झलनाथलाई उपचार खर्च हामी जुटाउँला, तर राज्यकोषबाट मिल्दैमिल्दैन्ः साझा विवेकशील

Advertisement

काठमाडौं । साझा विवेकशील पार्टीले पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेको माधव नेपाल समूहका नेता झलनाथ खनाललाई राज्य कोषबाट उपचार खर्च दिन मिल्दैमिल्दैन भन्दै आरटीआई (सुचनाको हक) र ज्ञापनपत्र बुझाएको छ । 

उक्त पार्टीले झलनाथलाई उपलब्ध गराएको उपचार खर्च गैरकानुनी छ भन्दै उक्त रकम रोक्न प्रधानमन्त्री शेरबहादुर देउवासँग आग्रह गरेका हुन् । विवेकशील साझाका पुकार बम, हरीश भट्ट र रन्जन कार्कीले आइतबार प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा झलनाथलाई निकासा भएको भनिएको रकम जनस्वास्थ्य ऐन, २०७५ को दफा ३० अनुसार गैरकानुनी भएकोले त्यसलाई रोक्न निवेदन दर्ता गराएको हो । 

Advertisement

जनस्वास्थ्य ऐन, २०७५ को दफा ३० मा ‘प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिलाई विदेशमा उपचार गर्नु परेमा सोको लागि लाग्ने खर्च नेपाल सरकारबाट उपलब्ध गराइने छैन’ भनी प्रष्ट लेखिएको छ । 

सो पार्टीले बुझाएको ज्ञापनपत्रमा भनिएको छ, ‘आवश्यक परे हामी नागरिक स्तरमा उहाँ (झलनाथ)को स्वास्थ्योपचार खर्च जुटाउन पहल गर्न तैयार छौँ, तर उहाँको लागि भनेर सरकारले गैरकानुनी रूपमा खर्च वितरण नगरोस् भनेर सचेत गराउन चाहन्छौं ।’

साथै, साझा विवेकशीलले प्रधानमन्त्री कार्यालयमा सूचनाको हकको प्रयोग गरि निम्न सूचनाहरू समेत मागेको छः 

१) पूर्वप्रधानमन्त्री तथा एमाले नेता झलनाथ खनालको उपचारका निम्ति सरकारले कति रकम कुन मितिको मन्त्रीपरिषद्को निर्णयबाट निकासा गरिएको हो ?

२) प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिलाई विदेशमा उपचार गर्नु परेमा सोको लागि लाग्ने खर्च नेपाल सरकारबाट उपलब्ध गराइने छैन भन्ने व्यवस्था जनस्वास्थ्य ऐन, २०७५ को दफा ३० मा स्पष्ट छ । लागू भइसकेको कानुन विपरीत देखिएको यो रकम निकासा कुन कानुनमा टेकेर गरियो ?

३) २०७४ फागुन ३ गते देखि २०७८ असार २९ गतेसम्म (केपी ओली सरकार रहँदा)को अवधिमा चियापान, खाजा, नास्ता लगायत कुन कुन शीर्षकमा बालुवाटारमा अवस्थित उहाँको सरकारी निवासले कति खर्च गर्‍यो ? यसको पूर्ण विवरण उपलब्ध गराइदिनुहोला।

Advertisement

Advertisement