इतिहास बोकेको बूढानीलकण्ठ स्कुललाई पूरानै शैलीमा धकेल्न खोज्नु मूर्खता हुन्छः प्रिन्सिपल आचार्य

Advertisement

काठमाडौं । राजधानीको उत्तर भेगमा पर्ने शिवपूरीको फेदीमा छ बूढानीलकण्ठ स्कुल । देशका विभिन्न भागका न्यून आयस्तरका परिवारका जेहेन्दार छात्रछात्रालाई पढाउने लक्ष्यअनुसार तत्कालिन राजा वीरेन्द्रले वि.स. २०२९ मा स्थापना गरेको बुढानीलकण्ठ स्कुलमा हाल एक हजार १५० विद्यार्थी अध्ययन गर्छन् । साँढे छ सय रोपनी विशाल क्षेत्रफलमा फैलिएको यस विद्यालय २०४६ को राजनीतिक परिवर्तनपछि राजनीतिक हस्तक्षेपका कारण केही प्रभावित भए पनि यसको आकर्षण अझै घटेको छैन् । 

बूढानीलकण्ठ स्कुल एउटा यस्तो स्कुल हो जहाँ विद्यार्थीहरू अनिवार्य रूपमा छात्रवासमै बस्नुपर्ने हुन्छ । विद्यार्थी राख्नका लागि स्कुलले नै कोटा तोक्ने गर्छ । होस्टल र बेडसम्मको प्रवन्ध गर्छ । मापदण्डका आधारमा विद्यार्थी भर्ना लिने पद्दती बनाएको बूढानीलकण्ठको कोटामा पर्नु विद्यार्थीका लागि ठूलो  अवसर र अभिभावकका लागि गर्वको क्षण हुने गर्छ । सरकारी स्कुल भएर पनि गुणस्तरीय शिक्षाका लागि पहिचान कायम गर्न सफल यस विद्यालयमा अध्ययन गर्नेहरू अहिले धेरै उच्च ओहोदामा भेटिन्छन् । 

Advertisement

अध्ययन हुने विषयहरू 
हाल बूढानीलकण्ठ स्कुलमा ११ वटा एकेडेमिक डिपार्टमेन्ट छन् । स्कुलले कक्षा १० सम्म सरकारको पाठ्यक्रमअनुसार नै पढाउने गर्छ । त्यस्तै, प्ल्स टू पढ्ने विद्यार्थीले भने बूढानीलकण्ठ स्कुलमा विज्ञान विषय मात्रै पढ्ने सुविधा छ । यस स्कुलका विद्यार्थीले अंग्रेजी, नेपाली र गणित विषय अध्ययन गर्दै आएका छन् । त्यस्तै, फिजिम्स, केमेस्ट्रि, वायोलोजी र कम्युटर विषयको अध्ययन अध्यापन भईरहेको छ । ए–लेभलमा भने विज्ञान र व्यवस्थापन फ्याकल्टी समेटिएका छन् । ए–लेभल जस्तै खालको आईवी कोर्ष थप्ने योजना बूढानीलकण्ठ स्कुलको छ । 

गर्व गर्न लायक विरासत
युवराज दिपेन्द्र, पारसलगायत राजपरिवारका सदस्यले यही विद्यालयमा अध्ययन गरेका थिए । विगतमा प्रधानमन्त्रीका छोराछोरी पनि यही विद्यालयमा अध्ययन गर्थे । यति लामो विरासत बोकेको बूढानीलकण्ठ स्कुलका प्रिन्सिपल होमनाथ आचार्य भन्छन्, ‘राजा महाराजाका छोराछोरीदेखि, पिछडिएका गाउँका परिवारले यस स्कुलमा पढ्ने मौका पाएका छन् । एउटा गाउँको सामान्य चेपाङ परिवार, सार्की परिवार, दुर्गम ठाउँका शेर्पाका छोरा यहाँ पढ्छन् । यही नै बूढानीलकण्ठ स्कूलको गहना हो । यो स्कुल आफैमा मिनी नेपालभन्दा फरक नपर्ला !’

