युनियन र व्यवस्थापनको चेपुवामा बोर्डका कर्मचारी, सूचना चुहाएको विषयमा छानबिन समिति

Advertisement

काठमाडौं । नेपाल पर्यटन बोर्ड व्यवस्थापन र कर्मचारी युनियनको चेपुवामा नेपाल पर्यटन बोर्डका कर्मचारी परेका छन् । व्यवस्थापनले आफ्नो अनुुकुल काम गर्ने कर्मचारी परिचालन गर्ने र कर्मचारी युनियनले पनि दबावपूर्ण सूचनामार्फत सचेत गराउनदा खोज्दा बोर्डका कर्मचारी आतंकित बनेका छन् ।

पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. धनन्जय रेग्मीले आफू अनुकुल काम गराउन खोज्दा कर्मचारीले विधि विधान तथा प्रक्रिया अनुसार जान सुझाव दिएका थिए । उक्त सुझावलाई कार्यालय प्रमुखले चाहिँ आफूले अह्राएको काम कर्मचारीले नमानेको भन्दै इगो साँच्न खोजेपछि बोर्डका कर्मचारीबीचमै बेमेल सिर्जना भएको छ ।

Advertisement

बोर्डका सीर्ईओ रेग्मीले बोर्ड हल बनाउन प्रक्रिया नपुर्याई गरेको कार्यलाई साथ नदिएको भन्दै कर्मचारीप्रति गरेको व्यवहारबाट असन्तुष्ट हुने करिब १० जना कर्मचारी छन् । बोर्डका सीईओले भने जस्तै काम गर्न कर्मचारी तयार भएपनि तोकिएको विधि विधान र प्रक्रिया भने पुग्नुपर्ने बताउने कर्मचारीलाई नरुचाएका कारण बोर्डमा कार्यरत करिब ५५ जना कर्मचारीबीच एक आपसमै बेमेल छ । सीईओले कर्मचारीलाई नै विश्वास नगर्दा सरुवादेखि जिम्मेवारी बिहिनसम्म बनाएका पनि बोर्डकै कर्मचारी बताउँछन् ।

सीईओ रेग्मीले कर्मचारीलाई गरेको व्यवहारले गुटगट वातावरणको सिर्जना भएको र कर्मचारीबीच सौहार्दपूर्ण वातावारण नभएको नेपाल पर्यटन बोर्ड कर्मचारी युनियनका अध्यक्ष गोपाल भण्डारी बताउँछन । उनी भन्छन्, ‘सीईओको गुटले अरु कर्मचारीलाई पेल्ने, काम गर्न सहजीकरण नगर्ने र अर्को गुटले पनि सहयोग नगरेको अवस्था भने बोर्डभित्र देखिएको छ ।’ 

भण्डारीले भने ‘सीईओ रेग्मीप्रति अलि धेरै बुझेको, डाइनामिक व्यक्तित्व भएको र सबैलाई मिलाएर लैजाने क्षमता होला भन्ने कर्मचारीको अपेच्छा पूरा नहुँदा सौहार्दता नभएको हो ।’ जसका कारण कार्यालयकै गोप्य सूचना बाहिरिने, संस्थाकै छवि धमिलो बनाउने प्रयास भइरहेको पाइयो । जसका कारण कर्मचारी युनियनले कार्यालयकै विधि विधान सम्झाउन नै ध्यानाकर्षण गराएको पनि भण्डारी बताउँछन् ।

कर्मचारी युनियनले समग्र कर्मचारीको हकहितको पक्षमा बोल्नुपर्ने र संस्थाको छवि धमिलो बनाउनु हुँदैन भन्ने सोचाइ राख्ने भएकोले पनि ध्यानकर्षण गराएको कर्मचारी युनियनको भनाइ छ । कार्यालय भित्रै कर्मचारीबीच सहयोग नहुने, प्रक्रियागत रूपमा हुनुपर्ने काम नहुने र सीईओले नै ७/८ जना कर्मचारीप्रति नकारात्मक सोचाई राखेर ग्रुपिङ गरेको कर्मचारी युनियनले दाबी गरेको छ।

