस किसिमको लाइसेन्सका लागि बोर्डले ढिलाई गर्दा उनीहरू रुष्ट रहँदै आएका थिए । बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले बैंकलाई ब्रोकर लाइसेन्स दिने तयारी भइसकेको बताएका छन् । 

Advertisement

लगानीकर्ताका अगुवादेखि बाणिज्य बैंकका अध्यक्षहरूसम्मले नयाँ अर्थमन्त्रीसँग भेटवार्ता गर्ने क्रममा बाणिज्य बैंकको सहायक कम्पनीलाई ब्रोकर लाइसेन्सको कुरा उठाएपछि बोर्डलाई थप दबाब परेको छ । सेयर बजारको कारोबारको आकार निकै बढेकाले हाल सञ्चालनमा रहेका ५० वटा ब्रोकर कम्पनीहरूलाई थेग्न मुस्किल भइरहेको छ । यद्यपि उनीहरूले यस बीचमा निकै राम्रो नाफा गर्न पनि सफल भएका छन् । 

अर्कोतर्फ सेयर बजार घटबढ गराउन स्वयम ब्रोकरहरू चलखेल हुने गरेको आरोप लाग्ने गरेकाले पनि बैंकलाई ब्रोकर लाइसेन्स दिनुपर्ने आवाज बढेको देखिन्छ । तर स्टक ब्रोकरहरूले भने त्यो कुरालाई अस्वीकार गर्दै आएका छन् । बाणिज्य बैंकलाई ब्रोकर लाइसेन्स दिन सके पुँजी बजार थप छिटो छरितो हुने र यसको पहुँच  विस्तार गर्न सहज हुने सबैको विश्वास छ । 

ब्रोकर लाइसेन्सका लागि आफूहरूले बोर्डलाई पटक पटक पत्रमार्फत र मौखिमरुपमा पनि आग्रह गरिसकेको नेपाल बैंकर्स एशोसियशनले जनाएको छ । एशोसियशनका अध्यक्ष भुवन दाहालले यसअघि आफूहरूले धेरै पटक आग्रह गरिसकेकोले अब ब्रोकर लाइसेन्सका लागि बोर्डले नै चासो दिनुपर्ने तर्क गरेका थिए । 

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)का महाप्रवन्धक चन्द्रसिंह साउदले बैंकलाई ब्रोकर लाइसेन्स दिने कुरामा आफूहरू तयार रहेको र बोर्डलाई पनि सुझाव दिइसकेको बताउँदै बोर्ड पनि यस कुरामा सकारात्मक भएको बताएका छन् । 

के भन्छन् ढुंगाना ? 
नेपाल धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाले बैंकलाई ब्रोकर लाइसेन्स दिने तयारीमा रहेको बताए । उनले यसबारेमा अध्ययन भइरहेको बताउँदै लाइसेन्स दिनकै लागि नियमावली संशोधन गर्न लागिएको बताए । नियमावली संशोधनका समिति गठन गरिएको छ । 

ढुंगानाले चाँडै नियमावली संशोधन गरेर अर्थ मन्त्रालय पठाइने र स्वीकृत भई आउनासाथै ब्रोकर लाइसेन्स वितरण सुरु हुने बताए । बोर्डले बैंकका सहायक कम्पनीलाई मात्रै नभएर अन्य कम्पनीलाई पनि यस्तो लाइसेन्स दिने तयारी गरेको छ । कम्पनीको पुँजीका आधारमा फरक फरक सेवा दिनसक्नेगरी लाइसेन्स दिन लागिएको  भन्दै उनले इच्छुक कम्पनीले पब्लिक कम्पनीको रुपमा आईपीओ पनि जारी गर्नसक्ने बताए । 

नियमावलीमा के के राख्दैछ बोर्ड ? 
बोर्डले समिति गठन गरेर ब्रोकर लाईसेन्स पाउन के के प्रवधान पूरा गर्नुपर्ने हो ? त्यसको सुची तयार गर्दैछ । स्रोतका अनुसार ब्रोकरको काम गर्न कुनै पनि कम्पनीको न्यूनतम पुँजी १० करोडदेखि एक अर्बसम्म हुनुपर्ने छ । कम्पनीलाई धितोपत्र दलाल र धितोपत्र व्यापारी दुवैको काम गर्नेगरी न्यूनतम १० करोडदेखि अधिकतम एक अर्ब पुँजी तोक्न लागेको बोर्ड स्रोतले बताएको छ । 

बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली २०६४ लाई संशोधन गर्न बनाएको समितिले धितोपत्र दलाल र व्यापारीका लागि न्यूनतम चुक्ता पुँजी पाँच गुणाले बढाउनेगरी मस्यौदा तयार गरेको छ । नियमावलीमा हाल धितोपत्र दलालका लागि दुई करोड र व्यापारीको लागि २० करोड चुक्ता पुँजी चाहिने व्यवस्था छ । बोर्डले बैंकको सहायक कम्पनीलाई मात्रै नभएर अन्य इच्छुक कम्पनीलाई पनि धितोपत्र दलाल र व्यापारी दुवै काम गर्नेगरी लाइसेन्स दिन लागेको हो । बैंकले भने लाइसेन्स लिन एक अर्ब पुँजीको सहायक कम्पनी स्थापना गर्नुपर्ने व्यवस्था गर्न लागिएको छ । 

Advertisement

Advertisement