केही विद्धानहरूले ‘एउटा कक्षाबाटै नेपाल देख्ने मौका पाइयो’ भन्ने अभिव्यक्ति दिएको आचार्य स्मरण गर्छन् ।  बूढानीलकण्ठका एक तिहाई विद्यार्थी छात्रवृत्तिमा अध्ययन गर्छन् । उनीहरूको शुल्क सरकारले तिर्छ । बाँकी दुई तिहाई विद्यार्थी भने पैसा तिर्न सक्ने परिवारकै हुन्छन् । पैसा तिर्न सक्ने र नसक्ने परिवारका विद्यार्थी एक आपसमा एउटै छानामुनी पढ्छन् । 

होमनाथ आचार्य बूढानीलकण्ठ स्कुलको नवौं प्रिन्सिपल हुन् । पाँच वटा प्रिन्सिपल ब्रिटिसले चलाएका थिए ।  छैटोंदेखि नेपाली प्रिन्सिपल राख्न थालियो । मोरङ होक्लाबारीको सामुदायिक विद्यालयबाट एसएलसी उत्रिण भएका आचार्यले महेन्द्र मोरङ विराटनगरमा आईएससी अध्ययन गरेका हुन् भने महेन्द्र रत्न क्याम्पस ताहचलबाट बिएड टप गरे । त्यसपछि सामाजिक शिक्षा पढाउने शिक्षकको रुपमा २०५७ सालमा बूढानीलकण्ठ छिरेका उनलाई त्यसपछि यस स्कुल छोड्नु परेको छैन् ।   विभिन्न पदीय जिम्मेवारी निर्वाह गर्दै आचार्य अहिले बूढानीलकण्ठ स्कुलको प्रिन्सिपल (प्रध्यानाध्यापक) बन्न सफल भएका छन् । उनले ११ बर्ष कञ्चन्जंगा होस्टेलको ‘हेड अफ हाउस’को रूपमा काम गरे । प्रस्तुत छ आचार्यसँग कर्पोरेट नेपालले गरेको कुराकानीको सारः 

के तपाईले कहिल्यै बूढानीकलण्ठ स्कुलको प्रिन्सिपल बन्छु भन्ने सोच्नु भएको थियो ?
यो त मेरो कल्पना बाहिरकै कुरा हो । पछिल्लो समय प्रिन्सिपलको लागि आवेदन दिँदा भई पो हाल्छु की ? भन्ने थियो । आवेदन गरेपछि अलिकति आशा पलाउनु स्वाभाविक पनि हो । तर यो स्कुलको शिक्षक हुँदासम्म पनि मलाई कुनै दिन यहाँको प्रिन्सिपल बन्छु भन्ने कहिल्यै लागेको थिएन । मलाई यो सफलता मिल्नुमा मेरो आफ्नो मेहनत, काम प्रतिको लगाव नै हो जस्तो लाग्छ ।

मसँग सेवाको भावना पहिलेदेखि नै थियो । मैले विभिन्न पदीय जिम्मेवारी भने पहिलेदेखि नै पाउँदै आएको थिए । साथीभाईको मनमा मैले राम्रो गर्छु भन्ने छवी बनाउन सफल भए जस्तो लाग्छ । अब मैले पाएको अवसरको सही सदुपयोग गर्नुपर्छ लागेको छ । बूढानीलकण्ठ स्कुल को हित र यसको साखलाई अझ उच्च पार्न मैले मेहनत गर्ने हो । म त्यसको लागि तयार छु । किनकी मलाई लाग्ने गर्छ विश्वमा बूढानीलकण्ठ स्कुल भनेको एउटा मात्रै छ । विश्वले नै विभिन्न कोणबाट यस स्कूललाई हेर्ने गर्छ । गुणस्तरीय शिक्षाको लागि बूढानीकलण्ठ स्कुल एउटा ऐतिहासिक धरोहर हो । यसले जे गर्छ अन्य स्कुलले पनि त्यसको नक्कल गर्न खोजेको हामीले पाएका छौं । यो स्कुललाई हामीले नमुना स्थापित गर्दै जानेछौं । बूढानीलकण्ठ स्कुल एउटा यस्तो स्कुल हो जहाँ कक्षा कोठामा मात्रै पढाई हुँदैन, बाहिर पनि पढाई, सिकाई र भोगाई हुन्छ । म त्यसकै लागि अहोरात्र लागिरहेको हुन्छु । 

