‘कृषि भूमि चार करोड टुक्रा भइसक्यो, कसरी कृषिको विकास हुन्छ ? व्यक्तिगत स्वामित्व अन्त्य गरौं’

Advertisement

काठमाडौं । नेकपा एमालेका नेता वामदेव गौतमले कृषि भूमि जोगाउन सरकारले सबै कृषियोग्य भूमि खरीद गर्नुपर्ने तर्क अघि सारेका छन् । राष्ट्रियसभामा आइतबार बोल्दै उनले जबसम्म सरकारले यस्तो सबै भूमि लिएर लिजमा व्यवसायिक ढंगले कृषि उत्पादन गर्न दिँदैन् तबसम्म नेपालको कृषि क्षेत्रको विकास नहुने बताए । 

भूमिहीन सुकुम्बासीलाई भूमि दिनु नै समस्या समाधान होइन भन्दै गौतमले यस्तो गर्दै जाने हो भने नेपालको कृषि क्षेत्रको कहिल्यै विकास नहुने बताए । उनले जबसम्म भूमिमाथि व्यक्तिगत स्वामित्व कायम हुन्छ, सुकुम्बासी बन्ने प्रक्रिया त्यहींबाट सुरु हुन्छ भने । 

Advertisement

गौतमले अहिले नेपालमा कृषि भूमि २६ लाख हेक्टर रहेको तर यो चार करोड टुक्रा भइसकेको भन्दै यति धेरै टुक्रामा कसरी तपाईं कृषि उत्पादन गर्नुहुन्छ ? भनी प्रश्न गरे । उनले नेपालको जति पनि भूमि छ, एक टुक्रा पनि जमिन्दारी छैन भन्दै उनले सबैले परिश्रम गरेर कमाएका कारण सरकारले चलनचल्तीको मूल्यमा खरीद गर्ने र त्यसलाई लिजमा दिनुपर्ने बताए । यसरी खरीद गरेको जमिन कहाँ कसरी उपयोग गर्ने ? भन्ने कुरामा नजाँदासम्म न जमिनको सदुपयोग गर्न सक्छौं, न भूमिहीन तथा सुकुम्वासी जन्माउने प्रक्रिया पनि बन्द गर्न सक्दैनौं भने । 

नेता गौतमले दर्जन बढि भूमिसुधार आयोग गठन भइसकेको र यस्तो आयोग बनाउँदैमा सुकुम्बासी समस्या समाधान हुँदैन भन्ने सिद्ध भइसक्यो भन्दै अहिलेको आयोगले तराईमा चार लाख हेक्टर जमिन वितरण गर्ने योजना बनाएको तर यो जमिन कहाँबाट आउँछ ? भनी प्रश्न गरे । 

पछाडि परेका वर्गलाई आवास र रोजगारी दिन सकिए जमिन बाँड्नुनपर्ने गौतमको भनाई छ । संविधानले पनि सोही कुरा औंल्याएको उनको भनाई छ । गौतमले जसरी पनि जमिन वितरण गर्ने कुरा गर्नु व्यवहारिक नभएको बताए । उनले भने, ‘भूमि सुधार र सुकुम्वासी समस्या समाधान गर्छु भनेर बनेका आयोगले किन समस्या समाधान गर्न सकेन ?’ 

Advertisement

Advertisement