बाल बीमा पोलिसिप्रति जीवन बीमा कम्पनीहरूको चरम असन्तुष्टि, के हो असन्तुष्टिको विषय ?

Advertisement

काठमाडौं । बाल बीमा पोलिसिको ढाँचा नमिलेको भन्दै जीवन बीमा कम्पनीले असन्तुष्टि पोखेका छन् । कम्पनीहरूले यस पोलिसिका केही व्यवस्थाले बीमितलाई ठाडै मर्का पर्ने बताएका छन् । 

के हो असन्तुष्टि ? 
अहिले एक जना मात्र बालबालिकाको बीमा गर्न मिल्दैन । बीमा समितिले दिएको निर्देशनअनुसार नै परिवारमा भएका सबै बालबालिकाको बीमा गर्नुपर्छ ।

Advertisement

यसको मतलब कसैको दुई जना बच्चा छन् भने अभिभावकले दुवै जनाको सँगै बीमा गर्नुपर्ने हुन्छ । यो प्रावधान बीमा समितिले नै पछिल्लो पटक ल्याएको निर्देशनमा आधारित हो । 

विगतका वर्षमा एक जना मात्र बालबालिकाको बीमा गराउँदा त्यसले तीता घटना सिर्जना गर्न थालेपछि रोकिएको बाल बीमामा अहिले समितिले नयाँ मोडल अपनाएको हो । बाल बीमावापत पाइने पैसाको लागि आफ्नै बच्चाको समेत हत्या भएको घटनाले मोडल परिवर्तन गर्नुपरेको समिति बताउँछ । तर बीमा कम्पनीले बाल बीमाको अहिलेको मोडल ठिक नरहेको बताउँछन् । एकपटक दुर्घटना भएपछि गाडि नै चलाउन छोडेको जस्तै बीमाप्रति नियामकले नै आत्मविश्वास गुमाएको संज्ञा बीमा कम्पनीहरूले दिएका छन् ।

बीमा कम्पनीहरूको तर्क– दम्पती बीमा पनि रोकौं न त !
बीमा कम्पनीहरूले बाल बीमा पोलिसि मात्रै परिवर्तन गर्नुको पछाडि केही निहीत स्वार्थ रहेको आरोप लगाएका छन् । एक बीमा कम्पनीका सीईओले भने, ‘दम्पत्ति बीमा पनि रोकौं न त ! अहिले कति श्रीमती, छोरी, बुहारी पनि मारिएका छन् । होइन भने कुनै घटनालाई देखाएर बीमाको दायरा नै साँघुरो बनाउनु राम्रो कुरा होइन । अन्तर्राष्ट्रिय बीमा बजारमा पनि सबैभन्दा महत्वपूर्ण कुरा भनेको स्वतन्त्रता हो ।’

बीमाङ्क लिन बालबालिकाकै हत्या हिंसा बढेको भन्दै समितिले यस्तो निर्णय गरेकोमा कम्पनीहरूले यसले धेरै बच्चा भएका अभिभावकले थोरैको बीमा गर्नबाट बञ्चित रहेको जनाएका छन् । यसले आफ्नो व्यवसाय समेत प्रभावित भएको उनीहरूको भनाई छ । 

तर बीमा कम्पनीहरू पनि उक्त पछिल्लो निर्णयमा त्यति खुशी देखिदैनन् । यसको कारण भनेको कसैले आफ्नो घरको जेठो वा कान्छो सन्तानको बीमा गर्न चाहेमा उनीहरूले समेत बीमा गर्ने अवसर पाउनुपर्ने पक्षमा बीमा कम्पनी छन् । कम्पनीले ६ वटा सन्तान भएका अभिभावकले जतिको मन लाग्छ त्यति जनाकै बीमा गर्छु सबैको गर्दिनभन्दा आफूहरूसँग कुनै जवाफ नहुने गुनासो गरेका छन् ।

सहजीकरण होस्ः कम्पनीहरू
बीमा कम्पनीहरूले बीमा समिति बीमा क्षेत्रकै नियामक निकाय भएकाले समितिको निर्णयलाई मान्नै पर्ने बाध्यता रहे पनि त्रुटी देखिएको ठाउँमा समितिले सहजीकरण गरिदिनुपर्ने उनीहरूको भनाई छ । बाल बीमा गरेका बीमितको मृत्यु भएमा जम्मा २५ प्रतिशत रकम दिइने व्यवस्था छ । बाँकी रहेको ७५ प्रतिशत रकम भने म्याचुअर्डकै अवधिमा दिइन्छ । त्यति बेला वाणिज्य बैंकले दिएको ब्याजभन्दा एक प्रतिशत कम रकम दिने गरिएको छ ।

यसको मतलब अहिले बाल बीमा गरेका बच्चाको मृत्यु भयो भने निजको अभिभावकले २५ प्रतिशत मात्रै रकम पाउँछन् । तर बाँकी रहेको ७५ प्रतिशत रकम भने बीमा गरेको अवधि पूरा (पोलिसी म्याचुअर्ड) हुँदा मात्र पाइने व्यवस्था छ । जीवन बीमा कम्पनीहरूले बालबालिकाको मृत्युपछि तत्कालै भुक्तानी दिन आफूहरू तयार रहेको र सो व्यवस्था लागू गर्न बीमा समितिलाई अनुरोध गरेका छन् ।

के भन्छ बीमा समिति ?
बीमा समितिका प्रवक्ता राजुरमण पौडेलले कर्पोरेट नेपालसँग भने, ‘बाल बीमामा अहिले अभिभावकको समेत जोखिम बहन हुन्छ । बच्चाको मात्रै बीमा अहिले हामो नेपालमा कुनै पनि कम्पनीमा छैन् । बच्चाको कमाई हुँदैन् । त्यसैले अभिभावककै नाममा बीमा हुने गर्छ ।’ पौडेलले थपे, ‘बालबालिकाको मृत्यु हुँदा पनि बीमा अवधि बाँकी नै हुन्छ । त्यसैले मृत्युपछिको अवधिमाभन्दा पनि  पोलिसि म्याचुअर्ड हुने अवधिमा नै बालबालिकाको पूर्ण रूपमा भुक्तानी हुन्छ ।’

कर्पोरेट नेपालले बालबीमा पोलिसिले पारेको अप्ठ्यारोबारे जीवन बीमा कम्पनीका सीईओहरूसँग जिज्ञासा राख्दा बाल बीमा पोलिसिमा अभिभावकको इच्छाअनुसार नै बच्चाको बीमा हुनुपर्ने, बीमांक भुक्तानी मृत्यपछि तुरून्तै र एकै पटकमा हुने व्यवस्था ल्याउनुपर्ने बताउँछन् । 

Advertisement

Advertisement