यहाँ कक्षा पाँचमा पढन करिब एक–डेढ लाख रुपियाँ खर्च लाग्ने गर्छ । तर त्यही पैसामा खाना, बस्न र ड्रेस समेतको व्यवस्था सबै स्कुलले नै गर्छ । यसले गर्दा बूढानीकलकण्ठ स्कुल अरूभन्दा धेरै फरक पनि छ । त्यति महङ्गो पनि छैन् । यो विद्यालय सार्वजनिक शैक्षिक गुठी अन्तर्गत संचालित विद्यालय हो । शिक्षा मन्त्रालयले नै यहाँको स्वामित्व बहन गर्छ । सरकारले छात्रवृत्तिमा अध्ययन गरेका विद्यार्थीको शुल्क तिरिदिने गर्छ । सरकार बूढानीकण्ठ स्कुलको एउटा गुठीयारी हो । तर यहाँको व्यवस्थापन छुट्टै हो । 

यहाँका शिक्षक सरकारी दरबन्दीमा काम गर्नुहुन्न । हामीसँग ८१ जना शिक्षक हुनुहुन्छ । त्यसबाहेक एक सय ७१ जना कर्मचारी हुनुहुन्छ । शिक्षकहरूको तलब सुविधा सरकारबाट नभई स्कुलले नै आन्तरिक व्यवस्थापन गर्नुपर्छ । सबैलाई बूढानीकण्ठ स्कुल सरकारी स्कुल  हो भन्ने ठूलो भ्रम छ । तर वास्तविकता अर्कै छ । गुठीको जग्गामा स्कुल सञ्चालित छ । यसको हकदार सरकार हो । सरकारले यहाँका एकतिहाई विद्यार्थीलाई छात्रवृत्ति दिन्छ । तर सरकारी विद्यालयमा जस्तो यहाँ शिक्षकले सरकारी तलब खाँदैनन् । स्कूलले सरसफाई कर्मचारी मात्रै २५ जना राखेको छ । 

स्कुलबाट अध्ययन पूरा गर्दा विद्यार्थीको हातमा प्रमाणपत्र हुन्छ । तर सो अनुसारको सीप र व्यवहारिक ज्ञानको अभाव देखिन्छ नि । किन ?
हाम्रो शिक्षा प्रणाली नै सैद्धान्तिक किसिमको छ । विद्याथीलाई कोरा किताब पढाउन घोकाउन मै केन्द्रित गरिन्छ । तीन घण्टामा राम्रो उत्तर लेख्दा उत्कृष्ट हुने र लेख्न नसक्दा तल पर्यो भन्ने प्रणाली छ । यही तीन घण्टामा विद्यार्थीको क्षमता मापन गर्ने प्रणालीले यस्तो समस्या निम्त्याएको हुनसक्छ । तर बूढानीकलण्ठ स्कुलले विद्यालय शिक्षालाई जीवनउपयोगी बनाउनुपर्छ भनेर लागिरहेको छ । यहाँबाट जाने विद्यार्थीले हातमा प्रमाणपत्र र आवश्यक सीप पनि जान्नुपर्छ भन्ने हाम्रो मान्यता हो । 

शिक्षा यस्तो होस् जसले उसलाई जीवन नयाँ काम गर्नको लागि प्रेरित गरोस् । विद्योता दिओस् । उ विद्धान बनोस् । हामीले दिएको शिक्षाले विद्यार्थी उत्पादनसँग जोडिनुपर्छ । रोजगारी खोज्ने होइन । रोजगारीको सिर्जना गर्ने तथा अरूलाई रोजगारी दिने किसिमको हुनुपर्छ । 

