तेह्र अर्बको दाबी परेपछि आतिए बीमा कम्पनीहरू, बीमक संघले समितिमा ज्ञापन पत्र बुझायो

Advertisement

काठमाडौं ।कोरोना बीमाको एक लाख ३७ हजार सात सय ५४ वटा दाबी परेसँगै बीमा कम्पनीहरूले १३ अर्ब रूपियाँ भुक्तानी गर्नुपर्ने भएको छ । उक्त दाबी रकम क्षमताभन्दा बढि भएको भन्दै बीमा कम्पनीहरूले २०७८ साउन १४ गतेबाट कोरोना बीमाको दाबी भुक्तानी गर्न असमर्थ रहेको बताएका छन् । 

कम्पनीहरूले आफ्नो भागमा पर्ने जति दायित्व व्यहोरिसकेको र अब बाँकी रहेको दायित्व सरकारको हातमा रहेको तर्क गरेका छन् । बीमा कम्पनीहरूले एक अर्ब, नेपाल पुनर्बीमा कम्पनीले एक अर्ब रूपियाँ, बीमा कम्पनीहरूको महाविपत्ति जगेडा कोषबाट ५० करोड रूपियाँ र बीमा समितिको दायित्वमा पर्नेगरी एक अर्ब रूपियाँ गरी कुल तीन अर्ब ५० करोड रूपियाँ भुक्तानी गर्ने व्यवस्था गरिएको थियो । साथै, बाँकी रहेको सबै रकम सरकारले व्यहोर्ने निर्णय भएको थियो ।

Advertisement

अहिले ठूलो संख्यामा दाबी परेको र सरकारबाट आवश्यक पैसा प्राप्त नभएकाले समस्या सिर्जना भएको बीमा कम्पनीहरूको गुनासो छ । गत साता कम्पनीहरूले कोरोना बीमाको दावी अब भुक्तानी गर्न असमर्थ भयौं भन्दै बीमा समितिमा बुझाएको ज्ञापन पत्रमा २० वटै निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूले हस्ताक्षर गरेका छन् ।

अन्तर्राष्ट्रिय बीमा बजारमा महामारीको बीमा हुँदैन् । तर नेपालमा भने परीक्षणको रुपमा कोरोना बीमा योजना ल्याइए पनि महामारीले ठूलो रुप लिएसँगै कम्पनीहरू समस्यामा परेका थिए । समयमा भुक्तानी सल्टाउन नसक्दा यसले बीमा बजारमा नकारात्मक प्रभाव पारेकोे छ ।

Advertisement

Advertisement