८९ प्रतिशत स्थानीय निकायमा इन्टरनेट पुग्यो, देशैभर ब्रोडब्याण्ड पुर्याउन साढे १५ अर्ब खर्चदै

Advertisement

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए) ले प्रकाशन गरेको पछिल्लो सूचनाअनुसार ग्रामिण दूरसञ्चार विकास कोष परिचालन गरी सञ्चालित परियोजनाहरूको ८९ प्रतिशत काम सम्पन्न भएको छ । सो मध्ये स्थानीय निकायको कार्यालयमा ९४.४४ प्रतिशत, वडा कार्यालयमा ८८.७२, माध्यमिक विद्यालयमा ८८.८० र स्वास्थ्य संस्थाहरूमा ८८.५७ प्रतिशतले काम सम्पन्न भएको हो ।

नेपाल दूरसञ्चार प्राधिकरणले देशैभर ब्रोडब्याण्ड इन्टरनेट सेवा विस्तार गर्न साढे १५ अर्ब रुपियाँ खर्च गर्दै छ । यस्तो रकम मध्ये ब्रोडब्याण्ड परियोजनाका लागि पाँच अर्ब ६७ करोड र सूचना महामार्ग परियोजनाका लागि नौ अर्ब ८९ करोड रुपियाँ प्राधिकरणले खर्चदै छ । 

Advertisement

एनटीएका उपनिर्देशक सूर्य लामिछानेले कर्पोरेट नेपालसँग भने,‘कोरोना महामारीको समयमा पनि हामीले आफ्नो काम रोकेको छैन । अत्यावश्यक सेवामा परेकाले सरकारी निकायबाट पनि हामीलाई सहयोग प्राप्त हुँदै आएको छ । यसरी नै हामीले लक्ष्यअनुसार काम गर्दै जानेछौं ।’

२०७८ साल असार समान्तसम्मको प्रगति विवरणमा ग्रामिण दूरसञ्चार विकास कोष परिचालन गरी ब्रोडव्याण्ड सेवा उपलब्ध गराउने १८ वटा प्याकेज रहेका छन् । उक्त प्याकेजमध्ये १५ वटामार्फत ६० जिल्लाहरूमा तोकिएअनुसार शत प्रतिशत सेवा पुर्याउन सफल भएको एनटीएको दाबी छ । त्यस्तै,  दुईवटा प्याकेजमार्फत १० जिल्लामा तोकिएको स्थानहरूमा ५० प्रतिशतभन्दा बढी कार्य सम्पन्न भई सेवा सञ्चालनमा आएका छन् ।

जडान सम्पन्न भएका परियोजनाहरू मध्ये हालसम्म ६ वटा परियोजनाको निरीक्षण (मोनिटरिङ) तथा (भेरिफिकेसन) प्रमाणीकरणको कार्य सक्किएको छ । त्यस्तै, दुई वटा परियोजनाको प्राधिकरणबाट नियुक्त परामर्शदाताहरूबाट पहिलो चरण (फेज वान) अन्तर्गतको निरीक्षण तथा प्रमाणीकरणको कार्य भईरहेको छ । त्यस्तै, अन्य दुई वटा परियोजनाहरूको भने दोस्रो चरण (फेज टु) अन्तर्गतको निरीक्षण तथा प्रमाणीकरणको कार्य भइरहेको एनटीएले जानकारी दिएको छ ।

यस्तो छ प्रगति विवरण

सम्झौता भएका प्याकेजका साइट संख्या १८ वटा छन् । उक्त प्याकेजमा १५ हजार ९ सय ८२ ब्रोडव्याण्ड परियोजना रहेका छन् । स्थानीय निकायको कार्यालयमा सात सय दुई, वडा कार्यालयमा पाँच हजार नौ सय ३३, माध्यमिक विद्यालयमा पाँच हजार दुई सय २५ तथा स्वास्थ्य संस्थाको संख्या चार हजार एक सय २२ रहेको छ ।

उक्त कूल संख्या मध्ये १४ हजार दुई सय १८ इन्टरनेटको जडान सम्पन्न भइसकेको छ । स्थानीय निकायको कार्यालयमा ६६३, वडा कार्यालयमा पाँच हजार दुई सय ६४, माध्यमिक विद्यालयमा चार हजार ६ सय ४० तथा स्वास्थ्य संस्थामा तीन हजार ६ सय ५१ स्थामा इन्टरनेट जडान भएको छ ।

जडान गर्न बाँकी 

त्यस्तै, ब्रोडव्याण्ड परियोजना अन्तर्गत एक हजार सात सय ६४ स्थानमा इन्टरनेट जडान गर्न बाँकी रहेको एनटीएले जानकारी दिएको छ । स्थानीय निकायको कार्यालयमा ३९, वडा कार्यालयमा ६ सय ६९, माध्यमिक विद्यालयमा पाँच सय ८५ स्थानमा ब्रोड व्याण्ड सेवा बिस्तार जडान गर्न बाँकी छ । यस्तो छ २०७८ असार मसान्तसम्मको ब्रोडव्याण्ड इन्टरेटको प्रगति विवरण ।  

Advertisement

Advertisement