सूचना चुहाएको विषयमा छानबिन हुँदै
कर्पोरेट नेपालमा २५ असारमा सार्वजनिक भएको ‘पर्यटन बोर्डमा बेथितिः खरिद ऐन छल्न साढे २८ लाखको बजेटलाई आठ टुक्रा’ शीर्षकको समाचार आएपछि त्यसको छानबिन गर्न एक समिति बनेको छ । बोर्ड भित्रैका कर्मचारीले सूचना दिएको र सीईओलाई अप्ठ्यारो पार्ने काम गरेको भन्दै एक छानबिन समिति बनाएर त्यसलाई अवश्यक अध्ययन गरी प्रतिवेदन दिने जिम्मा दिइएको छ ।

सीईओले गोप्य सूचना चुहाएर कार्यालयको छवि धमिल्याउन खोजेको र सूचना चुहाउने कर्मचारीलाई कारवाही गर्ने भन्दै तीन सदस्यीय छानबिन समिति गठन गरेका छन् । बोर्डका निर्देशक नन्दिनी लाहे थापाको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन भएको छ । समितिका सदस्यद्वय बोर्डकै कर्मचारी सूर्य थपलिया र गोविन्द ओली छन् ।

कार्यालय प्रमुखले कार्यालयको गतिविधि निगरानी गर्न र कार्यालयको सामान्य प्रक्रिया अनुसार काम गर्न छानबिन समिति गठन भएको बोर्डका प्रवक्तासमेत रहेकी छानबिन समिति संयोजक थापाले बताइन् । उनका अनुसार सीईओले कार्यालयको सामान्य प्रक्रिया अनुसार नै एक साता अगाडि समिति गठन गरेका हुन । उक्त समितिले आफ्नो काम गरिरहेको थापाले जानकारी दिइन् । थापा कार्यालयको यो सामान्य प्रक्रिया पनि भएकोले सीईओले जिम्मेवारी दिएपछि गर्नुपर्ने भन्दै कर्मचारीले आफ्नो काम गरिरहेको पनि बताउँछिन् ।

बोर्डका अध्यक्ष भण्डारी कार्यालय भित्रको आन्तरिक हिसाव किताबका कुरा अंकसहित मिडियामा आएको बताउँछन् । त्यस्तो सूचना बाहिर जानै नहुने तथा बाहिर आउँदा पनि औपचारिक प्रणालीबाट नभएको विषयमा कर्मचारीको ध्यानाकर्षण भएको बताउँछन् । भण्डारी भन्छन्, ‘संस्थाको आन्तरिक विषय मिडियामा जानुले संस्थाको छवि नराम्रो बनाएकोले कर्मचारी युनियनको दायित्व अनुसार नै ध्यानकर्षण गराइएको छ ।

पर्यटन बोर्डमा बेथितिः खरिद ऐन छल्न साढे २८ लाखको बजेटलाई आठ टुक्रा

लोकसेवाको सिद्धान्त विपरित बोर्डमा कर्मचारी, व्यक्ति हैन संस्था बनाउन गएको हो: सीईओ

कर्मचारी युनियनको सचेतना पत्र


 

यस्तो थियो बोर्डले लुकाउन चाहेको सूचना
पर्यटन बोर्डले खरिद ऐन तथा बोर्डकै आर्थिक विनियमावली छलेर महामारीको बेला सीईओ रेग्मीको कार्यकक्षसहितको बोर्ड हल मर्मत गरेको थियो । बोर्डले साढे २८ लाख रुपियाँ खर्चिएको यो काम एउटै प्याकेजमा हुनुपर्ने भएपनि सार्वजनिक खरिद ऐन छल्न र अख्तियारको छानबिनबाट जोगिने उपाय खोज्दा एउटै प्याकेजको कामलाई आठ टुक्रा पारेको थियो । उक्त काम गर्दा बोर्डले तयार पारेको कामको विवरणलाई आधार बनाएर कर्पोरेट नेपालले सामाचार सार्वजनिक गरेको थियो । सूचना चुहिएको भन्ने थप विवरण यस्तो छ ।

 

Advertisement

Advertisement