प्रविधिको विकाससंगै खस्किरहेको शिक्षाको गुणस्तर

Advertisement

– सम्झना बरुवाल ///

भनिन्छ शिक्षा जीवनको ज्योति हो, अशिक्षा र अज्ञानताको उज्यालो हो । विकासको बाटो हो अनि चेतनाको एउटा परिवर्तनशील पाटो हो । शिक्षा जीवनको एउटा अभिन्न अंग हो । ढुङ्गे युगदेखि आधुनिक समाजसम्म आइपुग्दा पनि सिकाइ र शिक्षाको महत्व र आवश्यकता अपरिहार्य छ । 

Advertisement

पाटीमा कोरिएका अक्षरहरूको सुरुवातदेखि आधुनिक प्रविधिसम्म आएको शिक्षाको विकासक्रमलाई हेर्दा स्रोत र साधनको विकास भएतापनि शिक्षाको गुणस्तर भने खस्किरहेको देखिन्छ । प्रविधिले फड्को मारे पनि उचित स्रोत र साधनको अभावमा गुणस्तरीय शिक्षा प्राप्त गर्न अझै कठिनाइ छ । 

ग्रामीण भेगदेखि शहरका विद्यालय तथा विश्व विद्यालयहरूमा अझै विद्यार्थीहरूको चाहना र आवश्यकता अनुसारका स्रोत र साधनको समुचित रूपमा उपयोग गर्न पाइरहेका छैनन् । पाठ्यक्रमले निर्धारण गरेका उद्देश्यहरू पुरा हुन सकिरहेको छैनन् प्रभावकारी र व्यवहारिक शिक्षा तथा विद्यार्थीको रुचि चाहना आवश्यकता र उनिहरूको क्षमता अनुसारको शिक्षा प्रदान गर्ने उद्देश्य पाठ्यक्रममा मात्र सीमित छ । 

कोभिड–१९ को महामारी संक्रमण र लकडाउनका कारण सिकाइ प्रणाली अवरुद्ध छ, शिक्षण संस्था हरू बन्द छन् । जसका कारण विद्यालय जाने उमेरका बालबालिकाहरूको मस्तिष्कमा पनि एक किसिमकोको नकारात्मक असर परिरहेको छ भने सिकाइ प्रतिको चाहना पनि न्युन हुँदै गएको छ ।  जसले गर्दा शिक्षाको गुणस्तर र प्रभावकारितामा प्रत्यक्ष वा अप्रत्यक्ष दुवै रूपमा असर पारेको छ । 

तसर्थः शैक्षिक कार्यक्रमलाई र सिकाइ प्रणालीमा निरन्तरता दिन विद्यालयमा नियमित पठनपाठन नभएसम्म आ–आफ्नो परिवेश अनुकूल सिक्ने वातावरण सृजना गर्न वैकल्पिक प्रणाली मार्फत विद्यार्थीहरुको सिकाइ सहजिकरण गर्न जरुरी भएता पनि वैकल्पिक शिक्षा प्रणालीमा पनि विभिन्न समस्या र चुनौतीहरु थपिएका छन् ।

शिक्षामा वैकल्पिक शिक्षा प्रणाली अन्तर्गत प्रौढ शिक्षा खुल्ला तथा दूरशिक्षा जस्ता शैक्षिक कार्यक्रमहरु विद्यालय तथा महाविद्यालयमा ल्याइएको भए पनि रेडियो, एफएम, टेलिभिजन, अडिओ, भिडिओ, अनलाइन कक्षाका लागि सिकाइ सामग्रीको व्यवस्थापन सबै पायक पर्ने ठाउँहरु स्थापना गर्न नसक्नु वैकल्पिक शिक्षा प्रणालीका चुनौती रूपमा देखिएका छन् । 

साथै सबै ठाउँमा पर्याप्त विधुत संचार जस्तो आधारभूत पूर्वाधार को सुविधा अझैँ पनि नहुनु सबै अभिभावकहरु आर्थिक रूपमा र प्राविधिक रुपमा सम्पन्न हुन नसक्नु, सबै ठाउँमा इन्टरनेट को पर्याप्त पहुँच हुन नसक्नु सबै शिक्षक, विद्यार्थीहरु र अभिभावकहरु पनि अझै सचेत हुन नसक्नु सबै मानिसहरू हरु अझैँ पनि सूचना तथा संचार प्रविधिसँग घुलमिल हुन नसक्नु र प्रविधिको पहुँच भएका ठाउँमा पनि शिक्षकको शिक्षण प्रतिको सक्रियता र विद्यार्थी को सिकाइ प्रतिको रूचि नहुनु जस्ता वैकल्पिक शिक्षा प्रणालीका चुनौतीले पनि शिक्षाको गुणस्तर झन् झन् खस्किरहेको छ । शहरी क्षेत्रमामा झन् ज्याला मजदुरी गरेर छोराछोरी पढाई रहेका अविभावकहरुले आर्थिक अभावका कारण मोबाइल किन्न नसकेर बत्ती र इन्टरनेटको पैसा तिर्न नसकेर आफ्ना छोराछोरीलाई पढाउन सकिरहेका छैनन् ।

तसर्थः यी सबै समस्याहरूलाई ध्यान मा मा राखेर राज्यले सहज, सुलभ, सस्तो र सबैको पहुँचमा वैकल्पिक शिक्षा कार्यक्रम विस्तारमा जोड दिनुपर्छ ग्रामीण र शहरी दूवै क्षेत्रमा रहेका अति विपन्न वर्गर समुदायको बालबालिकाहरू जो शिक्षा पाउनबाट बन्चित छन् उनिहरूलाई प्राथमिकतामा राखि सिकाइलाई निरन्तरता दिनुपर्छ । अलग अलग स्थानबाट सञ्चालन हुने वैकल्पिक शिक्षा व्यवस्थापनमा समन्वय र एकरुपता कायम गर्न नसकेकाले एकीकृत गर्न आवश्यक देखिन्छ । 

वैकल्पिक शिक्षा शैक्षिक सुधारका लागि अनिवार्य आवश्यक छ त्यसैले शिक्षक विद्यार्थी अविभावक र समाजको मागका साथै सम्पूर्ण शैक्षिक प्रणालीमा सुधार ल्याउनका लागि वैकल्पिक शिक्षा प्रणाली आजको मुख्य माग हो । विश्व आज सूचना सञ्चार र प्रविधिको क्षेत्रमा निकै अघि बढेकोले विद्यार्थीहरूलाई विद्यालय शिक्षामा मात्र सीमित नगरी प्रविधि संगसंगै व्यवहारिक शिक्षा प्रदान गरी शिक्षाको गुणस्तर वृद्धि गर्नुपर्ने देखिन्छ । 

Advertisement

Advertisement