अमेरिकी विदेशमन्त्रीले देउवालाई फोन गरेर एमसीसीलगायतका विषयमा चासो राखे

Advertisement

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी विदेशमन्त्री एन्टोनी जे ब्लिंकेनबीच मंगलबार टेलिफोनमा कुराकानी भएको छ ।

अमेरिकी विदेशमन्त्री एन्टोनीले टेलिफोन गर्दै नवनियुक्त प्रधानमन्त्री देउवालाई बधाइ दिनुका साथै, एमसीसीसँगको सम्झौता अनुमोदन, कोरोनाविरुद्धको खोप सहायता, जलवायु परिवर्तनका विषयमा कुराकानी गरेका छन् । 

Advertisement

प्रधानमन्त्री देउवाले कोरोना नियन्त्रणका लागि अमेरिकी सहायताका लागि धन्यवाद दिएका थिए । साथै, थप खोप सहायताका लागि आग्रह पनि गरेका थिए । परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको छ भने अमेरिकी विदेशमन्त्री एन्टोनी स्वयमले पनि ट्वीट गर्दै देउवासँगको संवादबारे लेखेका छन् ।

ट्वीटमा भनिएको छ, ‘नेपालका प्रधानमन्त्री शेरबहादुर देउवासँग आज कुरा गर्न पाउँदा मलाई खुसी लाग्यो । अमेरिका नेपाल साझेदारीको प्रगति साथै कोभिड १९ विरुद्ध हाम्रो साझा लडाइँ र जलवायु परिवर्तनको असरबारे हामीले छलफल गर्‍यौं ।’

टेलिफोन संवादमा देउवाले नेपालको सामाजिक आर्थिक विकासमा निरन्तर सहयोग गरेकोमा अमेरिकी सरकारलाई धन्यवाद दिएको उल्लेख गर्दै परराष्ट्रले विज्ञप्तिमा एमसीसीसहित नेपालका विकासका प्राथमिकता क्षेत्रबारे पनि छलफल भएको उल्लेख छ । जलवायु परिवर्तनका असर तथा नेपाल जस्ता हिमाली देशहरुको अर्थतन्त्रमा पार्ने असरबारे पनि उनीहरुबीच कुराकानी भएको जनाइएको छ । 

यसवाहेक विदेशमन्त्री एन्टोनीमार्फत प्रधानमन्त्री देउवाले अमेरिकी राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई समेत बधाइ तथा शुभकामना सन्देश पठाएका थिए । साथै बाइडेन प्रशासनसँग नजिक भएर काम गर्न इच्छुक रहेको पनि देउवाले व्यक्त गरेका थिए ।

Advertisement

Advertisement