इन्टरनेट सेवा प्रदायक लुप नेटवर्क पब्लिक कम्पनी बन्यो, दुई बर्षभित्र आईपीओ जारी गर्ने

Advertisement

काठमाडौं । विगत पाँच बर्षदेखि प्राइभेट कम्पनीको रुपमा इन्टरनेट सेवा प्रदान गर्दै आएको लुप नेटवर्क प्रा.लि. पब्लिक कम्पनीमा रुपान्तरण भएको छ । अग्नि समूहअन्तर्गतको यस कम्पनीले दुई बर्षभित्र सर्वसाधारणका लागि समेत प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने गरी कम्तिमा एक अर्ब रुपियाँ लगानी गर्ने योजना अघि बढाएको छ । कम्पनीले यस्तो लगानी पाँच बर्षभित्र गरिसक्ने छ ।  

कम्पनीका अध्यक्ष सतिश पोखरेल भन्छन, ‘अब चाहीं हामी ठूलो योजनासहित पब्लिक लिमिटेड भएका छौं । सेयरहोल्डर पनि थपेका छौं । दुई बर्षभित्रमा आईपीओमा जाने पनि योजना छ ।’ आक्रामक बजार विस्तारसहित आउन लागेको लुप नेटवर्कले आउँदो पाँच बर्ष भित्रमा नम्बर वान आईएसपी (इन्टरनेट सेवा प्रदायक) बन्ने लक्ष्य लिएको छ । 

Advertisement

आईएसपीतर्फ प्राइभेटबाट पब्लिक भएको यो दोस्रो कम्पनी हो । यसअघि वल्डलिङ पनि प्राइभेटबाट पब्लिकमा गएको थियो । सिजी नेट र डिशहोम भने सुरुमै पब्लिक लिमिटेडको रुपमा स्थापना भएका हुन् । अहिलेको ग्राहक आधारलाई पनि गुणात्मकरुपमा वृद्धि गर्ने योजना बनाएको लुप नेटवर्कले पाँच बर्षभित्र एकदेखि डेढ लाख ग्राहक आधार पुर्याउने लक्ष्य लिएको छ । 

अहिले लुप नेटवर्कको फाइबर नेट सर्भिस काठमाडौंसहित नवलपरासी, धनुषालगायतका स्थापनामा विस्तार भएको छ । यी जिल्लामा लुप नेटवर्कको ठूलो उपस्थिति छ भने पूर्वमा विस्तार हुने क्रममा छ । प्रदेश ५ को बर्दघाटदेखि धुमई हुँदै परासी र आसपासका क्षेत्र, भैरहवा, प्रदेश २ को ढल्केबर, जनकरपुर, जलेश्वरमा लुप नेटवर्कको राम्रो उपस्थिति छ । पूर्वमा विराटनगर, दमक, उर्लाबारीलगायतका क्षेत्रमा पनि सेवा विस्तार भइरहेको छ । शहरभन्दा ग्रामिण क्षेत्रमा बढि सेवा दिइरहेको यस कम्पनीले अब शहर ग्रामिण क्षेत्र दुवैमा प्रतिस्पर्धी ढंगले सेवा विस्तार गर्ने रणनीति बनाएको छ । 

ग्रामिण क्षेत्रमा न्यून आयस्तरका मानिसको बढि बसोबास हुने भएकाले सानो खालका प्याकेजहरू उपलब्ध गराउँदै आएको छ । इन्टरनेट सेवासँगै नेट टिभीसमेत उपलब्ध गराउँदै आएको लुप नेटवर्कले आगामी दिनमा आफ्नै टेलिभिजन सेवाको आधार तयार गर्ने कुरामा पनि गृहकार्य भइरहेको अध्यक्ष पोखरेलले बताए । त्यो नहुँदासम्म नेट टिभीसँगको साझेदारीमा कम्पनीले टेलिभिजन सेवा दिनेछ । 

अझै पनि घरपरिवारको इन्टरनेट जडानको तथ्यांक हेर्ने हो भने १५ प्रतिशतमा मात्रै इन्टरनेट जडान भएको र ८५ प्रतिशत बजार अझै खाली भएकाले बजारको समस्या नहरेको बताउँदै अध्यक्ष पोखरेलले मुख्य कुरा सहज र सुलभ सर्भिस नै हो भन्छन । मोवाइल प्रयोगकर्ताको आधारमा इन्टरनेटको पहुँच ८५ प्रतिशतदेखि ८९ प्रतिशत पुगेको नेपाल दूरसञ्चार प्राधिकरणको अनुमान भए पनि फिक्स ब्रोडब्याड इन्टरनेट प्रयोगकर्ता जम्मा १५ लाखको हाराहारीमा मात्रै रहेको देखिन्छ । शहरी क्षेत्रमा ग्राहक तान्न केही प्रतिस्पर्धा भए पनि राम्रो सेवा प्रतिस्पर्धी मूल्यमा दिने हो भने बजार विस्तारमा समस्या नहुने बताउँदै अध्यक्ष पोखरेलले ग्रामिण क्षेत्रमा त इन्टरनेटको पहुँच पुग्न नै बाँकी रहेकाले आफूहरूलाई सेवा विस्तार गर्न कुनै समस्या नहुने विश्वास व्यक्त गरे । 

नयाँ ढंगले अघि बढ्ने क्रममा लुप नेटवर्कले नयाँ प्रविधिको प्रयोग गर्ने तयारी समेत गरेको छ । कम्पनीले ह्वावे, जेटीई र नोकियामध्ये कुनै एक प्रविधिको डिभाइस प्रयोग गर्ने तयारी गरेको छ । अध्यक्ष पोखरेल भन्छन, ‘अहिलेको प्रतिस्पर्धी समयमा उच्च गुणस्तरको सेवा दिन सकिएन भने पछि परिन्छ । त्यसकारण विश्वस्तरको प्रविधिका उपकरण गर्न हामीले कुरा अघि बढाएका छौं । ह्वावे, जेटीई र नोकियामध्ये कुनै एकको प्रविधि हामी प्रयोग गर्छ । कुरा भइरहेको छ । चाँडै नै यसको टुँगो लाग्छ ।’ 

Advertisement

Advertisement