सिन्धुलीगढीको युद्ध सङ्ग्रहालय राष्ट्रपति भण्डारीबाट उद्घाटन

Advertisement

सिन्धुली । सिन्धुलीगढीमा नेपाली सेनाद्वारा निर्मित युद्ध सङ्ग्रहालयको आज राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छिन् । 

सिन्धुलीगढी युद्ध सङ्ग्रहालय भवनको निर्माण काम न्यू ड्रागन–सिद्धगढी जेभी कोटेश्वरले गरेको थियो । भवनको डिजाइन आर्किटेक्निक डेभलपमेन्टले गरेको हो । यस्तै भित्री सजावटको काम अल्टरनेट इन्फ्रास्ट्रक्चर प्रालि धुलिखेलले गरेको छ ।

Advertisement

सङ्ग्रहालयमा युद्धकालीन अवस्थाका पात्र, सिन्धुलीगढी युद्धका घटनाक्रम, सैनिकका आँखामा युद्धको परिदृश्य, सिन्धुलीगढी युद्धका वृत्तचित्र, चरणबद्ध युद्धका चित्र, तत्कालीन युद्धमा प्रयोग भएका घरेलु हतियार, युद्धकालीन हातहतियार, अङ्ग्रेजहरुले प्रयोग गरेका तोप, नेपाली योद्धा, बेलायती योद्धा, नेपाली योद्धाका कलाचित्र, मिथिला कला, बेलायतीहरुको नाममा बनाइएका स्तम्भ, युद्धकालीन शिलालेख, ऐतिहासिक दस्तावेज तथा इतिहासका पुस्तकालय राखिएको छ ।

सिन्धुलीगढी युद्ध सङ्ग्रहालयको विसं २०७३ कात्तिक २४ गते पूर्वउपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले शिलान्यास गरेका थिए । नेपाल एकीकरणका क्रममा विसं १८२४ असोजमा सिन्धुलीगढीको युद्धमा काठमाडौँ कब्जा गर्न इष्टइन्डिया कम्पनीका कप्तान किनलोकको नेतृत्वमा आएको आधुनिक हतियारले सुसज्जित अङ्ग्रेज सेनालाई बंसु गुरुङको नेतृत्वमा गोर्खाली सेनाले हराएको जानकारहरु बताउँछन् ।

उद्घाटनपछि उक्त सङ्ग्रहालय कमलामाई नगरपालिकालाई हस्तान्तरण गरिएको छ । 

वीर योद्धाको शालिक अनावरण
यसैबीच, प्रधानसेनापति पूर्णचन्द्र थापाले विसं १८२४ असोजमा मातृभूमिको सुरक्षा र अखण्डताका लागि अङ्ग्रेज सेनालाई परास्त गर्ने चार वीर योद्धाको शालिक अनावरण गरेका छन् ।  

सिन्धुलीगढीमा भएको युद्धमा नेपालले इष्टइन्डिया कम्पनीको अङ्ग्रेज सेनालाई परास्त गरेको थियो । ऐतिहासिक युद्धस्थलमा आज आयोजित कार्यक्रममा प्रधानसेनापति थापाले १८२४ को युद्धमा फिरङ्गी शत्रुलाई परास्त गर्ने काजी वंशीराज पाण्डे, श्रीहर्ष पन्त, शिकारी अफिसर वंशी गुरुङ र खजाञ्ची वीरभद्र उपाध्यायको शालिक अनावरण गरेका हुन् । नेपाली सेनाको समन्वयमा कमलामाई नगरपालिकाले शालिक निर्माण गरेको हो । 

Advertisement

Advertisement