शिक्षा जस्तो संवेशनशील क्षेत्रमा नीति निर्माण गर्न र आवश्यक निर्णय पनि समयमा गर्न ढिला सुस्ती हुने गरेको छ । समस्या कहाँनेर छ ? 
वास्तवमा नेपालको शिक्षा क्षेत्रमा समस्या धेरै तिर छ । बढी चाहीं हामीले सरकारी तहबाटै हुने काममा समस्या रहेको पाउँछौं । शिक्षा ऐन कस्तो ल्याउने ? शिक्षा कस्तो हुनुपर्छ ? भन्ने कुरामा नै अलमल छ । शिक्षा कस्तो हुने भन्ने एउटा योजना बन्न सकेको छैन् । अहिले त यस्ता धेरै कुरा अन्योलमै गएका छन् । 

हामीले कस्तो खालको नागरिक तयार पार्ने ? भन्ने कुरा त स्पष्ट हुन पर्यो नि । त्यसमा कुन तहका विद्यार्थीलाई के सिकाउने भन्ने कुरामा प्रष्ट छैनौ । हाम्रो शिक्षा कस्तो भयो भने राम्रो ग्रेड भए पुग्ने । बच्चाले कति सिकेको छ ? भन्ने कुरा महत्वपूर्ण हुनुपर्ने हो । यसमा सरकारको तर्फबाट नै शिक्षालाई सीप, दक्षता र व्यवहारिकतासँग जोडेर स्पष्ट योजना बनाउन जरूरी छ । शिक्षा ऐनकै कारण व्यवस्थापकीयलगायत धेरै कुरा अलमलमा छन् ।

सरकारले निजी क्षेत्रलाई जहाँ लगाम लाउनुपर्ने हो, त्यहाँ चुपचाप छ । सरकारले उनीहरूलाई यसरी जानुस् भन्नुपर्ने हो । लगाम लगाउन सकेको छैन् । त्यस्तै, अर्को शिक्षा चाहीं पहुँचवालाको लागि मात्रै छ । हिजोसम्म हामीले एउटा सामान्य सामुदायिक विद्यायलय पढेर यत्तिकोसम्म बन्ने मौका पायौं । तर आज त्यो सामूदायिक विद्यालयमा पढ्ने विद्यार्थी भोलिका दिनमा हामी जतिको बन्ने अवसर पाउने अवस्था पनि छैन् । किनभने अहिले त प्रतिस्पर्धा बढेको छ । शिक्षा त अहिले वर्गसँग जोडिएको छ । धनीले शिक्षा लिने किसिमका विद्यालय एक किसिमका छन् । गरिबले पढ्ने स्कुल अर्को किसिमका छन् । वास्तवमा यस्तो हुनुहुँदैन । 

शिक्षा सिकाईसँग जोडिएको छैन् त उसो भए ?
शिक्षा सिकाईसँग पटक्कै जोडिएको छैन् । यो त अहिले वर्गसँग पो जोडिएको देखिन्छ । हाम्रा सरहरूले पनि मच्ची मच्ची पढाउनुहुन्छ । तर विद्यार्थीको नतिजा भने शुन्य हुन्छ । शिक्षकले पढाउने काम गर्नुभयो । तर सिकाउने काम गर्नु भएन जस्तो लाग्छ । 

अब बूढानीलकण्ठ नयाँ शैलीले अघि बढ्नुपर्छ । विगतमा यो स्कुलले ठूलो इतिहाँस बोकेको थियो । सोही इतिहाँसकै कारण यो विद्यालय ५० वर्ष चल्यो । धकेलियो । अब हामीले त्यही पूरानो तरिकाले नै आउने ५० वर्ष धेकेल्छौं भनेर सोच्नु चाहीं मूर्खता हो । त्यसैले हामीले अब प्याराडाइम सिप्ट गर्नुपर्छ । समय परिस्थिति, विश्वका नयाँ प्रविधि तथा शिक्षा क्षेत्रका नयाँ आयामलाई हेरेर हामीले बूढानीलकण्ठ स्कुललाई नवीनतम ढंगले चलाउनुपर्छ ।

समयअनुसार आफूलाई बदलेकाले नै आज सयौं वर्षको इतिहास रच्न क्याम्ब्रिज, अक्सफोर्ड विश्वविद्यालय सफल भएका हुन् । हामीले पनि त्यो कुरा कदापी भुल्नु हुन्न । गलत अर्थ नलागोस ! तर दरबार स्कुल  खै त कहाँ छ ? पूरानो विरासत जहाँ छ, त्यसमै रह्यो । नबदलिएका कारण नै दरबार स्कुल हराएको जस्तो लाग्छ । हामीले दरबार स्कुललाई सकारात्मकरूपमा हेर्नुपर्छ । त्यसलाई एउटा उदाहरण मानेर अघि बढ्नुपर्छ । 

