महिला उद्यमी बढे, उद्योग थपिँदा बढ्यो रोजगारी

Advertisement

चितवन/परासी । घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भएका उद्योगमा महिला उद्यमीको सङ्ख्या पुरुषको तुलनामा बढेका छन् । गत आर्थिक वर्षमा दर्ता भएका उद्योगमा महिला उद्यमीको सङ्ख्या एक हजार ४६९ छ । पुरुषको सङ्ख्या एक हजार १५२ छ ।

गत आर्थिक वर्षमा दुई हजार ३९२ नयाँ उद्योग दर्ता भएका छन् । साझेदारीसमेत हुने भएकाले उद्योगको तुलनामा उद्यमीको सङ्ख्या धेरै हुने गर्दछ । कार्यालयका लेखा अधिकृत नारायण लम्सालका अनुसार थपिएका उद्योगमा महिला र पुरुष गरी सात हजार ६५७ जनाले रोजगारी पाएका छन् । पुरुषको तुलनामा महिलालाई सरकारी निकाय तथा वित्तीय संस्थाबाट थप सहुलियत उपलब्ध हुने भएकाले महिला उद्यमीको सङ्ख्या पुरुषको तुलनामा बढी भएको उनको भनाइ छ ।

Advertisement

कार्यालयका प्रमुख यादवनाथ आचार्यले पहिले उद्योग दर्तामा महिलालाई ५० प्रतिशत छुट हुने भए पनि हाल यो नरहेको बताए । उनले भने, “सङ्घीय सरकार र पालिकाले महिलाका उद्योगलाई प्राथमिकता दिने भएसँगै उद्यमी बढेका हुन् ।”  

उद्योग सङ्घ चितवनका अध्यक्ष राजु पौडेलले उद्योग दर्ता सहुलियत ऋण र अनुदानका लागि धेरै दर्ता भएको बताउनुभयो । महिलाका नाममा दर्ता गरिएका २० प्रतिशत उद्योग पनि सञ्चालन नभएको जनाउँदै उनले अनुदानका लागि धेरै उद्योग दर्ता भएका बताए । उनले भने, “राष्ट्र बैंकको कडाइपछि बैंकलाई लक्ष्य हाँसिल गर्नु छ, व्यक्तिलाई सस्तो ब्याजमा पैसा चाहिएको छ ।” उद्योग दर्ता गरेर लिइएको अनुदान सम्बन्धित क्षेत्रमा लगानी गर्न सुझाव दिए ।  

कार्यालयमा हाल रु पाँच लाखदेखि रु पाँच करोड पूँजी भएका उद्योग दर्ता हुँदै आएका छन् । रु पाँच लाखभन्दा तल पूँजी भएका उद्योग स्थानीय तहमा दर्ता हुने गर्दछन् । जिल्लामा उद्योग दर्ता हुनेक्रम बढ्दो छ । कालिका नगरपालिकामा औद्योगिक क्षेत्रसमेत बनाइँदै छ ।

उद्योग थपिँदै रोजगारी बढ्दै
यता, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लामा एक वर्षका अवधिमा दुई हजार १०० बढी घरेलु तथा साना उद्योग थपिएका छन् । नयाँ थपिएका उद्योगबाट नौ हजार बढीले रोजगारी पनि पाएका छन् । गत आव २०७७/७८ मा दुई हजार १६७ घरेलु तथा साना उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख नेत्रप्रसाद भुसालले जानकारी दिनुभयो । यो अघिल्लो आवका तुलनामा दोब्बरले वृद्धि हो । 

अघिल्लो आव २०७६/७७ मा जिल्लामा एक हजार १२१ उद्योग दर्ता भएका थिए । गत वर्ष नयाँ थपिएकामा सबैभन्दा धेरै कृषि तथा वनजन्य उद्योग छन् । कार्यालयका अनुसार गत आव २०७७/७८ मा एक हजार ५५७ कृषि तथा वनजन्य उद्योग दर्ता भएका छन् भने ४७० सेवामूलक तथा १४० उत्पादनमूलक उद्योग थपिएका छन् । 

लुम्बिनी प्रदेश सरकारले कोरोना महामारीका कारण बेरोजगार भएकालाई स्वदेशमै स्वरोजगारको वातावरण बनाउने उद्देश्यले उद्योग दर्ता निःशुल्क गरेकाले उद्योग दर्तामा वृद्धि भएको कार्यालयले जनाएको छ । यसैगरी महिलालाई पनि उद्यमतर्फ प्रोत्साहन तथा सहुलियतका कार्यक्रम ल्याइएकाले पनि महिला उद्यमीको सङ्ख्या बढ्दो रहेको कार्यालय प्रमुख भुसाल बताए ।  

गत वर्ष थपिएका उद्योगमा मात्रै एक हजार ३०३ पुरुष र एक हजार ९३ महिला गरी दुई हजार ३९६ जना उद्यमी छन् । थपिएका उद्योगमा मात्रै रु पाँच अरब छ करोड छ हजार लगानी रहेको कार्यालयले जनाएको छ ।

उनका अनुसार नयाँ उद्योगबाट नौ हजार १३२ जनाले रोजगारी पाएका छन् । कृषि तथा वनजन्य उद्योगतर्फ तीन हजार ५१५ पुरुष र दुई हजार ७०६ महिला गरी छ हजार २२१ जनाले रोजगारी पाएका छन् ।

कार्यालय प्रमुख भुसालका अनुसार सेवामूलक उद्योगतर्फ दुई हजार ८४ ले रोजगारी पाएका छन् । यसमा एक हजार ३६२ पुरुष र ७२२ महिला छन् । नयाँ थपिएका उत्पादनमूलक उद्योगतर्फ ५७२ पुरुष र २५५ महिला गरी ८२७ ले रोजगारी पाएका छन् । जिल्ला कृषिका लागि उर्वर मानिन्छ । यहाँका अधिकांश युवा र महिला उद्यमतर्फ आकर्षित भएको कार्यालयले जनाएको छ । रासस  

Advertisement

Advertisement