बूढानीलकण्ठ स्कुलको नयाँ योजनाहरू के–के छन् ?
हामीले यहाँ आविष्कार केन्द्रको सुरूवात गर्दैछौं । महावीर पुनलाई बोलाएर आविष्कार केन्द्र स्थापना गर्न लागेका हौ । हामीले ‘मेकर्स स्पेश’ बनाउँदैछौं । यो चाही आविष्कार केन्द्रकै रूप हो जहाँ विद्यार्थीले आफूले इच्छाएको प्रयोग गर्न सक्छन् । नेपालका अरू विद्यालयमा यस्तो अभ्यास भएको छैन् । यसका लागि बूढानीलकण्ठ स्कुल नै पहिलो विद्यालय हो ।  हामीलाई ३५ लाख रूपियाँ सहयोग सरकारबाट प्राप्त भएको छ । गत वर्ष ५० लाख रूपियाँ खर्च गरेर हल तयार गरेका थियौं । यहाँ रोबोटिक प्रयोग हुन्छ । यसलाई नेपाली स्कुल क्षेत्रले नै सम्झिने हिसाबले हामीले आविष्कार केन्द्र बनाउँदै छौं । यति सफलता पाएमा अर्को ५० वर्ष बूढानीकण्ठ स्कुल नेपालको नमूना विद्यालयकै रूपमा कायम रहन्छ । अरू स्कुलमा कक्षा कोठामै विद्यार्थी सीमित हुनुपर्ने बाध्यता छ । 

हामीले स्कुलको उत्तर भेगमा रहेको जग्गामा अहिले उत्पादनमूलक खेती गरिरहेका छौं । विद्यार्थीले सीप, उत्पादनसँग जोडिन पाउँछन् भने अर्गानिक खाना खान पनि पाउँछन् । हामीले विद्यार्थीलाई खेती गराउन ऋण पनि दिने गरेका छौं । उनीहरूले आफ्नै विद्यालयमा गोलभेडा रोपेर आफ्नै क्यान्टिनमा बेच्छन् । यो चाहीं उनीहरूले धेरै कुरा सिक्ने अवसर पाउन भनेर गरेको हो । अहिले हामीले विद्यार्थीलाई श्रमको महत्व बुझाउँदै आएका छौं ।

हामीले अडिटरियम हल पनि बनाउँदै छौं । आगामी दुई–तीन वर्षपछि कसैले बूढानीकलण्ठ स्कुल  हेर्न आउँछ भने उसले ठूलो हल देख्ने छ । अडिटोरियमको डीपीआर तयार गरेर टेण्डर प्रक्रियामा गइसकेको छ । केही पैसा हामीसँग छ । आर्थिक वर्ष २०७६–७७ मा हामीले सरकारबाट एक करोड रूपियाँ प्राप्त गरेका थियौं । त्यस्तै, आर्थिक वर्ष ७७–७८ मा पाँच करोड प्राप्त गरेका छौं । साथै, हामीले ३५ करोड रुपियाँको लगानीमा ठूलो सभाहल बनाउँदैछौं । त्यहाँ हाम्रा विद्यालय मात्रै नभई त्यसलाई राष्ट्रिय तालिम केन्द्रको रूपमा स्थापना गर्ने योजना बनाएका छौं । 
अन्य विद्यालयका दुई–चार सय विद्यार्थी, शिक्षकलाई यही राख्न मिल्ने किसिमको सभा हल बनाउने छौं । यहाँ विभिन्न क्षेत्रसँग सम्बिन्धित कार्यक्रम चलाउँछौं । बूढानीलकण्ठ स्कुल अब एउटा शैक्षिक संस्थामा मात्र सीमित नरहेर अब राष्ट्रिय रिसर्च एण्ड ट्रेनिङ सेन्टरको रूपमा स्थापित हुन्छ । अब हाम्रा प्रोडक्ट अझै फरक बन्छन् भन्ने लाग्छ ।

नेपाली शिक्षा क्षेत्रमा नै ऐतिहासिक विरासत बोकेको बूढानीलकण्ठ स्कुलमा राजनीतिक बाछिटाले हानेको सुनिन्छ नि । काम गर्न तपाइलाई केही समस्या छन् कि ?
सरकारको सचिव नै यस स्कुलको अध्यक्ष हुने व्यवस्था छ । सरकारको छायाँ पर्ने ठाउँमा राजनीति नै हुँदैन भन्न त सकिन्न । यसलाई हामी सबैले स्वीकार्नुपर्छ । तर म ठोकुवाका साथ के भन्न सक्छु भने राजनीतिको कारण बूढानीलकण्ठ स्कुल  बिग्रिएको छैन् । मैले त विभिन्न राजनीतिक पार्टीले राख्ने भिजनलाई अवसर सझ्निेगर्छु । किन भने उहाँहरूले आफ्नो भिजन राख्दा हामीले पनि आफ्नो भिजन राख्न पाउँछौं । 

यहाँ केही पनि राजनीतिक हस्तक्षेप भएको छैन । अझै म के कुरामा प्रष्ट पार्न चाहान्छु भने बूढानीलकण्ठ स्कुल भित्र हामी कुनै पार्टीमा छुट्टिएको छैन् । हाम्रो विद्यालयका सबै शिक्षक र विद्यार्थी समान हुन् । यो स्कुलमा अहिलेसम्म युनियन पनि छैन् र अहिलेसम्म केही समस्या पनि आएको छैन् । त्यसैले राजनीतिक प्रभावमा परेर  स्कुललाई असर हुने काम गर्दैनौं । स्कुलको हितमा हुने कुनै निर्णयमा भने बरू राजनीतिक दलले चासो दिनुपर्छ । किनकी स्कुलसँग त धेरै जना जोडिनु भएको छ । धेरै विद्यार्थीको भविष्य पनि जोडिएको छ ।

अन्तिममा आम नागरिकमा के सन्देश छाड्न चाहानुहुन्छ ?
अन्य शिक्षक साथीहरूले जस्तै मैले पनि यही क्षेत्रमा जिन्दगी बिताईरहेको छु । शिक्षा क्षेत्र भनेको अन्य कुनै क्षेत्रभन्दा निकै महत्वपूर्ण क्षेत्र हो । शिक्षा क्षेत्र राम्रो भएमा अन्य क्षेत्र पनि राम्रो हुन्छ । तर शिक्षा क्षेत्रमै गडबडी भयो भने त्यसको प्रभाव अवश्य पनि अन्य क्षेत्रमा देखिन्छ । हामीले शिक्षा क्षेत्रलाई विशेष ध्यान दिनुपर्छ । अब त शिक्षामा नयाँ आयाम नै सुरू गर्ने बेला भइसकेको छ । पूरानाको तरिका, पूरानो विरासत र सैद्धान्तिक ज्ञान मात्रै बाँडेर शिक्षा अपुरो हुन्छ । अपूर्ण हुन्छ । 

अब विद्यार्थीले ग्रेड राम्रो ल्याउन त जरूरी छ नै । यससँगै आफ्नो घरको काम गर्न जानेमा जीवन चलाउन थप सहज हुन्छ ।  अब विद्यार्थीले गमलामा पानी हाल्न, कुकरमा चामल हालेर बसाल्न, बिजुलीको स्विच बनाउन सिक्नुपर्छ । अब विद्यार्थीले पढ्ने र विदेश जाने मात्र सोच राख्नेभन्दा पनि देशमै केही गर्छौं भन्ने सोच्नुपर्छ । शिक्षा क्षेत्र अब त्यस्ता गतिविधिमा जोडिनुपर्छ । शिक्षा जीवन उपयोगी हुनुपर्छ भन्ने कुरा निकै महत्वपूर्ण कुरा हो । यसलाई सबैले मनन् गर्ने र लागू गर्न केन्द्रित हुनुपर्छ । 

Advertisement

Advertisement